कृषिमा भविष्य खोज्दै ताराखोला

बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानका लागि भ्याइनभ्याई छ । बारीमा लगाएको आलु उकेरेर कोदो बाली लगाउनका लागि किसान दिनभर बारीमा भेटिन्छन् । बागलुङको तारराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ ।

‘आलु मिठो तारा खोलाको’ ताराखोलाकै स्थानीय गायिका खिमा रोका मगर र गलकोटे सर्जक वसन्त थापाले गाएको लोकगीतको थेगोले भनेको जस्तै ताराखोलाको आलु स्वादिलो हुने भएकाले यहाँका किसानले आलुको उत्पादन व्यावसायिकरूपमा नै गर्ने गरेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण र किसानलाई व्यावसायिक बनाउनका लागि ताराखोला गाउँपालिकाले योजना नै बनाएर लागेको छ । ताराखोला गाउँपालिकाले व्यावसायिक कृषिको उत्पादन बढाउने, बजारीकरण गर्ने र किसानलाई धनी बनाउने अभियानमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरेको छ । जसका कारण किसान थप उत्साहित भएका छन् ।

 

चालु वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको योजनासमेतमा उक्त लगानी र अनुदानको व्यवस्थापन गरेको हो । उक्त अभियानअनुसार व्यावसायिक आलुको उत्पादन गर्ने किसानका लागि अनुदान दिएको छ । चालु वर्ष छ हजार ३०० ओखरको बोट रोपेको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएपछि करिमेला र लावाङमा ती बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

कृषिलाई व्यावसायिक बनाएर घरघरै उद्यमी बनाउने अभियान सफल पार्न ती बिरुवा वितरण गरेर उत्पादनका लागि हौसलासमेत दिएको अध्यक्ष घर्तीले बताउनुभयो । अभियान सफल पार्न अनुदानमै अलैँची खेती विस्तार, प्लाष्टिक टनेल वितरण, बाख्रा फार्म सञ्चालन र पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

 

ताराखोलाकै पधेराखोला र नाङीमा किवी पकेट क्षेत्र विस्तार गरिएको छ । आलु उत्पादन यहाँको नियमित र मुख्य बाली हो । ती सबै कृषि फसलको बजारीकरणका लागि सङ्कलन केन्द्र स्थापना, भातखाने डाँडा, करिमेला र अर्गलमा भण्डारण केन्द्र निर्माणको काम थालिएको घर्तीले बताउनुभयो । ती केन्द्रमा गरिने भण्डारणका कारण किसानले समयअनुकूल उत्पादनको बिक्री गर्ने, बजार पठाउने र नाफा आर्जन गर्न सक्ने स्थानीयवासीले बताए । “सङ्कलन केन्द्र बनेपछि तत्काल बिक्री नहुने कृषिवस्तु बजार भाउ पाउँदा बेच्न पाइन्छ” स्थानीय नीता रोकाले भन्नुभयो, “आलुको भने घरघरमै भण्डारण गरिएको छ ।” अघिल्लो वर्षको तुलनामा आलु उत्पादनसमेत बढिरहेको उहाँले बताउनुभयो । “अहिले राम्रो सिजन चलेको छ भनौँ”, उहाँले भन्नुभयो, “यहाँ फलेको आलु बजारबाट आएका व्यवसायीले आफ्नै गाडीमा राखेर लैजाने गर्नुभएको छ ।”

गाउँपालिकाले भने ५०० रोपनी जमिन खरिद गरेर सूचीकृत किसानमार्फत मल र प्रविधि दिएर थरिथरि उत्पादनको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अध्यक्ष घर्तीले सुनाउनुभयो । उक्त योजनामा एक गाउँ एक उत्पादनका उद्यमीसमेतलाई समावेश गरिने उहाँले बताउनुभयो । भाडा र खरिदमार्फत गाउँपालिकाको स्वामित्वमा लिएको जमिनमा आलु र फापर खेती गरिने योजना छ । उक्त योजनामा सामूहिक काम गर्ने, तालिम गर्ने र प्रविधिको उपयोगबारे सबैले जान्न पाउने व्यवस्था गरिनेछ ।

गाउँपालिकाले उपयुक्त स्थानको खोजी गरिरहेको उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । सामूहिक काम गरेपछि आउने उत्पादन र आम्दानीबाट कामदारलाई तलब दिने, कृषि कोष बनाउने र नयाँ किसान प्रवद्र्धनको योजनासमेत बनाइएको हो । नेपाल सरकारको आलु जोनसँगै तोकिएको स्थानमा पकेट क्षेत्र पनि सञ्चालन गर्न छलफल अगाडि बढिसकेको हो । तत्कालका लागि गाउँपालिकाले नागबेली खोला छेउमा यो जमिनको खोजी गरेको घर्तीले बताउनुभयो ।

आजलाई मात्र होइन भोलिको दिगो विकासको लक्ष्यलाई आधार बनाएर ‘कृषि, वन, खनिज, उद्यमशीलताको लागि सवल पूर्वाधार, समृद्धि र समन्यायिक ताराखोला विकासको मूल आधार’ भन्ने दीर्घकालीन सोचलाई गाउँपालिकाले अघि सारेको छ । ताराखोलाले प्राकृतिक स्रोत तथा सम्पदाको व्यवस्थित उपयोग, मानवीय जनशक्तिको समुचित परिचालन र विद्यमान अवस्थामा समय अनुकूल प्रविधिको विकास गरेर कृषिमा व्यवसायीकरण गर्ने भनेको छ । ताराखोला गाउँपालिका प्रदेश राजधानी पोखरादेखि करिब १३६ किलोमिटर जिल्ला सदरमुकामदेखि ४५ किलोमिटर दूरीमा पर्छ । यहाँ उत्पादन भएका कृषि उपजहरूको बजारीकरणका लागि किसानका खेतबारीसम्म नै सडकको पहुँच विस्तारको योजना गाउँपालिकाले बनाएको अध्यक्ष घर्ती बताउनुहुन्छ । “हाम्रोमा विदेश जानेहरू धेरैछन्, त्यसपछिको मुख्य पेशा कृषि नै हो, यहाँका किसान आफ्नो कर्ममा निकै विश्वास र भरोसा गर्छन”, अर्गलका स्थानीय महेन्द्र घर्तीले भन्नुभयो, “माटो सुहाउँदो बाली र बाली सुहाउँदो व्यवसाय हाम्रो आवश्यकता हो ।”

खाद्यान्न बाली मकै, कोदो, जौँ, गहुँ, फापर, धान आदि छन् भने आलु, मुला, लसुन, प्याज, केराउ, भटमास, भाँगो, अलैँची, किबीजस्ता नगदे बाली पनि व्यावसायिकरूपमा उत्पादन गर्ने कार्यको शुरुआत गाउँपालिकाले गरेको हो । चालु आवमा ताराखोलाका पाँच वडामा आलु ७१२ मेट्रिक टन, अलैँची तीन मेट्रिक टन, भाँगो १६४ मेट्रिक टन, किबी २.५ मेट्रिक टन, ओखर १७० केजी उत्पादन भएको छ भने बाख्राफार्म १३, भेडाफार्म चार, बङ्गुर फार्म पाँच, भैँसीफार्म छ, कुखुरा फार्म सात, तरकारी टनेल ८१ वटा सञ्चालनमा रहेका छन् ।

गाउँपालिकाले कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिरहेको छ । “उत्पादन मात्रै ठूलो कुरा भएन्, उत्पादनसँग आयआर्जन जोड्ने प्रयासमा छौँ”, उपाध्यक्ष पुन भन्नुहुन्छ, “निर्माणाधीन कृषि उपज केन्द्र सञ्चालनमा आउँदा कृषि उपजको बजारीकरण सहज हुनेछ ।”

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन गर्ने, फलफूलका बिरूवा रोपण कार्यक्रम सञ्चालन गर्ने, बाख्राको उत्पादन बढाउन पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना कृषि तथा व्यावसायिक फार्म स्थापना गर्ने योजना गाउँपालिकाको छ । “श्रमको संस्कृति हाम्रोमा हराइसकेको छैन, आफ्ना लागि मात्रै होइन, व्यावसायिक हिसाबले श्रम गरौँ भन्ने मान्यताको विकास गर्दैछौँ”, गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो । ताराखोला खनिज र खानीका हिसाबले समेत उर्वर भूभाग हो । लघुउद्यम विकासमा ताराखोलाले निकै ठूलो फड्को मारेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा बताउनुहुन्छ ।

स्लेट ढुङ्गा तथा अन्य खानीजन्य उद्योगको प्रवद्र्धन गर्ने, पर्यटन प्रवद्र्धनमार्फत स्थानीय उत्पादनको खपत खर्ने योजना गाउँपालिकाले बनाएको छ । मासु तथा दूध मिशन कार्यक्रम गाउँपालिकाले सञ्चालनमा ल्याएको छ । ताराखोलामा जन्मिएका पाडापाडी तत्काल बिक्री गर्न पाइँदैन । “दूध र मासुमा आत्मानिर्भर हुनका लागि पाडापाडी हुर्किनै पर्छ”, अध्यक्ष घर्तीले भन्नुभयो, “आम्दानी बढाउनकै लागि पाडा, बाख्रा, बङ्गुर तथा कुखुरा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।” गाउँपालिका आफँै उत्पादनसँग आवद्ध भई प्रयोगमा नआएको खेतीयोग्य जग्गा भाडामा लिई स्थानीय बाली आलु, फापर, कोदो, जौँ, मकै उत्पादन गर्ने नीति बनाएको छ । निश्चित क्षेत्रमा बाली उत्पादन गर्न ‘ताराखोला जैविक बगैँचाः युवालाई रोजगारी उत्पादन थरिथरि’ कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जनासमेत गरेको छ । “रेमिटान्सले कति दिन पुग्छ र आफ्नै उत्पादन, आफ्नै उपभोगमा बढी जोड दिनुपर्छ”, घर्तीले भन्नुभयो । आपत्कालीन अवस्थामा समेत गाउँपालिकाले आफ्नै उत्पादनको प्रयोगलाई जोड दिने गरेको छ । गत वर्षको बन्दाबन्दीमा काम नपाएका कारण गुजारा चलाउन कठिन परिवारका लागि गाउँमै उत्पादित कोदो र मकै बाँडेको थियो ।

“हामीसँग गाउँमा फलेको कोदो, मकै प्रशस्तै छ, एक ठाउँमा खरिद गरेर अर्को ठाउँमा बाँडेका थियौँ”, घर्तीले भन्नुभयो, “बजारको चामल किनेर बाँडेको भए हाम्रो पैसा बाहिरन्थ्यो ।” गाउँपालिकाले आफ्नो उत्पादन खरिद गरिदिएपछि किसान हौसिएका थिए ।

हिउँदमा लगाएर वर्षाको समयमा उकेर्ने ताराखोलाको आलु बजारमा बढी चर्चित छ । उच्च पहाडी भूभागमा फलेको आलु स्वादिलो हुने भएकाले बजारमा माग राम्रो रहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउनुहुन्छ । “लामो समय माटोमुनि रहेको आलु चिसोले बिग्रिँदैन”, उहाँले भन्नुभयो, “कार्वोहाइडेड सङ्कलन शक्ति बढी हुने भएकाले चिसो ठाउँको आलु मिठो हुने हो ।”

बागलुङमा झण्डै पाँच हजार किसानले आलुको उत्पादन गर्छन् । तीमध्ये व्यावसायिकरूपमा आलुको उत्पादन गर्ने किसान ताराखोलामा छन् । ताराखोलाका किसानले फलाएको आलु बजारमा मूल्य राम्रो पाउने र खानाका लागि समेत स्वादिष्ट भएकाले त्यहाँका केही किसानले आलुकै भरमा घर गुजारा चलाएका छन् । आलुसँगै ताराखोलाको अर्को आम्दानी हुने बाली भाँगो हो ।

रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउमात्रै लगाउने भएकाले ताराखोलाको आलु धेरैले खोज्ने गरेको ताराखोला गाउँपालिका वडा नं ५ हिलेका किसान दमन रोकाको बुझाइ छ । “घरायसी मल र छापो गाँडेर आलु लगाइन्छ”, रोकाले भन्नुभयो, “स्थानीय जातकै बीउ लगाइन्छ, विकासी बीउको प्रयोग भएको छैन ।”