नमूना बन्दै चिहानडाँडा वन

२०७८ असार १८, शुक्रबार १३:५३

वन क्षेत्र पस्नासाथ थरिथरिका पङ्क्षीको चिरीबिरी स्वर ! मयुर जोडीको नाच । सघन वृक्ष र लताकुञ्ज । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित चिहानडाँडा सामुदायिक वन क्षेत्र पसेपछि जो सुकैको मन मोहित हुने गर्दछ । एक दशकअघि नाङ्गो डाँडा र पाखाको यो वन क्षेत्र समुदायको निरन्तरको सकारात्मक प्रयत्नले अहिले सघन छाँयादार र हरित क्षेत्रमा परिणत भएको हो ।

सङ्कल्प गरेर काममा लागेपछि सकारात्मक परिणाम पाइन्छ भन्ने उदाहरण चिहानडाँडा वन भएको छ । चारैतिर वन उजाडिंदा पानीका मुहान सुकेका खोल्सीमा पछिल्ला दुई÷तीन वर्षयता कञ्चन पानी बग्न थालेको छ । वन क्षेत्रमा वन्यजन्तु र पंछीको आहार व्यवस्थापनका लागि जङ्गली फलपूmल जामुन, अमला, अम्बा, महुवा र फडिर रोपेर हुर्काइएको छ । बर्दिबास मुख्यचोकबाट ५०० मीटर मात्र उत्तरतर्फको ४४ हेक्टर क्षेत्रफलको यो वनमा बर्सेनि फलपूmल रोपण बढाइँदै लगिएको चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपाने बताउनुहुन्छ । यो सामुदायिक वनका बर्दिबास–१ का ४७० उपभोक्ता सदस्य छन् ।

“केही वर्ष पहिले रोपिएका कतिपय फलपूmल फल्न लागेका छन्, गत वर्षमात्रै हामीले रोपेका एक हजार बिरुवा जोगिएर हुर्केका छन्”, समितिका अध्यक्ष घनश्याम न्यौपाने भन्नुहुन्छ, “यसपालि पनि हामी तीन हजार बिरुवा रोपणको तयारीमा छौँ ।” मानव प्रवेश निषेध गरेपछि बाह्य अतिक्रमण रोकिए पनि डढेलोको चपेटाले भने दुःख दिने गरेको न्यौपानेको भनाइ छ । गत वर्ष रोपिएका एक हजार ५०० बिरुवामध्ये ५०० डढेलोको चपेटामा परेको न्यौपानेले बताउनुभयो ।
खोल्सी वरपर र भिरालो पाखामा चाँडै वंश वृद्धि गर्ने र माटो भास्सिन नदिने प्रजातिका बाँस लगाइएका छन् । समतल र डाँडामा फलपूmल रोपिएका छन् । वन क्षेत्रका खोल्सी बाँधेर व्यवस्थित गरिएपछि बर्खे भेल उर्लेर बस्ती पस्ने अवस्था अन्त्य भएको वनसँगै जोडिएको बस्तीका डोलबहादुर भुजेल बताउनुहुन्छ।

वन फैलदै गएपछि आहार भेट्टाउन थालेका बाँदर अब बस्ती पस्न छाडेको भुजेलको भनाइ छ । “वनमा खानेकुरा नभेट्दा बाँदर बस्ती पस्न थालेका छन्”, वन क्षेत्रकै उपभोक्ता कृष्णप्रसाद गौतम भन्नुहुन्छ, “अब बाँदर घरघरै पसेर उत्पात मच्चाउन छाडेका छन् ।” नजिकैको वन हराभरा भएपछि बर्दिबास मुख्यचोकको सौन्दर्य झन् खुलेको बर्दिवासवासी बताउँछन् । “चोकका अग्ला घरको छतबाट माथितिर फर्कदा हराभरा देखिन्छ”, बर्दिबास–१ का बासिन्दा बर्दिवास उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुरेश राउत भन्नुहुन्छ, “दर्बिलो संरक्षणले वन हुर्केको हो ।”

आफ्ना होटलका पाहुना नजिकै सघन वन क्षेत्र देखेर अवलोकनमै जाने गरेका र त्यहाँ मयुर जोडीको नाच र रङ्गीबिरङ्गी चराको चिरबिर हेरेर रमाउने गरेका बर्दिबास–१ स्थित होटल विनायकका सञ्चालक विष्णु खड्का बताउनुहुन्छ । नजिकको सघन वन क्षेत्रको मनमोहक परिवेशले पाहुनाले एक दिन भएपनि डुल्ने मनसायबाट बसाइ लम्ब्याउने गरेको बर्दिबासका होटल सञ्चालकहरु बताउँछन् ।
वन समितिले वन सुरक्षाका लागि एक वन हेरालु नै नियुक्त गरेको छ । जिल्लाका अन्य भेगका वन क्षेत्र जताततै अतिक्रमणको चपेटामा परे पनि आफ्नो वन भने सुरक्षित रहेको अध्यक्ष न्यौपानेको दाबी छ । “हाँमीले वनलाई मानव प्रवेश निषेध बनाएका छौंँ”, न्यौपाने भन्नुहुन्छ, “प्रत्येक वर्ष हिउँद्मा बाँस भने उपभोक्तालाई उपलब्ध गराउँछौँ ।” बाँसको झाङ् निकै बढेपछि नयाँ तामा नफस्टाउने र अन्य वनस्पति पनि बाँसको छाँयामा नबढ्ने भएको हुँदा बर्सेनि केही बाँस काटेर उपभोक्तालाई दिने गरिएको समितिले स्पष्ट पारेको छ ।

सुरक्षा प्रबन्ध राम्रो भएपछि वन क्षेत्र सघन र मनोरम बन्दै गएको नगरवासी बताउँछन् । एक दशकअघि नाङ्गोडाँडा भनेर चिनिने यो वन क्षेत्रमा अहिले मयुर र अन्य चराचरुङ्गी ह्वात्तै बढेका छन् । “घर नजिकैको पाखामा मयुरका जोडी नाचेका देखिन्छ, थरिथरिका रङ्गीचङ्गी चरा फुरफुर गर्दै उडेका देखिन्छन्” वन नजिकैको बस्तीकी गृहिणी राधा गौतम भन्नुहुन्छ, “पछिल्ला केही वर्षयताका वन सुरक्षाका सकारात्मक प्रयत्नले वन क्षेत्र हराभरा भएको हो ।”

समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ । मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न सहयोग गरी रहेको समितिले जनाएको छ । गत वर्ष मात्रै प्रदेश सरकारले उपलब्ध गराएको २४ लाख ९५ हजार रकमले वन क्षेत्रका तीनवटा खोल्सीमा चेकड्याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको वन समितिकै उपभोक्ता रहनु भएका बर्दिवास–१ का वडाध्यक्ष चुडामणि पोखरेल बताउनुहुन्छ ।

“यो वन क्षेत्रभित्र पानी खोल्सी, साँपमारा र पाटा (बलवनी) समेत तीनवटा मुख्य खोल्सी छन्” वडाध्यक्ष पोखरेलले भन्नुभयो, “यी खोल्सीमा सघन बाँस रोपण, मानव प्रवेश निषेध र छहरा बाँध बनेपछि पहिरो लडेर गेग्रान (बालुढुङ्गा) बस्ती पस्न कम भएको छ ।” गत वर्ष र यसपालि धेरै पानी परेको बर्खामा यसअघिका वर्षहरुजस्तो गेग्रान पसेर घर नलडाएको पोखरेल बताउनुहुन्छ । बरु यसपालि त सबै खोल्सीमा एक दशकपछि कञ्चन पानी बगी रहेको देख्दा मन प्रफुल्लित हुने गरेको पोखरेलसहितका बर्दिवास–१ का बासिन्दा बताउँछन् ।

चिहानडाँडा वन उपभोक्ता समितिले वन क्षेत्रको सुरक्षा र सम्बद्र्धनमा नमूना काम गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीको पनि मूल्याङ्कन छ । “चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण र सम्बद्र्धनमा राम्रो चासो बढाएको छ” डिभिजन प्रमुख विनोदकुमार सिंहले भन्नुभयो, “हामीले यी सकारात्मक चासोमा सहयोग बढाएका छौं ।” समितिले सुरक्षाको प्रत्याभूति दिन थालेपछि कार्यालयले नयाँ बिरुवा रोपणका लागि मागअनुसार बिरुवा दिंदै आएको सिंह बताउनुहुन्छ ।
जिल्लामा ७० सामुदायिक वन छन् । ठाउँठाउँका वन अतिक्रमणको चपेटामा परे पनि चिहानडाँडा वन समितिको सक्रियताले यस्तो समस्या नसुनिएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । सबै सामुदायिक वन समितिले वन क्षेत्रको संरक्षण र सम्बद्र्धनमा चासो बढाए महोत्तरीको वन मुलुककै सकारात्मक उदाहरणमा उभ्याइने बन्ने वनविज्ञ बताउँछन् ।

170 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal