अनुभव, अनुभूति र स्वीकारोक्ति

जनक कार्की

17

म जन्मिएको वस्तीमा दलितको वस्ती बाक्लै थियो । मेरो गुच्छा खेल्ने उमेर देखिकै लगोंटिया यारमा दलित् थुप्रै छन् । उनीहरुसँग मेरो सद्भाव उच्च छ । वाल्यकालको एउटा घटना सम्झिन्छु । विहेको भोज थियो । भतेर गर्ने ठाउँ दुईवटा थियो । एकतिर मेरा दलित साथीभाइहरुका परिवार भोज खाँदै थिए भने अर्को भतेरमा उच्च भनाउँदा जातिको भोज चल्दै थियो । मेरा साथी दलित पक्षका धेरै भएकोले म पनि भोज खान त्यतै लागेँ । त्यतिबेला मलाई रोकियो । मैले जिद्दी गरें यहि खान्छु भनेर , मलाई यहाँ मीठो खाना हुन्न, तल्ला जातिको लागि हो भनियो । यसरी बाल मनोबिज्ञानमा जातीय भेदभावको अमर्यादित परम्परा लादियो । त्यस्तै हाम्रै छिमेकका एकजना विद्युतका कर्मचारीले कार्यालयको भोजमा दलित कर्मचारीलाई अलग बसालेर खाना खुवाउँदा भएको विद्रोहले धन्नै उनको जागिर चैट भएको पनि घटना छ । उनले सबै दलितसामु माफी मागे पछि उनको जागिर बचेको घटना पनि ताजै छ । दलितले कथित्  उच्च भनिएका जातिको घरमा गएर पानी खाए पछि गिलास आफैं सफा गरेर घाममा सुकाएर सुन पानीले सफा गरेको घटनाको पनि यी आँखा साक्षी छ्न् । दलितलाई भान्सामा प्रवेश गर्न अझै पनि मनाही छ हाम्रो समाजमा । घर भाडामा दिँदा दलित हो भने कोठा खाली छैन भन्ने कुरा पनि देखेकै हो । भेदभावको यस्तै शृङ्खलाहरुको साक्षी म पनि हो । मलाई समाजले उच्च जाति भनेर नाम दिएपनि मैले चाहिँ दलित भएकै कारण अहिलेसम्म यस्ता भेदभाव गरेको छैन । र मेरो पुस्तादेखि यी सबै कुरीतिलाई परास्त गर्ने प्रण पनि गरेको छु ।

जनक कार्की
तानसेन पाल्पा।