कविता: डियर कफी गर्ल

सुशान्त कुमार बि.क.

255

डियर कफी गर्ल
कफी प्रेमको
हुरी,
पहाड
अनि दुश्मन
भइदियो

डियर कफी गर्ल
हामी घन्टौँ बस्थ्यौँ, सिभिल महल, काठमाडौं महलमा
अनि कफीको चुस्कीसँगै
तिमी, प्रेमील किताबहरू पढेर भन्थ्यौ
बुझियो, सारै राम्रो रहेछ ।

तर, डियर कफी गर्ल
प्रत्येक कफीको चुस्कीमा
मैले मेरी आमा को पसिना देख्दथे
अनि त्यस भित्र बनाइएको हृदयआकृति (सिम्बोल अफ हार्ट)मा
बुवाको हत्केलाका फाटेका चिराहरू देख्दथे

डियर कफी गर्ल
व्यर्थ छन् ती सबै किताबहरू
जसले आँखाहरू पढ्न सिकाएनन्
जसले परिस्थिति पढ्न सिकाएनन्
मेरा प्वाल परेका खल्तीहरू देखाएनन्
र त हामीबाट “म” र “तिमी” भयौ
र वर्षौँपछि पनि कफी टर्रो लाग्छ अझै ।

Facebook Comments Box