मलाई देश दिने मेरी आमा

२०७८ असार २२, मंगलवार ११:३९

प्रसवपीडाको वेदना सहिरहेकी मेरी आमा
र, रमरम तुवालोले ढाकेको जून मलाई उस्तै उस्तै लाग्छ
मृत्युलाई स्विकारेर सन्तान जन्माउने मेरी आमा र मेरो देश
मलाई उस्तै उस्तै लाग्छ ।

आमा नहुनु शून्यमा हराएर खाली हुनु रहेछ
सपनामा, विपनामा, फूलमा, ईन्द्रेणीमा, घाममा,
र, आकार बदलिरहने वादलका आकृतिहरुमा खोज्छु आमालाई
अह ! पाउदिन कतै र उदास उदास हुन्छु सधैँ ।

आमा भन्नु अन्तस्करणको मीठो धुन रहेछ
आमा हुनु सुर मिलेको जीवन गीत रहेछ
आमा लेख्नु मूल भावमा तरङ्गित सिर्जनाको सौन्दर्य रहेछ
आमा खोज्नु तृष्णाको अनन्त मृगतृष्णा रहेछ ।

आमा सम्झनु मात्र पनि
निस्वार्थ प्रेमको उन्मुक्त आकाशमा रमाउछु
आमा शव्दनै शक्तिको महान वाणी
सैन्दर्यको अर्को नाम ।

कसैले सृष्टिको लय रोएको देखेको छ ?
मैले त देखेकी छु,
कति कति अपहेलित आमाहरुका आखाँमा ।

195 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal