कहाँ दुख्छ घाउ?

महेश पौड्याल

948

असार महिना बिदा भएर साउन लागिसकेको छ । नेपाली साहित्यका प्रेमीहरूका लागि असार सम्झनाको महिना हो — पोल्टाभरि लिएर आउँछ अतीतका धेरै मृदु सम्झनाहरू । प्रज्ञाप्रतिष्ठानको स्थापना र राष्ट्रिय कविता महोत्सव, भानुभक्त आचार्यको जयन्ती, आसर पन्ध्रको महामण्डल साहित्यक यात्रा र सम्मान अर्पण, अनि अनेकानेक त्यस्ता साहित्यक अनुष्ठानहरू, जो असारमा निरन्तर परिरहने वर्षाको मुच्र्छनासँग हामीलाई छुन आउँछन्, र हल्लाएर जान्छन् । यी देशै हल्लाएर जाने उत्सवमा सबै तल्लिन भइरहँदा घामपानी झेल्दै बागबजार–अनामनगरका सडक र गल्लीहरूमा मैले भर्खरै एक जना तन्नेरी कवि पुरु लमशालाई भेटेँ, जो असारमा सुटुक्क आएर जाने अर्को एउटा मितिलाई सूनका अक्षरले लेख्ने अभिष्ट बोकेर हिँडिरहेका थिए, हरिभक्त कटुवालको बृत्तचित्र बनाउन । धेरैले छोडेको नाम, दौँतरीहरूले बिटुल्याएको नाम, र देशले एक प्रकार तिरस्कृत गरेको नाम हरिभक्त कटुवाल उनको मनमस्तिष्कमा थियो र उनी भनिरहेका थिए, म रक्स्याहा हरिभक्त कटुवालको बर्कोमुनि कतै ओझेल पर्न पुगेको सर्जक हरिभक्त कटुवाललाई देशले चिनोस् भन्ठान्छु ।
हो, यसै असारको मुटुमै आउँदोरहेछ अर्को एउटा बेनाम दिन, जो साँझको घामजस्तै क्यालेण्डरको फगत अर्को एउटा मिति चिप्लिएसँगै चिप्लिन्छ र हराउँछ । हो, असार १८ को त्यो दिन, जुन दिन पीडाको सबैभन्दा मृदु उत्सव मनाउने नेपाली गीतकार र कवि हरिभक्त कटुवाल जन्मिएका थिए । देशबाट हारेर मृत्युउद्यानतिर स्वतस्फूर्त लागेका कटुवालका लागि देशले उनलाई यसरी बिर्सिएको कुरा कुनै नयाँ कुरा सायद होइन, तर उनका थर्थराइरहेका ओठबाट मोती बनेर झरेका ती स्वर्णीम गीतहरू सुनेर जीवनलाई चिन्ने हराजौँ नेपालीहरूका लागि यो राष्ट्रिय लज्जाको विषय हो ।

हुन त कसरी पो सम्झियोस् देशको कनिष्ट पुस्ताले कटुवाललाई ? भानुभक्तलाई सम्झना भानु जयन्ती हुन्छ, उनको सालिक छ, उनका नाउँमा विद्यालय र पार्कहरू छन् । उसनका सन्तान यतै छन्, श्राद्ध गरिरहन्छन्, सम्झाइरहन्छन् । देवकोटाका नाममा त केके छन् केके, अनि नयाँ नयाँ कुरा निर्माण गरिहरहने आफन्तहरू छन् । तर हरिभक्त? न कुनै सडक उनको नाउँमा देखियो, न कुनै अध्ययन केन्द्र, न प्रतिष्ठान, न पुरस्कार, न उद्यान, न बगैँचा, न हुलाक टिकट, न कुनै सालिक! र अहिले गएर, उनका हृदयविदारक गीतको एकाध पारखीको सम्झनामा बाहेक उनको नाउँ पनि बिलाउँदै गएको छ । एउटा स्मृतिग्रन्थ, र एकाध पत्रिकाका विशेषाङ्कबाहेक हरिभक्त कटुवाललाई हामीले हाम्रा सम्झनाका किस्तीभित्र अटाउन किन नसकेको होला? हरिभक्त, तिम्रो मृत्युअघिको जिन्दगी र तिम्रो मृत्युपछिको सम्झना तिम्रै गीतजस्तो बनेको छ — मलाई नसोध कहाँ दुख्छ घाउ । म जे छु, ठीकै छु, बिथोल्न नआऊ ।

नेपालका लागि हरिभक्त कटुवाल त्यो तारा हो, जसको उज्यालोमा गीत भर्न र रातरातभरि पालम नाच्न सक्तछ देश, तर हत्केलामै खस्यो त्यो तारा भने त्यसलाई थेग्न सक्ने हत्केलो देशसँग छैन । नेपालका लागि हरिभक्त पीडाको त्यो प्रहशन हो, जो रङ्मञ्चको नायकमा देखिँदासम्म “मनोरञ्जन” को एउटा मर्मभेदी दृश्य बनिरहन्छ, तर जब त्यो जिन्दगीमै खस्छ, त्यसलाई थेग्न नसकेर आँखा बन्द गरिदिन्छ । नेपाली साहित्यका लागि हरिभक्त कटुवाल त्यो कोइला हो, जसको कालो सबैले देखे, तर त्यो आफैँ जलेर भर्भराउँदो उज्याले छर्न थालेपछि सबै निदाए । हो, हरिभक्त कटुवाल नेपालको छातीभत्रिको त्यो दुखिरहने घाउ हो, जो घरिघरि बल्झिरहन्छ, र सम्झाइरहन्छ हामीलाई कि निष्ठुर हुनुको पनि एउटा सीमा हुन्छ । सडक र गल्लीहरूले चिनेको नाम, भट्टी पसल र सस्ता शराबीहरूले पुजेको नाम, एक बदनाम प्यारो हरिभक्त कटुवाल नेपाली साहित्य आकाशमा कहिल्यै अस्ताउने त्यो सूर्य हो, जसको तेजस्वी उज्यालोलाई थेग्न नसकी देशले धेरै मोडहरूमा आँखा चिम्लिएको थियो । हरिभक्तको नाम जोन किट्स र पीबी सेली र एडगार्ड एलन पोको उचाइँको नाम हो ।

असमको बर्डबिल ख्वाङ् गेर्गेरीमा जन्मिएका हरिभक्तलाई नेपाल बोलाउने नामहरू भने चान्चुने नाम होइनन् । स्वयं महाराजधिराज महेन्द्रबाट निगाह भै बस्केको हो । पछि, महान कविहृदय र राजनैतिक व्यक्तित्व केदारमान व्यथितको प्रत्यक्ष निम्ता पनि हरिभक्तले नापएका कहाँ हुन् र? तर एउटा कवि र गीतकार —र कविता र गीतसँगै हुर्किएको अलिकित स्वाभिमान र प्रेम चेतना — अहँ, यी दरवारहरूका वरिपरि आफूलाई फुलाउन सकेन, र पुनः धुलोमै फर्कियो र वैलायो एउटा अजम्मरी फूल । यसरी गरेका थिए उनले आफ्नै मूल्याङ्कन्ः

चैतको एउटा हुरी मात्र
बस, त्यत्ति
बिजुलीको
एउटा चम्काइमा
त्यत्ति ।

नेपालको सिर्जना–आकाशका धेरै ठूला ताराहरू — लैनसिँह बाँग्देल, नारायण गोपाल, भूपी शेरचन, मोहन हिमांशु थापा, नगेन्द्रराज शर्मा, कृष्णचन्द्रसिँह प्रधान — र धेरै अन्य नामहरू जोडिए हरिभक्तको जीवनसँग, तर उनीभित्रको पीडा उत्सव र घाउ उत्सवको प्रारब्ध ज्युँका त्युँ नै रहिरह्यो सधैँभरि र एक्लै एक्लै, अँध्यारा रातहरूमा उनी गाइरहे बिरह गीत ।

हरिभक्त कटुवालको उपेक्षा नेपाली गीतको त्यस स्वर्णीम युगको उपेक्षा हो, जसले नारायण गोपलालाई स्थापित गरिदियो । “मलाई नसोध कहाँ दुख्छ घाऊ,” “मेरो यो गीतमा जो मुच्र्छना छ,” “पोखिएर घामको झुल्कोभरि सँघारैमा” जस्ता कालजयी गीत उनकै कलमले दिएको हो यो देशलाई, जसलाई आफ्नो अलौकिक गलाको मुच्र्छनाले नारायण गोपालले अजम्मरी बनाइदिए । केही समय पछिका लोकप्रिय गीत “डाली डाली फूल फुल्यो” र “यो दुई थोपा आँसु” हरिभक्तकै देन हुन् । अनेकन भजन र बालगीत पनि त उनको अमरत्वको साक्षी हुँदैहुन् ।

हरिभक्तको असमबाट काठमाडाँै यात्रा, काठमाडौँको कहालीलाग्दो भोकयुद्ध र अपमान, मदिरा काण्ड र असम वापसी, र अकाल मृत्यु सबै सबै एक पराजयको इतिहासका खण्डहरू हुन्, जसले अरु खै केके ग¥यो केके, तर हामीबीचबाट, हामीले चिन्नै नपई, एउटा युग चुँडेर लग्यो, र हाम्रो छातीमा कहिल्यै निको नहुने खाल्को एउटा ग्लानिको घाउ छोडेर गयो ।

हरिभक्तको स्मरण मूलतः उनको साहित्यक व्यक्तित्वको स्मरण नै हो । उनका यो जिन्दगी खै के जिन्दगी, पूर्वकिरण, भित्री मान्छे बोल्न खोज्छ (कवितासब्ग्रह), बदनाम मेरा आँखाहरू (कविता र गीतसब्ग्रह), सुधा (खण्डकाव्य), स्पष्टीकरण, ऐतिहासिक कथासङ्ग्रह (कथासङ्ग्रह), सम्झना (गीत सङ्ग्रह), म मरेको छैन (नाटक) प्रकाशित छन भने उनले अभिव्यक्ति, बान्की, मुक्ति, हिमालय, प्रज्ञा, हिमानी, सङ्गीतसरिता जस्ता लोकप्रिय पत्रिकोको सम्पादन पनि गरेका थिए । मूलतः कवि र गीतकारको रुपमा परिरचि हरिभक्त कटुवाल सोच्थे, “कुनै परिभाषा, मान्यता अथवा वादलाई अघि राखेर मैले कविता कहिल्यै लेखिनँ । जिन्दगी जिउने क्रममा आइपरेका मधुर क्षणहरूलाई समात्ने प्रयास मात्र गरेको छु जो कतै बारुद गनाएका छन् त कतै फूल मगमगाएका छन् ।”

तर हरिभक्त यतिमात्रै होइनन् । उनी अरु पनि केही हुन्, जुन सायद नेपाली साहित्यका पारखीले कहिल्यै थाह नपाउने एउटा रहस्य पनि हुन् । जानकारहरू भन्छन्, उनीसँग एउटा रातो डायरी थियो, जसमा उनले जीवनका अनमोल सिर्जनाहरू राखेका थिए । उनको परिवारको श्रोत भन्छ, उनले काठमाडौँ छोडर जाने दिनको अघिल्लो रात, उनको पुतलीसडकस्थित डेराबाट रहस्यमय रुपमा त्यो डायरी हरायो, र आजपर्यन्त फेला पर्न सकेको छैन । कसले जमायो त्यस डायरीमा डेरा, र यदि छापिँदैछन् भने कसका नाउँबाट छापिँदैछन् त्यसभित्रका रचनाहरू — त्यो अहिलेसम्म यकिन भन्न सकिएको छैन ।

हरिभक्तका समकालीन, दौँतरी र साथीभाईहरूमध्ये धेरैजसो उनको रक्स्याहा व्यक्तित्व सम्झन्छन्, र किस्साहरू जोडेर थाक्दैनन् । म ठान्छु, त्यो हामीबीचबाट छुटेर गइसकेको पाटो हो, जसको अहिले कुनै पनि उपादेयता छैन । हामीसँग अहिले जे छ, त्यैभित्र खोजिनुपर्छ कटुवाललाई — उनले हाम्रा ओठभरि छोडेर गएका गीत, पानाभरि पोखेका कविता, र उनले सम्पादन गरेका अनेक कृति, यदाकदा आवरणहरूमा पाइने उनले गरेको कलाकृति, उनका नाटक र कथाहरू, बस् ! म विशेष गरी पछिल्लो पुस्ताका पाठक र साहित्य प्रेमीहरूलाई भन्छु — यौन, र एक समयमा कुनै न कुनै प्रकारको दुव्र्यसन्को कथा नबोकेको मान्छे हुँदैन । कोही हाकाहाकी देखिन्छन्, देखाउँछन् । धेरैजसो छलछाम गर्छन् र छद्मभेषी भएर आदर्श छाँट्छन् ।

व्यक्तिका — विषेश गरी दिवंगत गएपछि — यस्ता व्यक्तिगत पाटातिर अल्झिरहनु समय खेर फाल्नु हो । उसले छोडेर गएको कृति, र त्यसको उचाइ नै त्यस व्यक्तिको उचाइ नाप्ने कसी हो । हरिभक्त उनको सिर्जनाले हरिभक्त भएका हुन्, तिनीहरूकै गरिहाइमा डुबेर हरिभक्तलाई खोजिनुपर्छ । हरिभक्तबारे व्यक्तिगत रिसिबीका आधारमा नकारात्मक कुरा गर्ने धेरै भेटिन्छन् । उनको जीवनका अँध्यारा पाटाको साक्षी पनि भट्टीबाट उनी सँगै निस्किएर आज बर्बरिक बनेर बसिरहेका छन् उनको महाभारत भन्न । तर उनी त आकाशका तारा भैसके, जसको हामीले देख्न सक्ने भनेको उज्यालोमात्रै हो । हरिभक्तबारे हामीले नवीन दृष्टिविन्दु बनाउनुपर्छ, र उनका समकालिन र भट्टीका साथीहरूले उनको अनुहारमा पोतिदिएको कलङ्कको मोसोलाई प्रेमका आँसुले धोइदिनुपर्छ । युवा कवि पुरु लमशालले उनको बारेमा बनाएको डोकुमेन्ट्री “अनि हरिभक्त फर्किएनन्” ले हाम्रा लागि हरिभक्त अध्ययनका लागि अनेकानेक सकारात्मक आयामहरू खोलिदिन पनि सक्छ । यत्ति भैदिए बस, हरिभक्त जो कहिल्यै नर्फने गरी गए हामीबीचबाट, हाम्रा मृदु सम्झनाहरूमा फर्किरहन्थे, बारम्बार । यत्ति मात्रै भैदिए बस्, उनलाई कवि हुनुमा कुनै ग्लानिबोध हुनेथिएन फेरि, र सायद कहिल्यै भन्ने थिएनन् ः

जाती हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए,
मेरो देशको एउटा घरमा एक रात एक छाक बल्न सक्थेँ
एउटा वृद्धको खिन्न अनुहार केही इण उज्यालो पार्न सक्थेँ

Facebook Comments Box