स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटली भिड्दै

6

युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । आज दुई क्वाटरफाइनल खेल हुनेछन् ।

जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९ः४५ बजे हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।

अर्को खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२ः४५ बजे जर्मनीको म्युनिकमा हुनेछ । दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए ।

त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । हार्ने टोली युरोकपबाट बाहिरिनेछ । इटली लगातार ३१ खेलमा अपराजित छ ।

बाँकी दुई क्वाटरफाइनलमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।