मलाई पग्लिन देऊ

२०७८ असार १७, बिहीबार १३:०२
हिमालको हिउँ हूँ म

पग्लिन्छु
मैनबत्तिको मैन हूँ म
पग्लिन्छु
मलाई पग्लिन देऊ

तिमीलाई न्यानो दिने घामसँग जुध्छु
र, पग्लिन्छु
तिमीलाई उज्यालो दिने आगोसँग जुध्छु
र, पग्लिन्छु
मलाई चुपचाप चुपचाप पग्लिन देऊ

समयसँगै
मष्तिस्कबाट पग्लिँदै जान्छ महत्वकांक्षा
पाखुराबाट पग्लिँदै जान्छ जोश
हृदयबाट पग्लिँदै जान्छ आक्रोश
अनि सोच्न थाल्छ दिमागले-
यो जीवनको लक्ष्य के हो
म बाँच्नुको अर्थ के हो ?

पग्लिएपछि आँखाबाट सपना
दृश्यको सुन्दरता हराउँछ
पग्लिएपछि खुट्टाबाट सामर्थ्य
अगाडि हिड्ने गोरेटो हराउँछ
पग्लिएपछि प्रहारको सामना गर्ने छातीको हिम्मत
आफैंप्रतिको विश्वास हराउँछ
पग्लिएपछि अनुहारबाट आभा
आफ्नै अनुहार विरानो लाग्छ
यस्तोबेला एकमात्रै विकल्प बाँकी रहन्छ
उभिएकै ठाउँमा उभिइरहनु
र बिस्तारै पग्लिँदै पग्लिँदै जानु
हिमालको हिउँजस्तै
बलिरहेको मैनबत्तिको मैनजस्तै

मान्छेको आकृति
आँखाले मात्रै होइन
सपनाले पनि बनाएको हुन्छ
खुट्टाले मात्रै होइन
सामर्थ्यले पनि बनाएको हुन्छ
छातीले मात्रै होइन
हिम्मतले पनि बनाएको हुन्छ
अनुहारले मात्रै होइन
आभाले पनि बनाएको हुन्छ
जब पग्लिन्छन् यी सबै एकएक गरी
ऐना अगाडि उभिँदा पनि लाग्छ-
किन उभिइरहेछ यो कुरुप आकृति
मेरो सामुन्ने ?

सबैथोक पग्लिँदै गएपछि
आजसम्म जति भरिदिएकी थियौ
यो मुटुमा तिमीले प्रेम
त्यो पनि पग्लिँदै-पग्लिँदै जान्छ
र, एकदिन रित्तिन्छ मुटु
त्यही रित्तो मुटु लिएर
म पनि पग्लिन्छु
मलाई पग्लिन देऊ

एकदिन
हामीले आर्जेको यो ज्ञानको उज्यालो जो छ
पग्लिन्छ
हामीले नापेको ब्रह्माण्डको बिस्तार जो छ
त्यो पनि पग्लिन्छ
अनेकन तारामण्डलमा छरिएर
पृथ्वी चिहाउन आउने ताराहरु पग्लिन्छन्
बल्दाबल्दैका तारा पग्लिएर बन्ने
ती ब्ल्याकहोल पनि पग्लिन्छन्

त्यसैले,
घामसँग जुधेर बन्नुभन्दा प्रचण्ड गर्मी
आगोसँग जुधेर बन्नुभन्दा उग्रज्वाला
पोल्नुभन्दा कसैको अस्तित्वको संवेदनशीलता
जलाउनुभन्दा कसैको अहम्‌को आवरण
स्वीकार गरेर आफ्नो पराजय
चुपचाप चुपचाप पग्लिन चाहन्छु

बिसाएर यो गोलो शीरभित्रका अनेक बोझ
कतै सुदुरको एकान्तमा
कुनै मौन सन्नाटामा
म पनि पग्लिन चाहन्छु
बस्, मलाई पग्लिन देऊ

हिमालको हिउँ म
पग्लिन्छु
मैनबत्तिको मैन हुँ म
पग्लिन्छु
मलाई पग्लिन देऊ।

198 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal