पहिरोका कारण मनाङमा सडक ठप्प

२०७८ असार १६, बुधबार १२:२८

वर्षापछि आएको पहिरोका कारण झण्डै २ हप्तादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ।

पैंसठ्ठी किलोमिटर लम्बाइको लमजुङको बेंसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किलोमिटरसम्म मात्रै खुलाइएको छ ।

मनाङ जिल्लाको सिमानासम्म पुग्न अझै झण्डै १३ किलोमिटर सडक खुलाउन बाँकी रहेको डुम्रे–बेंसीशहर–चामे सडक योजनाले जनाएको छ ।

अबको १ हप्तामा नै सडक खुलाइसक्ने गरी काम भइरहको योजनाका प्रमुख अमितकुमार श्रेष्ठले बताए। उनका अनुसार मानिसलाई हिँड्न समेत बाटो नभएर झुण्डिएर यात्रा गर्नुपरेकाले पहिले मानिस हिँड्न सक्ने सडक बनाउन लागिएको छ ।

उनले भने, ‘मान्छेहरू सजिलै आउन र जान सक्ने गराउन लागिएको छ ।’

बेंसीशहरबाट माथि २२ किलोमिटर सडक खुलाइएकामा अहिले त्यहाँबाट अघि बढिरहको प्रमुख श्रेष्ठले बताए । अहिले बेंसीशहरतर्फबाट मात्र सडक खुलाइएकामा चामेबाट तल खुलाउनका लागि अनुरोध गरेर पत्र सडक विभाग पठाइएको उनले बताए ।

अहिले १ हप्तामा मनाङको सीमासम्म पहिरो हटाउने गरी अवरुद्ध सडक खुलाइँदै आएको छ । सीमासम्म पुग्न मात्रै १३ किमी बाँकी भए पनि रामबजारमा झण्डै ६०/६५ मिटर सडक भासिएको छ । उनले भने, ‘त्यसले बढी समय लिने देखिएको छ ।’

सडकको ट्रयाक बगाएकामा त्यो छाडेर अर्काे ठाउँबाट नयाँ ट्रयाक खोल्नुपर्ने योजनाले जनाएको छ । त्यो ठाउँमा चट्टानका कारणले नयाँ ट्रयाक खोल्न पनि चुनौती रहेको छ । २ हप्ता पहिलेदेखि नै बेंसीशहर र चामे आउजाउ छैन । कतिपय व्यक्ति चामेबाट झुण्डिएर आए पनि आएका व्यक्ति फर्किन नसकेको प्रमुख श्रेष्ठले बताए ।

पैदलयात्री समेत हिँड्न गाह्रो भएकाले पहिले चामेबाट सजिलोसँग हिँड्न सकिने गरी खुलाउन लागिएको छ । पैदालयात्रु हिँड्न सक्ने भएमा त्यो बाटो भारी बोकेर हिँड्न वा गधाले भारी बोकेर हिँड्न सक्ने उनले बताए । मानिस र गधा हिँड्न सक्ने भएमा अत्यावश्यक सामान लैजान सकिने उनले बताए ।

सडक सबैतिर क्षतिग्रस्त भएकाले पहिरोे पन्छाउने काम बेंसीशहरबाट नै शुरू गरिएको छ । अहिलेसम्म २२ किलोमिटरबाट अघि बढ्न नसकिएकाले मनाङसम्म कति क्षति भयो यकिन नभएको प्रमुख श्रेष्ठले बताए । १ हप्तामा मनाङ सीमा पुगेमा पनि कति क्षति छ भन्ने प्रस्ट हुने उनको भनाइ छ ।

उनले भने, ‘हामी आफैं सडक खोलिएको ठाउँभन्दा अघि जान नसकेकाले कति क्षति भयो भनी यकिन छैन ।’

125 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal