विभेदको कहालीलाग्दो कहर

२०७८ असार १९, शनिबार १३:२४

भोजपुरको गाउँमा हुर्किएँ। ग्रामीण समाजमा मेलापात मिलेरै गरिन्छ। मान्छेहरू मिलेर काम गरेको खुब रमाइलो लाग्थ्यो। तर काम गर्दा एकै ठाउँ जुट्नेहरू खाने बेला फुट्थे। खाने बेला अलग्गै बस्न बाध्यहरू दलित समुदायका हुन्थे। अरूहरू खाना खाएर आराम गर्थे, भाँडा माझ्न सहयोग गर्नेहरू हुन्थे। तर उनीहरूले भने आफूले खाएको थाल आफैं माझ्नुपर्थ्याे। यो नमीठो दृश्यले मलाई हाम्रो समाजको विभेद चिनाइदियो।

त्यस्तो दृश्यले मन अमिल्याउन थालेको तीन दशक बित्यो। यसबीच राजनीतिमा निकै बदलाव आयो। जनयुद्ध भयो, जनआन्दोलन त दुईपटक भयो। व्यवस्था परिवर्तन भयो। तर जुन गतिमा राजनीतिक परिवर्तन देखियो, समाज त्योभन्दा निकै सुस्त रह्यो। व्यवस्थाको नाम फेरियो, तर चरित्रमा भने उस्तो परिवर्तन देखिएन। विभेद हट्नुपर्ने थियो, तर प्रकार मात्रै फेरियो।

विभिन्न आन्दोलनका रापले सहरी क्षेत्रको सतहमा देखिने विभेद कम भए। केही ठाउँमा थाल धुनुपर्ने र अलग्गै बसेर खानुपर्ने बाध्यता हट्यो। तर, धेरै ग्रामीण क्षेत्रमा दृश्य बदलिएको छैन। ‘सामाजिक सद्भाव खलबलिन नदिन’ शान्तिपूर्ण रूपमै यस्तो विभेद कायम राखिएको देखिन्छ। दलितलाई मन्दिर पस्न नदिने प्रचलनसँग संघर्ष भइरहेकै छ। छोएको ठाउँमा सुनपानी छर्किएर चोख्याइने चलन हटेको छैन। विगतमा भन्दा त केही फरक देखिन्छ, तर विभेदको जब्बर जरा भने उखेलिएको छैन। रुकुम घटना त्यसैको पछिल्लो क्रूर उदाहरण हो, नबदलिएको समाज व्यवस्थाको चित्र हो।

केही वर्षअघि जातीय विभेदसँग सम्बन्धित कथामा सिनेमा निर्माण गर्न एउटा पहाडी गाउँ पुगेको थियो हाम्रो समूह। जातीय विभेदसँग सम्बन्धित कथा भएकाले हामीले दलित समुदायकै युवाको सहयोग लिएका थियौं।

पुसको महिना, जाडो निकै थियो । पाँच दिन भइसकेको थियो गाउँ बसेको। त्यसैले सुटिङ चाँडै सक्ने हतारो थियो। बिहानै उठेर चिया पिउदै थिएँ, साथमा थिए– एक दलित युवा। चिया पसलमा आएका एक पाका व्यक्तिले ती युवालाई घुरेर हेरे अनि मलाई भने, ‘यी दलितबारे तपाईंहरू धेरै नगर्नुस् है। तपाईं गएपछि यिनीहरूले हाम्रो टाउकामा टेक्छन् ।’ उनको कुराले मेरो दिमाग रन्थन्यायो।
त्यही दिन बिहान ११ बजे होटलमा खाना खाँदै थियौं। हामीसँगै दलित समुदायकै दुई युवा थिए। होटल साहुले भन्न भ्याए, ‘हामी पनि जातीय विभेद मान्दैनौं, मान्न पनि हुँदैन। तर, यी दलितहरूलाई यति धेरै महत्त्वचाहिँ दिनुहुँदैन।’

‘विभेद मान्दैनौं, महत्त्व दिनुहुँदैन!’ के कुरा हो यो? मलाई दिनभर आदर्शको सतहभित्र छोपिएको विभेदको रापले पोलिरह्यो। यो स्पष्ट थियो कि त्यहाँ हाम्रो उपस्थितिका कारण उनीहरूले विभेदपूर्ण व्यवहारलाई ‘विवेकपूर्ण’ नियन्त्रण गरेका थिए।

हामी हिँडेपछि उनीहरूको ‘विवेक’ स्वाभाविक व्यवहारमा बदलिन्थ्यो । कल्पनाले नै हृदय चिरिइरह्यो। आफैंमाथि विभेद भइरहेको महसुस गरें। त्यस घटनापछि दलित समुदाय र यसले भोगिरहेको विभेदबारे थप बुझ्न थालें। अध्ययन र अन्तरक्रिया बढाएँ। मलाई थाहा भयो, हामीलाई सामान्य लागेजस्तो विभेद सामान्य भएको छैन। यसको प्रकृति संरचनागत छ, निकै जब्बर र कठिन छ।
समतापूर्ण समाजका लागि सशस्त्र जनयुद्ध भयो। यसमा दलित समुदाय उत्साहपूर्वक सहभागी भयो, बलिदान गर्‍यो। सत्ता परिवर्तनसँगै समतामूलक समाजमा आफ्नो समान स्थानको सपना थियो। नभन्दै सत्ता परिवर्तन भयो, तर सत्ताको सोच परिवर्तन भएन।
राजा–महाराजाको पालामा दलितको कुरा सुनिदिने नै कोही थिएनन्, सुनाउन नै निषेध थियो। बलिदानीपूर्ण आन्दोलनपछि हक–अधिकारको कुरा गर्न सकिने भएको छ। सुनाउन सकिने भएको छ। तर विडम्बना, अहिलेको सत्ताले कुरा सुन्छ, तर केही गर्दैन। यो झन् कहालीलाग्दो कहर बनेको छ।

अहिले राजनीतिक पार्टीहरूको संरचना र राज्य निर्माणमा सहभागितालाई गहिरो गरी अध्ययन गर्ने हो भने स्पष्ट थाहा हुन्छ कि राज्यको उपल्लो ओहोदामा भएकाहरू नै दलित समुदायलाई समान हैसियत दिन तयार छैनन्। आर्थिक, सामाजिक र राजनीतिक रूपमा उनीहरू माथि उठ्नु भनेको अपराधझैं ठान्छन्। मैले सिनेमा सुटिङको क्रममा पाएको सामाजिक प्रतिक्रिया त्यसको एउटा अंश मात्र हो।

यस्तो विभेदबीच मेरो भूमिका के रह्यो त? म आफैंलाई प्रश्न गर्छु। यसमा म केवल रमितेजस्तो मात्रै बनेको छु। के बोल्ने, के गर्ने? द्विविधाजस्तो भइरहन्छ। कानुनी रूपमा विभेदमुक्त छौं। तर, व्यवहारमा विभेद उत्तिकै छ। यसबारे अंशअंशमा कतै कतै बोलेको छु धेरैपटक। तर जो यही समुदायका कलाकार हुनुहुन्छ, उहाँहरू बोल्दा अझ बलियो आवाज हुन्थ्यो कि भन्ने पनि लाग्छ।
तर उहाँहरूको मौनता किन? अन्जान छु। कसैले नसुन्ने र सुनेपछि बेवास्ता गर्ने प्रवृत्तिले उहाँहरूले बोल्न छोड्नुभयो कि! न सरकारले सुन्छ, न कुनै पार्टीको एजेन्डा नै बन्छ। बोली खेर फाल्न मात्र किन बोल्नु भन्ने भावना आउनु स्वाभाविक पनि हो।
यससँगै कतिले दलित समुदायबाट आउने कतिपय कलाकारले आफ्नो जात नखुलाएको विषयमा प्रश्न गरेको पाउँछु। यो बाध्यता हो। यहाँ यस्तो व्यवस्था कायमै छ, जसमा आफ्नै जातमाथि गर्व गर्न सकिँदैन।

दलित समुदायमाथि मात्रै होइन, विभेद जनजातिमाथि पनि छ, महिलामाथि छ, मधेसीमाथि छ। महिलालाई ‘तिमी यो काम गर्न सक्दैनौं, नगर’ भन्ने मानसिकतादेखि विभेद सुरु हुन्छ। जनजातिमाथि हुने विभेदको साक्षी त म आफैं हुँ।

करियरको सुरुवातमा म सिनेमाको अभिनेताको कोटीमै पर्दैनथें। नाटकमा मात्रै ठिकठाक थिएँ। धेरैले मलाई मायालु पाराले, साथीको हिसाबले सम्झाएजस्तो गर्दै ‘तिमी हिरो बन्न सक्दैनौ’ भनेका थिए। झट्ट हेर्दा सम्झाएजस्तो लागे पनि त्यो एक प्रकारको विभेद थियो।
‘यो काम तिम्रा लागि बनेकै होइन, शास्त्रले वर्णन गरेको अभिनेताको कोटीमा तिमी पर्दैनौ’ भन्न खोजिएको थियो। मेरो मंगोलियन अनुहार र कदले नजानिँदो विभेद भोगिरहेको उदाहरण थियो त्यो। धेरैले यस्तो विभेद भाेगिरहेकै छन्, कतिले थाहा नपाउने गरी भोगिरहेका छन्। कुनै परिवार र समुदायको व्यक्तिलाई ‘कठै! तिमी यस्तो समुदायबाट माथि उठेका हौ नि’ भन्नु नै विभेद हो। त्यो उसको दक्षतामाथि उठाइएको प्रश्न हो।

सबै क्षमताले भरिपूर्ण व्यक्तिसमेत विभेदको जाँतोमुनि पिसिने अवस्था सिर्जना वर्ण व्यवस्थाले गरिदिएको छ। यसको मियो मानिने हिन्दू धर्मको आफ्नै सौन्दर्यशास्त्र छ। त्यसभित्र मंगोलियनहरू अटाउँदैनन् । उनीहरूको वर्णन नै त्यसमा गरिएको छैन। त्यही सौन्दर्य मानकमा रचिएका दन्त्यकथामा मजस्तो आकार–प्रकारको नायक आउँदैन।
त्यहाँ लामो नाक र अग्लो ज्यान भएकै नायक आउँछ, चिम्सा आँखा, पुक्क परेको गाला त कल्पनै गरिँदैन। त्यही सौन्दर्यशास्त्रको मानकमा म र मजस्तै कलाकार सिनेमाको ‘हिरो म्याटरियल’ बन्न सकिनँ । जब यो मानकमा प्रश्न गरेर सिनेमा बन्न थाले, त्यसपछि मात्रै हाम्रो सौन्दर्य र प्रतिभाको कदर हुन थालेको हो। यसका पछाडि पहिचानको आन्दोलनको ठूलो भूमिका छ।
त्यही आन्दोलनको बलमा नै यस्ता स्थापित मान्यतामाथि प्रश्न उठाउन सकिएको छ। तथापि म एक जना वा मजस्ता केहीले आफ्नो प्रतिभाको बलमा पहिचान बनाउन सक्नुमै समानता भइरहेको आत्मरति लिन कदापि सकिँदैन। कहिलेकाहीँ त यो व्यवस्थाले आफ्नो समुदायमाथि देखाएको व्यवहारले निराश हुन्छु।
लाग्छ– यो समाज हाम्रा लागि निर्माण गरिएकै होइन, जबर्जस्ती जन्म लिएर आएको हुँ। रुकुम नरसंहारपछि म यस्तै विचारले निकै दिन ग्रस्त भएँ। यसलाई जातीय विभेदबाट अलग राखेर गर्न खोजिएको बहस देख्दा त झनै उदेक लागेको थियो। त्यसैले यस्तो चिन्तन र व्यवस्थामाथि नै प्रश्न गर्न हामी तयार हुनुपर्छ।
वर्ण व्यवस्थाले समाजलाई हेर्ने ‘टाइपकास्ट’ दृष्टिकोण निर्माण गर्दो रहेछ। समाचारहरू हेरौं, मंगोलियनहरू जताततै हिंस्रक जस्ता लाग्छन्। मानौं कि उनीहरू मान्छेको बस्तीमा पुगेर विध्वंश मच्चाइरहेका छन्।
केही समयपहिले काठमाडौंमा बैंक लुट्ने, सहकारी लुट्ने काममा संलग्न भनेर लिम्बू समुदायका व्यक्ति पक्राउ परे। त्यसपछि सम्पूर्ण समुदायलाई नै आरोपित गर्ने प्रतिक्रिया मैले धेरै सुनें। उनकै कारण पनि मंगोलियनहरुलाई कैयौंले गलत नजरले हेरेका थिए। यसरी कुनै एक व्यक्तिलाई हेरेर सम्पूर्ण समुदायलाई हेर्ने दृष्टिकोण निर्माण गर्ने प्रवृत्ति नै गलत छ।
किन धेरै तामाङहरू ट्याक्सी चलाउँछन्, किन लिम्बूहरू खुकुरी भिरेर हिँड्छन्? पहिले त्यसको पृष्ठभूमि बुझ्नुपर्छ। सामाजिक–आर्थिक सम्बन्ध बुझ्नुपर्छ। अनि त्यसले निर्माण गरेको बाध्यात्मक अवस्थाबारे घोत्लिनुपर्छ।
यसरी व्यवस्थामाथि प्रश्न गर्ने सोच निर्माण गर्न विश्वविद्यालय र कलेजहरूबाटै प्रयास गरिनुपर्छ। समाजका हरेक तप्काबाट सुरु गर्नुपर्छ। हो, समाज परिवर्तन हुन समय लाग्छ। तर, परिवर्तनका लागि सुरुवात त गर्नैपर्छ।

199 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal