सिन्धुली र चितवनमा वर्षाबाट क्षति

7

बाग्मती प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले सार्वजनिक सरोकारको वक्तव्य दिँदै सिन्धुली र चितवन जिल्लामा गए रातिदेखि परेको अविरल वर्षाले पुर्याएको धनजनको क्षति र प्रभावित परिवारलाई उद्धार गरी राहत दिइएको विषयमा जानकारी दिनुभएको छ ।
उहाँले सिन्धुलीको कमलामाई नदी र चितवनको राप्ती, खैरेनी र रत्ननगर नगरपालिकाको विभिन्न क्षेत्रमा बाढीले पुर्याएको सडक तथा घरको क्षति र प्रभावित परिवारलाई प्रदेश सरकारले उद्धार र राहत उपलब्ध गराएको उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले विपद् व्यवस्थापन कार्य सुदृढ गर्न प्रदेश सरकारले तत्काल रु १० करोड रकम उपलब्ध गराएको र ती रकमबाट नदी नियन्त्रणको साथै उद्धार र राहत कार्यलाई सक्रियताका साथ परिचालन गर्न स्थानीय तह र जिल्ला प्रशासनलाई निर्देशन दिइसकिएको पनि बताउनुभयो ।
उहाँले प्रदेशको विभिन्न जिल्लामा बाढीपहिरोबाट प्रभावित धनजनको क्षतिलाई न्यूीकरण गर्न सरकारले विपद् व्यवस्थापनलाई सहजीकरण गर्न प्रदेशको १३ वटै जिल्ला प्रशासनलाई अनुदान रकम, उद्धार सामग्रीसहित जनशक्ति परिचालन गर्नेतर्फ सरकारले आफ्नो पहल जारी राखेको जानकारी दिनुभयो ।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
प्रदेशसभाका सदस्य विजय सुवेदीले प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।