इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जाल

२०७८ असार २२, मंगलवार १४:५८

एड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्र्रा डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा संज्ञानात्मक पक्ष’ विषयक अन्तर सञ्जाल सम्मेलन आयोजना गरेको छ ।

 

नेपालका लागि इजरायली राजदूत हनान गोडरले ‘अन्दाजी र पूर्वाग्रह’ विषयक सम्मेलन विभिन्न अनिश्चित घटनाबाट सुरक्षित रहन तथा प्रत्येक व्यक्तिका दैनिक अभ्यासमा आधारित त्रुटीहरूको समाधानमा उपयोगी भएको बताउनुभयो ।

 

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले यस किसिमका सूचनामूलक कार्यक्रमले विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाईसमेत लाभान्वित गराउने बताउनुभयो । नेपालमा कृषि केन्द्र स्थापनालगायतका विभिन्न विषयमा इजरायल र नेपालले सफलतापूर्वक सम्झौता–पत्रमा हस्ताक्षर हुँदा गौरवबोध भएको जनाउनुभयो ।

प्रा डा ओरीले संज्ञानात्मक पूर्वाग्रहमाथि विजय हासिल गर्ने पहिलो कदम नै आफूसँग त्यो कुरा भएको स्वीकार गर्नु हो भन्ने कुरामा जोड दिनुभयो । डा ओरीका अनुसार कहिलेकाहीँ अति अत्याधुनिक र परिष्कृत चिन्तक पनि आफ्नै संज्ञानात्मक पूर्वाग्रहको सिकार हुने भएकाले प्रत्येक व्यक्ति यस विषयमा सावधान हुनुपर्ने बताउनुभयो ।

प्रा डा ओरीले डेनियल कान्हेमान र एमोस नाथन टिभर्सकीलगायतका विज्ञहरूको निर्णय निर्माण प्रक्रियामा मानव व्यवहारको विरोधाभास र विवादास्पदता झल्काइएको भिडियो सामग्री पनि प्रस्तुत गर्नुभएको थियो । डानियल कान्हेमान अर्थ–विज्ञानमा नोबेल मेमोरियल पुरस्कारबाट सन् २००२ मा विभूषितसमेत भएका थिए ।

एड्भान्स्ड कलेज अफ इञ्जिनीयरिङका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले नेपाल र इजरायलबीच प्रगाढ हुँदै गइरहेको मित्रताप्रति प्रसन्नता व्यक्त गर्दै प्रा डा ओरीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभयो । कलेजका प्रिन्सिपल इञ्जिनीयर लोचनलाल अमात्यले ओरीद्वारा प्रस्तुत सत्रको प्रशंसनीय टिप्पणी गर्दै इञ्जिनीयरिङ क्षेत्रमा संज्ञानात्मक पूर्वाग्रहका बारेमा आफ्ना सिकाइसम्बन्धी अनुभव आदान प्रदानलाई निरन्तरता दिइने बताउनुभयो ।

111 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal