जानुकाको तीज गीत ‘मरिन्छ कि साइलो’ बजारमा

6
काठमाडौँ १६ असार : जानुका तामाङको तीज गीत ‘मरिन्छ कि साइलो’ बजारमा आएको छ । कोरोना भाइरसले निम्त्याएको सङ्कटले दुःखी गरीबलाई चुलो बाल्नसमेत समस्या परेको विषयमा आधारित रहेर गीत तयार पारिएको छ । गीतमा खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्री, राधिका हमाल र खुमन अधिकारीको स्वर रहेको छ । शब्द सिर्जना नेत्र आर्यालले गर्नुभएको छ भने सङ्गीत सेन्चुरीको रहेको छ ।

 

गीतको म्युजिक एरेञ्ज विनोद बाजुरालीले गर्नुभएको छ भने भिडियो निर्देशन प्रकाश भट्टले गर्नुभएको छ । भिडियोमा सबै गायकगायिकाले अभिनय गरेका छन् । सेन्चुरीले सङ्गीत गरेका गीतले पछिल्लो समय निकै चर्चा पाउन थालेका छन् । गत वर्ष उहाँकै स्वर तथा सङ्गीत, अर्यालको शब्दमा बजारमा आएको शम्भु कुँवरको तीज गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ ले युट्युबमा एक करोड ३३ लाखभन्दा बढी भिउज बटुलेको छ ।

 

सेन्चुरीको सङगीत, स्वर रहेको गीत ‘झ्यालमा पर्दा पर्दा छ’ ले एक करोड ६५ लाख धेरै भिउज पाएको छ । उहाँले सङ्गीत रहेको अर्को गीत ‘चिया छानेको’ले एक करोड ७६ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेका सबैजसो गीत चर्चामा छन् ।