प्रदिप रोदनको गजल “बाढी” राज सिग्देलको आवाजमा सार्वजनिक (भिडियो सहित)

छानो फेरौँला भन्दा भन्दै कति साल सकियो
चुहिंने ठाउँमा बटुको राख बाबु थाल सकियो
– प्रदिप रोदन

सामाजिक संजाल फेसबुक, त्वीटर, टिकटकमा उधुम मचाएको उपरोक्त शेर गायनसहित् बजारमा आएको छ । प्रदिप रोदनका यी उम्दा गजल शेरमा अहिलेका सशक्त गजल गायक राजा सिग्देलको स्वरले चार चाँद थपिदिएको छ।

उच्चकोटीको यस्तो संयोग विरलै हुने गर्दछ। प्रेम पौडेलको संगीत र फणिन्द्र राईको संगीत संयोजनले यी शेरहरूमा पक्कै पनि प्राकृतिक प्रकोपबाट प्रताडित मनहरूलाई प्रतिबिम्ब गर्दछ। राजेन्द्र बजगाईं र अमन तामाङको कोरसबाट शुरु हुँदै गीतले एउटा नयाँपनको आभास दिन्छ। सुष्मा लिम्बु र दीपा तामाङले पनि कोरसमा साथ् दिएका छन् ।

गीतमा प्रयोग गरिएका वास्तविक तस्वीरहरूले गीतलाई अति नै मार्मिक बनाएको छ । लोमस पौडेलले खिचेका भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेको छ। यो गीतले समकालीन बाढी पिडितको व्यथालाई मार्मिक तरिकाले प्रस्तुत गर्न सफल भएको छ। बाढी पहिरोलाई विषयवस्तु बनाएर आएको गीत ‘ चरी लैजा समाचार हामी भयौँ बेघरवार ‘ पछिको यो अति नै स-शक्त र मार्मिक गीत हो। मनिष लामाले रेकर्ड गरेको यो गीतको मिक्सिंग र मास्टरिङ्ग सुमन खड्काले गरेका छन्। गीत पर्पल स्टुडियोमा रेकर्ड भएको हो।

गीतमा राखिएको शुरुको लाईन ‘ सम्बन्धित निकायबाट सम्भावित जोखिमहरू समयमै पहिचान र निराकरण हुन नसक्दा वर्षेनी हजारौं नेपालीहरू अकालमै ज्यान गुमाउन बाध्य छन्। ‘ ले सरकारका सम्पूर्ण निकायहरूलाई गम्भीर हुन सचेत गराएको छ।