बगर बगैँचा भएपछि खुसी छन् किसान

8

सञ्जीतकुमार मण्डल, जलेश्वर, २२ असार (रासस) :

चार दशकअघि रातो खोलामा आएको भीषण बाढीले खेतीयोग्य जमीन बगाएर बगर बनाइदिएपछि दुःखमा परेका महोत्तरीको भङ्गहा नगरपालिकाका किसान अहिले भने निकै खुसी छन् । हिजो खोलाले बगर बनाएको खेत अहिले बगैँचा बनेपछि यहाँका किसानमा खुसीयाली छाएको हो । हिजोको बलौटे त्यही बगरमा आज फल र तरकारीका बतिला फक्रिँदै गएपछि उनीहरुका ओठको मुस्कान पनि खुल्दै गएको छ ।

 

परिवार पाल्नकै लागि भारतीय शहरहरु धाउनुपर्ने बाध्यताका यहाँका किसानहरु अहिले घर फर्किएर यही बगैँचाबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय किसान उत्तिमलाल भुजेदार अहिले आफ्नै गाउँको खोला बगरमा पसिना बगाउनुहुन्छ । “परिवारसँग टाढा बसेर र मजदुरी गरेर दुई चार पैसा कमाउन पनि कठिन नै थियो, अहिले परिवारसँगै बसेर बगरमै आम्दानी गर्न थालेका छौँ, म निकै खुशी छु”, उत्तिमलाल भन्नुहुन्छ ।

 

ज्याला मजदुरीकै भरमा बालबालिकाको लालनपालन गरिरहेका स्थानीय किसान जयकिशोर चौधरीले पनि बगर खेतीमा लागेदेखि दुःखका दिन गएको महसुस गर्नुभएको छ । उहाँ अहिले आफूले सुखका दिन काटेको अनुभव सुनाउनुहुन्छ । “पहिले त हामीलाई मिठो खान र राम्रो लगाउन सपनाजस्तै हुन्थ्यो तर अहिले त्यस्तो छैन । बगर खेतीले हामीलाई आफ्ना आवश्यकता पूरा गर्न सजिलो भएको छ”, जयकिशोर भन्नुहुन्छ ।

स्थानीय सुमित्रा देवीले भने बगरमा फलेका फलफूल र तरकारी अहिले आफ्नो घरपरिवारलाई पुगेपछि आफन्त तथा साथीहरुलाई कोसेली बाँड्ने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिले किनेर खान निकै गाह्रो हुने गथ्र्यो तर अहिले आफूलाई पुगेर बाँकी रहन्छ । व्यापारीहरु घरमै आएर लान्छन्, बिक्री गर्न बजार पनि जानुपर्दैन । हामी त घरमै बसीबसी पैसा पनि पाएका छौँ र इष्टमित्र र आफन्तबाट धन्यवाद र प्रशंसा पनि पाएका छौँ ।”

पहिले आफ्नो धान फल्ने खेत बाढीले बगर बनाइदिएपछि कैयौँ वर्ष दुःख पाएकाले त्यो खुसी साट्नका लागि पनि आफन्त र साथीहरुलाई फलफूल र तरकारी बाँड्ने गरेको अनुभव सुमित्राले सुनाउनुभयो । यसबाट गरे के हुँदैन र भन्ने भएको उहाँले बताउनुभयो ।

स्थानीय किसान केशवनारायण सिंहको पनि दिनचर्या यस्तै मिल्दोजुल्दो रहेको छ । उहाँलाई कुनै बेला त फलफूल र तरकारी खान नै समस्या थियो । साथमा पैसा चाहिन्थ्यो, किनेरै खानुपथ्र्यो । आज आफूलाई मात्र होइन कि फलफूल र तरकारी अरुलाई दिन र बिक्री गरेर आफ्नो दैनिकी चलाउन पनि सम्भव भएको उहाँ बताउनुहुन्छ । “रातो खोलाले खेतबारी बगाएर बगर बनाइदिँदा के खाने, कसरी बाँच्ने र परिवार कसरी पाल्ने भन्ने पीडा थियो । रातदिन भोक र शोक थियो तर दिन बित्दै जाँदा बगरमै पैसा फल्न थालेको छ, हामी त खुसी छौँ”, उहाँले भन्नुभयो ।

महोत्तरीको भङ्गहा नगरपालिकास्थित रातु खोलाको २४२ बिघा बगर स्थानीय किसानहरुको पाँच वर्षको कठोर परिश्रमले ऊर्वर भूमि बनेको हो । उनीहरुकै शब्दमा अहिले खोलाको बगरमै सुन फल्न थालेको छ । यतिखेर यो बगरमा आँप लटरम्म फलेका छन् । लिची, कागतीको बोट लहलह हुर्किँदै छन् । त्यहाँ उब्जाइएका काउली, बन्दा, परबल, भन्टा, भिन्डी, फर्सी, लौका, काँक्रो, खुर्सानी जस्ता मौसमी फलफूल तथा सागसब्जी लटरम्म फलेका छन् । यिनै फलफूल र तरकारी बिक्री गरेर किसानहरुले प्रशस्तै आमदानी गरेका छन् । बगरमा पोखेको पाँच वर्षदेखिको पसिनाले फल दिन थालेपछि दङ्ग छन् किसान । अनि यही फलफूलको हरियालीमा घर परिवार तथा बालबालिका पनि रमाइरहेको देखिन्छ ।

बगरमा विभिन्न जातका फलफूलका २० हजार बिरुवा छन् । यस बगरको ६१ बिघा जमीनमा वृक्षरोपण गरेर किसानले खाली जमीनमा अन्न तथा तरकारी खेती गरिरहेका छन् । भङ्गहामा बगर खेतीले २४८ घरपरिवारको जीवन फेरिएको छ भने २५ दलित परिवारलाई ऐलानी जग्गा दिएर आँपको बोट र अन्य मौसमी खेती गर्न प्रोत्साहित गरिएको छ ।

चार दशकअघि रातो खोलाको भीषण बाढीले नगरपालिकाको पर्सा, सङ्ग्रामपुर, कविलासा तथा मेघनाथ गोरहन्ना गाउँको खेतीयोग्य जमीन कटान गरेर बगरमा परिणत गरिदिएको थियो । गाउँगाउँका सयौँ बिघा जग्गा बगर बनेपछि एकातर्फ किसानको उब्जनी हुने जमीनको नाश भयो भने अर्कातर्फ बगरको बालुवा हावाले उडाएर गाउँमा बस्न सक्ने अवस्था पनि भएन । यसरी बाढीले सुकुम्बासी बनेका किसानहरु परिवार पाल्नकै लागि भारत छिर्नुबाहेकको विकल्प रहेन ।

विसं २०६४ यता जनताको तटबन्ध कार्यक्रमले रातो नदीका तीन भँगालालाई बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि बगरको संरक्षण भएको हो । अहिले उराठलाग्दो बगरमा किसानहरुले आफ्ना पसिना चुहाएर फलफूल र तरकारी खेती गरेर जीवन चलाउनुका साथै लाखौँ कमाउन पाएका छन् । अहिले गाउँलेहरुले त्यही बगरलाई संरक्षित क्षेत्र घोषणा गरेका छन् । यस क्षेत्रमा चरिचरन निषेध छ । यस क्षेत्रमा गाईवस्तु पसे रु एक हजार १०० जरिवाना लाग्छ । सिँचाइका लागि पानी तान्न पम्पसेट खरिद गरेर सिँचाइको प्रबन्ध मिलाइएको छ ।

स्थानीय किसानहरुलाई सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरीले सहयोग गरेको छ । मञ्चको पहलमा रातो खोला फलफूल रोपन, चारपिपरा माई फलफूल तथा वृक्षरोपण र सुखदाता माई रातुखोला फलफूल तथा आयआर्जन समूह गठन गरेर किसानहरुले सो बगरलाई हराभरा बनाएका छन् । बञ्जर बगरमा बगैँचा फस्टाएपछि किसानहरुका साथै ती गाउँले पनि हर्षित भएका छन् । आय आर्जनको मुख्य थलो बनिसकेको त्यस क्षेत्रका किसानहरुले बगैँचाको प्लटमा सडक विस्तार गर्नुपर्ने खाँचो रहेको बताउँदै नगरपालिका र सम्बन्धित निकायलाई बगरसम्मै सुविधा सम्पन्न बाटो बनाइदिन माग गरेका छन् ।

दुई सय ४२ बिघा बगरमा लोभलाग्दा फलफूल र तरकारी खेती गरेर यहाँका किसानले दाम र नाम दुवै कमाउन सफल भएका छन् । उनीहरुको यो सफल व्यवसायको उदाहरण दिँदै सफलताका कथाहरु लेख्नेहरु पनि त्यहाँ पुगेका छन् भने अन्य क्षेत्रका किसानहरु उनीहरुको यो सफलताबाट सिक्न त्यहाँ आएका छन् । यसैले यस जिल्लामा पनि केही महिना यतादेखि पर्सा, सङ्ग्रामपुर, कविलासा र मेघनाथ गोरहन्नाका ती २४८ घर परिवारको परिश्रमको चर्चा हुने गरेको छ ।

अहिले छिमेकी नगरपालिकाहरु बर्दिबास, औरही, लोहारपट्टी, बलवा र रातो नदी किनारका अन्य नगरपालिका र गाउँपालिकाका किसानहरु पनि आ–आफ्ना क्षेत्रमा पर्ने बगरमा त्यस्तै फलफूल र तरकारी खेती गर्ने सिको गर्दैछन् । उनीहरुले पनि विभिन्न समूह बनाएर आ–आफ्ना नगरप्रमुख र वडाध्यक्षहरुलाई किसानका लागि बगरमा आधारित खेतीको कार्यक्रमहरु ल्याउन माग गरेका छन् ।

भङ्गहामा गरिएको बगर खेती छिमेकी पालिकामा मात्रै नभएर अहिले महोत्तरी जिल्लाभरि नै चर्चाको विषय बनेको छ । जिल्लाभरि नै नमूना कामको दर्जा पाएर अहिले गाउँ गाउँबाट किसानहरु भङ्गहा बगर खेतीको अवलोकन गर्न जान थालेको स्थानीय किसानहरु बताउँछन् ।

यसरी ती किसानले मानिसले मेहनत गरे सुन नै फलाउन सक्छ भन्ने तथ्य प्रमाणित गरेर देखाउन सफल भएका छन् । त्यस्तै त्यहाँ पुगेका हरेक किसानले परिश्रम गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने यथार्थ सिकेर फर्किने गरेका छन् । भङ्गहाका किसानको महेनत देखेर आफूहरु पनि प्रभावित भएको र उनीहरुको मेहनतको सम्मानस्वरुप किसानहरुलाई प्रोत्साहन र प्रवद्र्धनको कार्यक्रम ल्याउन लागेको नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो ।

“भङ्गहाको बगरलाई सुन्दर, हरियाली र पैसा फल्ने थलोका रूपमा विकास गर्न आफ्नो रगत पसिना बगाएका किसानलाई हृदयदेखि नै सम्मान गर्छु । उहाँहरुको परिश्रमलाई उचित सम्मान गर्न आतुर छौँ, हामीले केही कार्यक्रम ल्याउँदै छौँ”, नगर प्रमुख साहले बताउनुभयो ।

बगर खेतीमा लागेका चार÷पाँच गाउँका किसानलाई बिहान कतिबेला हुन्छ र रात कतिबेला पर्छ भन्ने पनि प्राय थाहा हुँदैन । किसान उत्तिमलाललगायतको खाना र खाजा बगरमै हुन्छ । कतिपय त बगरमै रात पनि बस्ने गर्छन् भने केही राति सुत्न मात्र घर पुग्छन् ।

उनीहरु सुनाउँछन् कहिले एउटा फलफूल, कहिले अर्को र कहिले सँगसँगै सबै टिप्ने बेला हुन्छ । धेरै खेती गरेकालाई त टिप्नै भ्याइनभ्याइ हुने गर्छ । तरकारी बालीको पनि त्यस्तै हो । विभिन्न मौसमी र एकै मौसममा एकै साथ धेरै फल्ने हुँदा टिप्न, तौल गर्न र बेच्नमै दिन बित्छ । यसरी परिश्रमअनुसारको फल टिपिरहेका यहाँका किसानले आफ्नै भूमिमा कर्म गरे सबथोक फलाउन सकिन्छ भन्ने सन्देश दिइरहेका छन् ।