एक्लो महारथीः गाउँबेसीको अन्तर्ध्वनि

२०७८ असार २३, बुधबार ११:००

गाँउ धेरै गहन जीवनदर्शनको श्रोत हो । सहर, विशेष गरी ठूलाठूला प्राज्ञिक थलाहरूबाट आउने प्रशोधित ज्ञानको आफ्नो उपादेयता होला, तर गाउँमा जसरी जीवन बाँचिन्छ, र जुन मूल्यले जीवन सञ्चालित गर्छ, त्यो नैसर्गिक ज्ञानको आफ्नै विशिष्टता छ । त्यसैले, कवि वर्डस्वर्थले एक ठाउँ भनेका छन्— जङ्गलबाट आउने एउटै विचारप्रवाहले हामीलाई पण्डितहरूले सयौँ वर्षदेखि सिकाइरहेको भन्दा गहन ज्ञान दिन सक्तछ । प्रकृतिवादी चिन्तक रुसोले अनुधनिक विद्यालयका पर्खाल भत्काएर विद्यार्थीहरू खुला प्रकृतिमा विचरण गर्न छोडिदिनुपर्छ भन्नुका पछाडि यस्तै बुझाइले काम गरेको देखिन्छ ।

कवि महेश कार्की क्षितिजको पहिलो कवितासङ्ग्रह “एक्लो महारथी” यस्तै ग्रामीण सुवासबाट अनुप्राणित छ । ५२ वटा कविता समेटिएको यस सङ्ग्रहका अधिकांश कविताको पृष्ठभूमि ग्रामीण नेपाल हो । भोजपुरमा जन्मेहुर्केका कवि क्षितिजका कवितामा पूर्वी नेपालको पहाडी परिवेशका विम्ब, प्रतीक र मानविन्दुहरू आउनु स्वाभाविक पनि हो । भनिएकै छ, मान्छे जीवनका प्रारम्भिक दिनहरूमा जस्तो परिवेशमा हुर्कन्छ, उसको अवचेतनमा त्यसैको प्रभाव बढी हुन्छ । हुन पनि, आफूले युवावयमा अनुभव गरेका कुराको सम्पादित स्वरूप नै यस सङ्ग्रहमा कविता बनेर आएको हुनाले उनका कविताको व्योम गामबेसीको व्योम हो ।

हुन त कवि क्षितिज करिब डेढ दशकदेखि काठमाडौँमै बस्दै आएका छन्, तर काठमाडौँले उनका कवितामा त्यति धेरै प्रवेश पाएको छैन । जहाँ जहाँ काठमाडौँले प्रवेश पाएको छ, त्यहाँ राजधानीको कुरूप पक्ष देखाइएको छ, जसले यी प्रतिक्रियात्मक कविता हुन् भन्ने बुझिन्छ । “अरूले नै पारेका अण्डा छोपेर / कोरलेका चल्लाहरूको जिजीविषामा / रुमानी प्वाँख हालिदिन्छ काठमाडौँ” भनेर टिप्पणी गरिएको “काठमाडौँ” शीर्षकको कविता होस् अथवा “म हजारौँ हजार बलिष्ठ सम्राटकी अङ्गशायिनी खुलामञ्च अर्थात घोडी” भनेर उद्घोष गरिएको “खुलामञ्च” शीर्षकको कविता होस्, काठमाडौँप्रतिको कविको बोध प्रतिक्रियात्मक छ, र नकारात्मक छ । त्यसो त “नाङलो पसल” शीर्षकको कविताले पनि काठमाडौँको एउटा वीभत्स चित्र प्रस्तुत गरेको छ । यदाकदा सिंहदरवारले पनि प्रवेश पाएको छ उनका कवितामा, तर दमन र भ्रष्टाचारको प्रतीक अलङ्कारको रूपमा । यसबाट प्रस्ट छ, दशकौँदेखि यहीँको पानी खाएर पनि कवि महेश कार्कीको अवचेतनले काठमाडौँको गति, यति र लयलाई एक सकारात्मक प्रभावको रूपमा स्वीकार गर्न बाँकी छ । यसको प्रमुख मनोवैज्ञानिक कारण हो उनको गाम्बेसीको हुकाइ, जसले उनको सङ्ग्रह छपक्कै भिजेको छ । त्यसैले, उनको कवित्व, उनका कविताको ग्रम्यध्वनि र अप्रशोधित ग्रमीण चित्रणमै खोजिनु पर्दछ । यस तर्कका सबैभन्दा बलिया साक्ष्यको रूपमा “गाउँमै त छन् गीतहरू”, “हलीको मागल” “ढुङ्गा” तथा “पाठशाला” शीर्षकका कवितालाई लिन सकिन्छ ।

खेतीकिसानी गरेर खाने अर्धशिक्षित गाउँबासीहरूलाई पात्र बनाइएको हुनाले र उनको लवज र बोलीलाई कविताको मूल संवाद बनाइएको हुनाले, कवि क्षितिजका कवितामा पाण्डित्य छैैन । परिष्कारवादी प्रयोग र क्लिष्ट संवाद र सोच पनि छैन । जीवन र जगतका बारेमा कविलाई जे भन्नु छ, त्यसलाई उनले आफूले बोकिल्याएका ग्रामीण पात्रका संवादमार्फत् भनेका छन् । यसकै परिणाम हुनुपर्छ, उनका अधिकांश कवितामा कथा छ, र तिनै कथामा उभिएका पात्रहरूको जीवनदर्शन छ । सरल भाषा र अभिव्यक्तिको बाटो, गहन र स्वाभाविक जीवनबोध यी कविताको मूल परिलक्षण हो ।

विविध कविताहरूमा चित्रित पात्रहरूको वर्गलाई नियाल्दा लाग्छ, कवि क्षितिज केटाकेटी, बूढाबूढी, किसान, महिला र सबाल्टर्न पात्रहरूको न्यायको पक्षमा छन् । उनका कुनै पनि कवितमा कुनै सम्भ्रान्त, बलियो वा शिक्षित पात्र मूलपात्रको रूपमा उपस्थित छैन । छ कतै त खलपात्रको रूपमा आउने पात्र छ, कतै शासक वा सामन्त बनेर, त कतै बलात्कारी, दुराचारी वा अपराधी बनेर । केटाकेटीका अबोध प्रश्नहरूबाट उनी बढी संवेदित हुन्छन् । “क्रूर गुरु” शीर्षकको कवितामा एउटा सडक बालकको संवेदना समेटिएको छ, जसमा भोकले उसलाई फालिएको पाउरोटी टिपेर प्राण धान्न विवश तुल्याएको छ । “आफ्नै कथाको प्रतिध्वनि” मा एउटी अबोध बालिका आमालाई सोध्छिन्— भगवान्लाई पूजामा अचाइएको पानीले सतित्व जोगाउँछ? अथवा, फिर्ता हुन्छ बृन्दाको लुटिएको अस्तित्व? “स्वतन्त्रता” शीर्षकको कविता एउटी कलिली बालिका आफ्नै बाबालाई चुनौती दिन्छिन् — तपाईंले नङ्ग्याएर नचाउने गरेकी सुरेखालाई जस्तै मलाई पनि नङ्ग्याएर नचाउनुहोस् । “घर फर्केकी नातिनी” मा बाह्र वर्षकी अबोध नातिनी आफ्नै हजुरबालाई सोध्छे— “अब कुन खालको आशीर्वाद दिनुहुन्छ मलाई?” ऊ आफैँ, हजुरबाबाट बलात्कृत जो भएकी छे ।

वृद्धवृद्धाको सोच, आस र अवस्थाले कवि क्षितिजका कविताभरि आवाज पाएको छ । “खुसीको क्षेत्रफल” मा एकजना बूढा बाको चित्रण छ, जो न दुःखमा गल्छन्, न एकान्तमा आत्तिन्छन् । धैर्य र खुसीका पर्याय ती बूढाबालाई सहनशीलताको प्रतीकाको रूपमा उभ्याइएको छ । “फरक कथा” मा सबै सन्तन गुमाएकी एक बृद्धा, र सन्तानबाट तिरष्कृत एक वृद्धबीचको स्वाभाविक आकर्षण र प्रेमको सूक्ष्मआख्यान प्रस्तुत गरिएको छ । “बिधुर पुरुषको कथा” एकान्त र मृत्युबोधबाट झङ्कृत छ भने “वृद्धाश्रमको यात्रा” मा छोराछोरीबाट तिरष्कृत बृद्धा बाआमाको अन्त्यहीन पीडा दर्शाइएको छ । “पसिनाको हजार बुद्ध” मा कविले आफ्नै बाको चित्रण गरेका छन् र उनलाई श्रम र धैर्यका प्रतिमूर्तिको रूपमा चित्रित गरेका छन् ।

कवि क्षितिजको कविताको अर्को आयाम भनेको समय र प्रकृतिको प्रवहमा एक्लै छोडिएका, थिचिएका र अन्यायमा पारिएका पात्रको मनोदशाको चित्रण हो । “आतङ्ककारीको मृत्युवरण” मा एउटा भुइँमान्छेको चित्रण छ, जो न्याय माग्न सरकारसमक्ष जाँदा मारिएको छ । “सम्बोधित कण” र “अर्को एकलव्य” महाभारतमा, अन्यायमा पारिएका पात्रको आधुनिक आर्तनाद हो भने “फिरादपत्र” र “बागी ठगुन्नी” मा लैङ्गिक हिंसा र भेदवावका सिकार महिलाको कथा समेटिएको छ ।

कवि क्षितिजका कतिपय कविताले समाजका समता स्थापित गर्नका लागि आजको मान्छे अँगाल्नुपर्ने प्रगतिशील विचारलाई प्रश्रय लिएका छन् । “रेगिस्तान” शीर्षकको कवितामा, दुर्घटनामा परेर प्रजनन क्षमता गुमाएर घर फर्केको लोग्ने, आफ्नी श्रमतीलाई, मातृत्वको अनुभव गर्नका निम्ति अरूबाट, वा प्रविधिबाट गर्भाधान गर्ने अनुमति दिन्छ ।

यसरी, बालक, बृद्धबृद्धा, गाउँले र सीमान्तकृतहरूलाई माध्यम बनाएर “एक्लो महारथी” ले कविताको भाषामा सामाजिक र मानवीय न्यायको वकालत गरेको छ । क्षिजितका कविता जीवनवादी, प्रकृतिवादी र विकासवादी हुन् । मिथक, इतिहास र ग्रामीण जीवनको टेकोमा उभिएका यी कविताको मूल स्वभाव रुमानी कविताको हो, र सबै कथामो गीतको झन्को पाइन्छ ।
तर, क्षितिजको कवितासन्धानका केही सीमा छन् । उनका कतिपय कविता प्रतिक्रियात्तम बढी र वैचारिक कम छन् । लाग्छ, उनले आफ्नै जीवनका पछिल्ला अनुभव र बोधहरूलाई नेपथ्यमा धेकेलेर पुराना अनुभवलाई अग्रभागमा ल्याएका छन् । कतिपय कवितामा कथावाचन हावी भएको छ, र सूक्ति वा बलियो बौद्धिक तर्कतर्फ अपेक्षाकृत कम छन् । कतिपय कवितामा बालपात्र र तिनका कुराको गाम्भीर्यबीच तालमेल बस्न सकेको छैन । लामा कवितामा शब्दको थप मितव्ययिता अपनाउनु वाञ्छनीय देखिन्छ, ताकि कविता कथावाचनबाट सूक्तिमयतातिर उक्लियोस् । एक समालोचक र गम्भीर अध्येताको रूपमा कवि क्षितिजले जुन छवि बनाएका छन्, यसलाई मध्यनजर गरेर हेर्दा उनका कवितामा कथ्यको रेन्ज अझै व्यापक हुन सक्थ्यो ।

एक्लो महारथी, कवितासङ्ग्रह
प्रकाशकः शिखा बुक्स
पृष्ठः ९१
मूल्यः २५०

175 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal