लकडाउनमा रङ्गमञ्च : सुनसान बगरजस्तो

२०७८ असार १९, शनिबार ००:५४

रङ्गमञ्चको प्राण भनेकै दर्शकको भौतिक उपस्थिति हो । दर्शकको अगाडि अभिनय गर्नु रङ्गमञ्चको नैसर्गिक स्वभाव हो । कथा, कविता, गीत वा गजल पाठक वा भावकको अनुपस्थितिमा पनि अस्तित्वमा रहन्छन् । तर नाटक, रङ्गमञ्चमा नपुग्दासम्म वा अक्षरमै सीमित रहँदासम्म मृतप्रायः रहन्छ । “श्रुति” र “स्वर” को भिन्नताजस्तो । नबज्दासम्म श्रुति हुन्छ, बजेपछि स्वर । श्रुतिमात्रै रहँदासम्म सङ्गीतको के अस्तित्व हुन्छ र ?

लकडाउन युगमा छौँ हामी । करिब दुई वर्ष भइसक्यो, महामारीका कारण हामी थुनिएको । प्रविधिमार्फत् सिर्जना सुन्ने सुनाउने क्रम त रोकिएन । तर रङ्गमञ्च ?

यहाँ ठूलो प्रश्न छ ।

दर्शक घरैमा थुनिएको बेला, अथवा कलाकार पनि नजरबन्द रहेको बेला रङ्गमञ्चमा के भयो? के गरे रङ्गकर्मीहरूले? कसरी आफैँलाई बचायो नेपाली नाट्यजगतले? यिनै प्रश्नहरूको सेरोफेरामा हामीले नेपालका केही नाट्यसमूहका प्रतिनिधि कलाकार र निर्देशकहरूसँग कुराकानी गरेका छौँ ।

नाट्य निर्देशक तथा शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीसँग भर्चुअल माध्यमबाट नट्यक्रर्मलाई निरन्तरता दिने प्रयासको अनुभव छ । तर उनी रङ्गमञ्चमा नाटक देखाएजस्तो प्रभावकारिता भर्चुअल थिएटरमा नरहेको बताउँछन् । तर पनि, यस बेला घरमै बसेर नाटक बारे अध्ययन गर्ने र केही सिक्ने मौका पाएकोमा उनी खुसी पनि देखिन्छन् । भन्छन्— “महामारीको बेला धेरै समय हामी आ–आफ्नै वासस्थानमा थुनिएर रहन पर्यो । तत् समयमा केही रङ्गकर्मीले प्रविधिको प्रयोग गरी पुराना नाटकका भिडियो विभिन्न सामाजिक सञ्जालमार्फत प्रशारण गरेर दर्शकलाई नाटकप्रतिको मोह घट्न नदिन प्रयासरत रहे । केहीले नाटक मञ्चनको प्रत्यक्ष प्रशारण (अनलाइन) मार्फत रङ्गमञ्चलाई जीवित राख्न कोसिस गरे । विपदको बेलामा विकल्प खोज्न-सोच्न सदैव तयार रहनुपर्ने रहेछ भन्ने बाध्यता बोध भयो । उक्त शून्य समयमा रङ्गकर्मीले आफूलाई खार्ने र नाटकबारे अध्ययन र चिन्तन गर्ने मौका समेत पायौँ । यसले गर्दा नाटक मञ्चनमा केही नयाँ र परिवर्तित शैली देखिँदै जानेछ भनेर आशा गर्न सकिन्छ ।”

यो त भयो आशको कुरा । तत्काल, रङ्गमञ्च प्रभावित चाहिँ कत्तिको भयो, र कसरी । फेरि निर्देशक बुढाथोकी भन्छन्, “पक्कै पनि प्रभावित भयो । नाटक सामूहिक कार्य हो अनि मञ्चन पनि सामूहिक वा भनौँ मासलाई नै देखाउने विधा हो । तर कोभिडले यी सबै कार्यलाई वर्जित गर्यो । जसका कारण नाटक मञ्चन हुने अवस्था नै रहेन । यसले गर्दा रङ्गकर्मका गतिविधि ठप्प भए । आर्थिक मारमा पनि पर्नु पर्यो । केही रङ्गकर्मीहरू यस क्षेत्रबाटै पलायन हुनुपर्ने अवस्था आयो । अझ जग्गा भाडामा लिएर नाटक घर सञ्चालन गरिरहेका नाट्य संस्थाहरू झन् ठूलो मारमा परे । आफ्नो खल्तीबाट पैसा झिकेर जग्गाको भाडा तिर्न पर्ने अवस्था आयो । शैली थिएटरको त नाटक घर सञ्चालनमा आएको केही महिनामात्र भएको थियो । नाटक घर बन्द गर्नुपर्दा धेरै कुराको नोक्सानी व्यहोर्नु पर्यो ।”

के यस प्रतिकूल समयले नाटक मञ्चनको विद्यमान शैली वा परम्परामा केही परिवर्तन ल्याएको अनुभव यहाँले गर्नुभयो भनेर पनि हामीले उनलाई सोध्यौँ । उनले भने, “पहिलो कुरा त, यो बीचमा नाटक उत्पादन र मञ्चन नै भएनन् । त्यसो हुँदा शैली र परम्परामा खासै त्यस्तो केही परिवर्तन जस्तो लागेन । तथापि भर्चुअल रूपमा केही गतिविधिहरू भने भए । शैली थिएटरले नै भर्चुअल कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता तथा शैली सम्वादको आयोजना गरेको थियो । गत साल १२ औँ राष्ट्रिय बालनाटक प्रतियोगिता पनि हामीले भर्चुअल रूपमै गर्यौँ । केही सँस्थाहरूले भर्चुअलरूपमा नाटक मञ्चन पनि गरे । तर, भर्चुअल गतिविधिहरू स्थायी वा दूरगामी हुन्छन् भन्ने नै मलाई लाग्दैन, किनभने रङ्गकर्म भनेको सामूहिक तथा समुदाय वा भनौँ दर्शकहरूका बीचमा प्रत्यक्ष गरिने गतिविधिहरू हुन् । प्रत्यक्षरूपमा गतिविधि गर्दाको रमाइलो र आनन्द भर्चुअल गतिविधिबाट लिन सकिँदैन भन्ने कुराका साक्षी त हामी आफैँ भएका छौँ ।”

निर्देशक टंक चौँलागाईंका अनुभव पनि त्यति सुखद चाहिँ छैनन् । महामारीले रङ्गमञ्चको हुर्मत काडेको उनको अनुभव छ । भन्छन्, “कोरोनाको सकसले धेरै कुरालाई प्रत्यक्ष रूपमा असर पार्यो । यस किसिमको सकसबाट मानिसहरूको जमघटविना असम्भव हुने विधा रङ्गमञ्च किन छुट्थ्यो ! थिएटरहरू बन्द भए । नाटक मञ्चन हुनै सकेनन् । रङ्गकर्मीहरूमा एक किसिमको हतास मनस्थिति छँदैछ अहिलेसम्म पनि । केही रङ्गकर्मीले फरक विधा, जस्तै सर्ट फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियोमा काम खोज्न थाले । रोजीरोटीको सवाल थियो । कोरोनाको सकस सुरू भएदेखि भर्चुअल माध्यमबाट नाटक देखाउने कोसिस पनि भयो । तर त्यो दिगो समाधान थिएन । बीचमा केही समयका लागि थिएटर खुलेपछि केही छिटपुट काम हुन थाले । तर ती शैलीगत हिसाबका नयाँ थिएनन् । अहिलेसम्म देखिने काम भएको छैन । वैशाखदेखि मञ्चन सुरू हुनेगरी केही नाटकका पुर्वाअभ्यास हुन थालेका थिए, तर पुनः महामारी फैलियो र बन्द हुन पुगे ।”

निर्देशक बुढाथोकीजस्तै निर्देशक चौँलागाईं पनि लकडाउनको समयले स्वअध्ययनको अवसर दिएको भन्ने कुरा स्वीकार्छन् । रङ्गमञ्चमा खासै केही नभए पनि आआफ्ना अध्ययन कक्षमा नाट्यकर्मीहरूले आफूलाई निखार्ने समय पाएको उनको स्वीकारोक्ति छ । उनी भन्छन्, “कोरोना कालले आफूलाई स्वमूल्याङ्कन गर्ने अवसर दिएको भन्नेमा म विश्वस्त छु । धेरैले अध्ययन अनुसन्धानमा समय दिन पाए । मैले नाटक लेखन र पुनर्लेखन गरेँ । त्यो लेखिरहँदा समयले सिर्जना गरेको चुनौतीको अग्लो पहाडले थिचेको महसुस भएको थियो । त्यस हिसाबले पनि अब सिर्जना हुने नाटकहरू पक्कै नयाँ बन्नुपर्छ । किन भने, लगभग शून्यको स्थितिमा पुगेको रङ्गमञ्चमा दर्शकहरू दोहोरिनु पर्ने बाध्यता छ । यही कुरा अरू केही देशका रङ्गकर्मीले पनि महसुस गरेको बुझेको छु ।”

नाटककार तथा निर्देशक पुरु लम्सालका आफ्नै खालका अनुभव छन् । उनलाई प्रविधिको वैशाखी टेकेर गरिने नाट्यकर्ममा त्यति विश्वास छैन । उनको भनाइ यस्तो छ— “मान्छेहरूको जमघट नहुने भएपछि निश्चय नै कोरोना कालमा रङ्गकर्म पनि प्रभावित भयो । नाटक मञ्चनलाई पनि प्रविधि मैत्री बनाउने प्रयास भएपनि खासै प्रभावकारी हुन सकेन । नाटक जिवन्त विधा भएका कारण पनि सिनेमा जसरी हेर्न दर्शकहरूले पनि चाहेनन् सायद । केही अभ्यास भए पनि नेपाली नाटक मञ्चनको परम्परालाई परिवर्तन गर्ने किसिमको केही प्रयोग हुन सकेन । नाटक र दर्शकका बीचमा रहने जुन आत्मीयता छ त्यही नै नाटकको एउटा विशेषता पनि भएका कारण प्रविधीमार्फत गरिने मञ्चनले दूरगामी प्रभाव राख्न सक्दैन । दर्शककले नाटकघरमै गएर नाटक हेर्दाको जस्तो प्रभाव र जीवन्तता प्रविधीमा पाउन सक्दैनन् ।”

यस्तै यस्तै अनुभव युवा निर्देशक तथा कलाकार केदार श्रेष्ठको पनि छ । थिएटर मलका सञ्चालकसमेत रहेको श्रेष्ठका पनि धेरै नाटक कोरोनाको चपेटमा परे । उनले पनि अवरुद्ध समयलाई चलायमान बनाउने कोसिस नगरेका होइनन् । तर पनि, नाटकको स्वभावकै कारण कोरोनाकालमा यो त्यति फैलन सकेन । भन्छन्, “रङ्गमञ्च कलासाहित्यको त्यस्तो विधा र माध्यम हो जुन एक्लै गर्न सकिँदैन । यो समूहमार्फत गरिने वा सामूहिक कार्य हो । कोरोनाकालमा हामी घरबाट बाहिर निस्कन नमिल्ने भौतिक दूरीको अवस्थामा थियौँ भने यसले रङ्गमञ्चलाई झन् बढी प्रभावित बनायो नै । रङ्गमञ्चका सिर्जना दर्शकसामू पस्किने त परै जाओस् रङ्गकर्मीहरू नै सिर्जनाका लागि भेट्न सकिने अवस्था थिएन, भएन । त्यसो हुँदा सुरूमा रङ्गकर्मीले जे गरिरहेका थिए, जे निरन्तर अभ्यास गरिरहेका थिइए ती सबै ठप्प भए । यसले रङ्गकर्मी अर्थात् सिर्जनकर्मीको सिर्जना गर्ने कार्यमा असर ग¥यो । जसले अभ्यासबाट आउने निखारता र सिर्जनामा प्रत्यक्ष असर पर्यो । त्यससँगै जिविकोपार्जनको अवस्थामा त झनै बढी असर र प्रभाव पर्यो । कतिपय अवस्थामा रङ्गकर्मीहरू पलायन हुनुपर्ने अवस्थासम्म पुगे । शैली र परम्परामा परिवर्तन आयो कि भन्ने प्रश्नमा शैली र परम्पराको सवाल अहिले नै नउठ्ला किनकी अहिले त शैली देखाउन रंगकार्य गरिसकेको अवस्था छैन । त्यसैले कोरोनाको यो समय सहज हुँदै पूर्णरूपमा पहिलेजस्तै रङ्गमञ्च सक्रिय हुँदा मात्र शैलीबारे चर्चा गर्न सकिन्छ होला । तर हरेक समय परिवर्तन र समयपीडाले कलासाहत्यिको शैलीमा केही परिवर्तनमय प्रभाव पार्दै आएको छ । यसले नि केही त पार्ला । रङ्गमञ्चको न्यूनतम सर्त प्रत्यक्ष मञ्चन र प्रदर्शन तथा प्रत्यक्ष अवलोकन हो । यति हुँदाहुँदै पनि विश्वस्तरमै केही भर्चुअल अभ्यासहरू भए जसले रङ्गमञ्च प्रदर्शनको फरक माध्यम वा डाइमेनसनको पनि चर्चा हुन थालेको छ । नेपालमा हामीले गरेको अर्भुअल फेस्टिभलले पनि नेपालमा रङ्गमञ्च भर्चुअल हो वा होइन जस्ता कुराहरूमा बहसहरू सुरू भएका छन् । स्थायी र दूरगामीका कुरामा चाहीँ यदि अब रङ्गमञ्च सक्रिय भएर पहिलेको अवस्थामा पुगेर देखिने शैलीले केही समय अभ्यास गर्न सक्ने सम्भावना छ तर अबको कलासाहित्यको रफ्तार अहिलेको विश्वजस्तै रफ्तार हुनुपर्ने भएकोले यसले पनि निश्चित समयपछि परिवर्तन खोज्नेछ भन्ने लाग्छ । माध्यमको कुरामा भर्चुअलको कुरा चाहिँ यो बहस सुरू भएको छ यसले निरन्तरता पाउँछ । रङ्गमञ्च भर्चुअल माध्यम होइन तर भर्चुअल माध्यमबाट रङ्गमञ्चमा के कस्तो कुरामा के कसरी के आधारमा आफ्नो दरिलो उपस्थिति दिन सकिन्छ भन्ने कुराम चाहिँ निरन्तर बहस हुने देखिन्छ ।”

धिरज राई आरोहण गुरुकुल थिएटर विराटनगरसँग आबद्ध छन् । उनी रङ्गमञ्चको व्यवस्थापन/संयोजन गर्छन् । के छ त उनको कोरोनाकालीन अनुभव ?
व्यवस्थापक राई भन्छन्, “विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी कालमा संसारको सबैजसो क्षेत्र प्रभावित हुनपुग्दा रङ्गकर्म अछुतो रहने कुरै भएन । भर्खरभर्खर बामे सर्दै गरेको नेपालको रङ्गमञ्च उक्त प्रतिकूल समयको प्रत्यक्ष असरले सङ्कटमा पर्न गयो । मञ्च, कलाकार र दर्शकविना नाटकको अस्तित्व नरहने र मान्छेबीच रहेर मान्छेले मान्छेका लागि प्रस्तुत गरिने माध्यम भएको कारण कोरोना कालमा लामो समय रङ्गमञ्च ठप्पै हुनपुग्यो । कोरोनाले शिथिल पारेको रङ्गमञ्च बौरिएर उठ्नलाई चुनौती छँदैछ । महामारीको बेला धेरै समय हामी आ–आफ्नै वासस्थानमा थुनिएर रहनु पर्यो । तत् समयमा केही रङ्गकर्मीले प्रविधिको प्रयोग गरी पुराना नाटकका भिडियो विभिन्न सामाजिक सञ्जालमार्फत प्रशारण गरेर दर्शकलाई नाटक प्रतिको मोह घट्न नदिन प्रयासरत रहे । केहीले नाटक मञ्चनको प्रत्यक्ष प्रशारण (अनलाइन) मार्फत रङ्गमञ्चलाई जीवित राख्न कोसिस गरे । विपदको बेलामा विकल्प खोज्न-सोच्न सदैव तयार रहनुपर्नेरहेछ भन्ने बाध्यता बोध भयो । उक्त शून्य समयमा रङ्गकर्मीले आफूलाई खार्ने र नाटकबारे अध्ययन र चिन्तन गर्ने मौका समेत पायौँ । यसले गर्दा नाटक मञ्चनमा केही नयाँ र परिवर्तित शैली देखिँदै जानेछ भनेर आशा गर्न सकिन्छ ।”
निर्देशकका कुरा सुन्यौँ । थिएटर सञ्चालक वा निर्देशकका कुरा पनि सुन्यौँ ।
यस बेला विशुद्ध कलाकारहरू के सोचिरहेका होलान् ? के होला उनको अनुभव ?
यो खुलदुली मेट्न हामीले केही कलाकारसँग पनि कुरा गर्यौँ । उनका भनाइ चाखलाग्दा छन् ।

लामो समयदेखि विभिन्न मञ्चहरूमा कुशल अभिनय गर्दै आएकी मञ्जु गिरी भन्छिन्, पहिलेको गतिशीलता नरहे पनि उनले आफूलाई क्रियाशील भने राखिरहिन् । उनी भन्छिन्, “कोभिडको अगाडि व्यस्तरूपमै नाटकमा काम गरिरहेका थियौँ भने कोभिडको समयमा सामाजिक दूरी कायम गर्नुपर्ने र विश्व नै कोभिडको चपेटामा परेकाले हामी डराउनु पर्ने अवस्था छ । त्यसैले हामीले रङ्गमञ्चमै गएर नाटक गर्ने कुरै भएन । डेढ बर्ष घरमै बस्नु पर्ने अवस्था सिर्जना भयो । त्यो बीचमा मैले किताब पढ्ने, बालनाटकहरू अध्ययन गर्ने, बालबालिकाको लागि नाटक लेख्ने आदि काम गरेँ । रङ्गमञ्च बन्द हुँदा हामीले भर्चुअल नाटक पनि गर्यौँ, र दोश्रो लकडाउन खुलेपछि सबै सुरक्षाका बिधि अपनाएर, प्रभाकर नेउपाने दाजुको आरम्भ समुहबाट “कोरोना कहर” भन्ने जनचेतनामुलक नाटकमा काम गर्यौँ ।”

कोभिडले परम्परागत अभिनय र मञ्चनमा कस्तो प्रभाव पार्यो? केही नयाँपन ल्यायो कि ? यस प्रश्नको उत्तरमा कलाकार गिरी भन्छिन्, “कोभिडका कारण भौतिक दूरी कायम गार्नुपर्ने भएकाले यसको शैलीमा निकै परिवर्तन गर्नुपर्ने भयो । जस्तै, नाटक प्रशिक्षण र रिहर्सल पनि भर्चुअल रूपमै गर्नुपर्ने भयो । प्रविधिलाई राम्ररी प्रयोग गर्न सिकियो । रेडियो नाटक पनि जुम मार्फत नै रेकर्ड गरियो । रङ्गकमका लागि सरकारी पक्षबाट कुनै बजेट नछुट्याइने हुँदा अभावमै काम गरिरहेका बेला नाट्यकर्मी महासंघ भन्ने संस्थामार्फत नाट्यकमीको .वीमा लागायत अन्य हकहितको लागि पनि पहल गरिरहेको छ । यो प्रतिकूल समयमा आर्थिक अभावका कारण कति जना त यो क्षेत्रबाटै पलायन हुनु पर्यो । यो बीचमा मोफसलमा रहनुभएका रङ्गकर्मीको अवस्था कस्तो छ भनेर अलिकति खोजिनीति गर्ने र सहजीकरण गर्ने सानो प्रयास गर्यौँ ।”


सरस्वती अधिकारी एक प्रतिभाशाली कलाकार हुन् । विभिन्न समूहका प्रस्तुतीमा उनी शसक्त अभिनय प्रस्तुत गर्दै पनि आएकी छिन् । हाल शैली थिएटरमा आबद्ध कलाकार सरस्वतलै केही समय शैली संवाद पनि चलाएकी थिइन् । उनको कोरोनाकालीन अनुभव यस्तो छ — “रङ्गकर्म मासमा गर्नु पर्ने कोरोनालाई सामाजिक दूरी चाहिने । दुवै एक–अर्काका कट्टर बिरोधी जस्ता भएका कारण कोरोना कालमा रङ्गकर्म एकदमै प्रभावित भयो । त्यसै पनि आर्थिक रूपमा टिक्न गाह्रो भएको अवस्थामा यो समयमा झनै अप्ठेरो परिस्थिति सिर्जना भयो । कति साथी पलायन हुनुभयो र अन्य पेसा अपनाउनु भयो । नाटकको विकल्पको रूपमा सामाजिक सञ्जाल प्राप्त हुँदा प्रत्यक्ष रङ्गमञ्चमा गएर हेर्नुको मज्जा भएन होला तर, सानो सर्कलबाट हामी मासमेडिया मार्फत ठूलो होराइजन निर्माण गर्न सफल भयौँ । यो संसारमा कुनै पनि चिजको स्थायित्व हुँदैन होला भन्ने लाग्छ मलाई त । त्यसैले नाट्यकर्म पनि परिवर्तित हुँदै जान्छ होला । यसको होराइजन व्यापक बनाउन केही न केही कामहरू हुन्छन् होला । निश्चितरूपमा यसै होला भनेर भन्न सकिने अवस्था चैँ छैन ।”
यो त भयो होलाको कुरा । यानि, आशावादिताको कुरा । उनको ठ्याक्कै अनुभव कस्तो रह्यो ? तीतो कि मिठो ? सोध्दा, कलाकार सरस्वती भन्छिन्, “नाटक खेल्ने वा खेलाउनका अनुभव, निश्चय पनि तीता छन् ।”
नाट्यकर्मीका अनुभव तीता रहे । यद्यपि, प्रविधिको प्रयोग र स्वअध्ययन, यस समयका आंशिक क्षतिपूर्ति हुन् भन्न सकिएला ।

नाटकको अध्ययन गर्ने, मूल्याङ्कन गर्ने अथवा व्याख्या विश्लेषण गर्ने अध्ययेता वा समालोचकहरूले यस समग्र परिस्थितिलाई कसरी हेरे ? यो पनि चाखको विषय छ ।
नाटकमै विद्यावारिधि गरेका उप्राध्यापक डा. अशोक थापासँग हामीले कुराकानी गरेका छौँ । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत डा. थापा भन्छन्, “पक्कै पनि कोरोना कहरले रङ्गकर्म प्रभावित भयो अरू क्षेत्रजस्तै, र ङ्गकर्मीहरूले केही सिके पनि । उनीहरूले अनलाइन मार्फत नाटक देखाउने केही पद्धतिहरू पक्कै सिके । पहिले भएका रेकर्डेड नाटकहरूको स्वाद पनि लिए । हामी दर्शकले पनि लियौँ । हामीले भर्चुअल रङ्गमञ्चको मज्जा लियौँ । त्यसैले नाटक पनि अवरुद्ध हुन पाएन । लाइभ स्ट्रिमिङबाट बग्न पाएको छ । सामाजिक दूरी राखेर रिहर्सल गर्ने, सामाजिक दूरी राखेर नाटक हेर्ने अभ्यासको विकास भएको छ । अनलाइन बालनाटक महोत्सवहरू भए । भौतिक रूपमा केही असजिलो भए पनि कोभिडले केही नयाँ कुरा पनि सिकाएको छ रङ्गकर्मीलाई । जहाँसम्म दूरगामी प्रभावको कुरा छ, हामी सहज जीवनमा फर्किने छौँ । तर सङ्कटका बेला कसरी एड्जस्ट गर्ने कलाले हामीलाई दूरतक फाइदा गर्ने छ ।”
यी कुराकानीले चारवटा कुरा सतहमा ल्याएको छ ।
१. कोरोनाले रङ्गमञ्चलाई धराशायी बनायो । उसबाट तङ्ग्रिन लामो समय लाग्छे छ ।
२. कतिपय रङ्गकर्मीले यो क्षेत्र छोडे र विकल्पको बाटो रोजे । यो दुःखद कुरा हो ।
३. भर्चुअल माध्यमको प्रयोग गर्ने तरिका नाट्यकर्मीले सिके । केही प्रयोग पनि गरे । तर, भौतिक नाट्यकर्मको जस्तो सन्तुष्टि वा प्रभाव त्यसमा छैन । सायद कहिल्यै हुँदैन पनि । भर्चुअल नाटक भन्नु त चलचित्र भन्नु जस्तै न हो । चलचित्र छँदै छ नि ?
४. पढन्ते नाट्यकर्मीले पढेर, अध्ययन गरेर केही कुरा भने अवश्य सिके । यसको प्रभाव पछि उनीहरूले लेख्ने, निर्देशन गर्ने वा देखाउने नाटकमा अवश्य देखिने छ ।

306 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal