मैले भेटेको अधिकृत

उमेश अवस्थी ‘आदर्श’

म बेलाबेलामा सम्झिरहन्छु । उहाँले बोल्नु भएका शब्दहरू । मलाई प्राय: गरी उहाँले गर्नु भएको ब्रिफिङको निकै याद आउने गर्दछ । हरेक ठाउँमा म जब प्रहरी देख्छु प्रहरी देख्ने बित्तिकै मलाई उहाँकै याद आउँछ । उसो त हाकिमको याद आउनु स्वभाविक नै हो त्यैपनि मलाई उहाँको याद आउँदा उहाँ हाकिम हो जस्तो लाग्दैन् । उहाँ नायक हो जस्तो लाग्छ । चलचित्रहरूमा देखेको थिए प्रहरीका नायकहरू । तर केही वर्ष अगाडि मैले प्रत्यक्ष आफ्नै आँखाले नायक देख्न पाए । यो मेरा लागि सौभाग्यको कुरा थियो ।

दुबैको लागि नयाँ कार्यक्षेत्र जस्तै थियो । उहाँ हाकिम भएर आउनु भएको थियो । म सामान्य कर्मचारी भएर । उहाँ हाकिम हुनुहुन्थ्यो दर्जाले । तर व्यवहारले भगवान । र कामले नायक । मेरा लागि यो भन्दा ठुलो सौभाग्य के हुन सक्थ्यो र ? एक भगवान् रुपी नायकको मातहतमा रहेर काम गर्ने अवसर प्राप्त भयो । कुनैपनि हालतमा प्रहरी बन्ने मनसाय नभएको म मान्छे जीवनमा पहिलो पटक प्रहरी हुन पाउनु सौभाग्यको कुरा रहेछ लाग्यो । भन्दा आश्चर्य चकित लाग्ला । कुनैपनि संस्थाको तल्लो दर्जामा जागिरी खाने मान्छे गरिबको छोरो । आर्थिक अवस्था कमजोर भएको मान्छे नै हो । परिवारको आर्थिक अवस्थाको टकरावले मैले पनि आफ्नो पढाईलाई चट्ट बाधी प्रहरीमा जागिरी गर्न भनि भर्ना भए । ठीकै भयो । भर्ना हुन गएकै पटक पास भए र जागिरी सुरु भयो ।

लामो समयको कठोर तालिम पश्चात् पहिलो पटक जोतेर खोलेको गोरुजस्तै भएको थिए । पहिलो दरबन्दी नै मेरो बाजुरामा थियो । बाजुरामै उहाँसँग भेट भयो । उहाँले मलाई कुन दिन देखि चिन्नु भयो त्यो मलाई थाहा छैन् मैले भने उहाँलाई सरुवा भएर आएकै दिन चिनेको हुँ । अँ! २०७६ पुस मसान्तको दिन । मेरो जीवनको मोहडा परिवर्तन भएको दिन । सोही दिन रोलकलको कुरा हो । रोलकलमा उहाँले केही शर्तहरू राख्नु भयो उक्त शर्तहरू पूरा गर्न सक्ने व्यक्ति चाहियो भन्नु भयो । रोलकलमा सामेल हुनु भएका केही जुनियर प्रहरी अधिकृतहरूले मेरो नाम लिनु भयो । मलाई उहाँले आफ्नो कार्यकक्षमा बोलाउनु भयो । मनमा डरको पहाड बोकेर खुट्टा कमाउँदै म उहाँको कार्यकक्ष सम्म पुगे । बाहिरी मुखले केही भन्न नसकेपनि मेरो मनभरी डरले पानीका फोकाझैं फोकाहरू उठी रहेका थिए । कार्यकक्षमा पुगेर सलाम गरे उहाँले भन्नु भयो सलाम जतिबेला नि गरीरहनु पर्दैन् सलाम भनेको दिनमा एकपटक गर्ने हो जो हाकिम भएपनि । हाकिमको अगाडि उभिएको हुनाले मेरो छाती खुम्चिएको थियो । उहाँले रातो अनुहार लगाउँदै भन्नु भयो छाती खुम्च्याएर हैन खोलेर हिड्नु पर्छ । मैले भुईमा हेरिरहेको थिए फेरि उहाँ बोल्नु भयो भुईमा हैन आँखामा आँखा जुधाएर बोल । यतिबेला सम्म म कुनैपनि हाकिमको अगाडि यसरी उभीएको थिएन । र मलाई मेरा कुनै पनि हाकिमले तिमी सम्म भनेर पनि मलाई बोलाएका थिएनन् बोलाएका थिए त केवल त भनेर । तर पहिलो पटक हाकिमले तिमी भनेर बोलाउनु भयो । मेरो होस उड्यो । मलाई के भयो थाहा थिएन । एकाएक घुमे जस्तो लाग्यो । म सोचि रहेको थिए । फेरि हाकिमले सोध्नु भयो के सोचेर बसेको ? । जवाफमा भने केही हैन सर । फेरि सोध्नु भयो खाना खायौ ? जवाफमा भने खाए सर । साँझ ५:३० भएको थियो । खाना खाएको थिएन त्यैपनि पुलिसको जागिरी खाएको छैन् भन्न पनि नमिल्ने । उहाँले भन्नु भयो । ल त्यसोभए ठिक छ । काम गर्न त सक्छौ नि तिमी ? जवाफमा भने सर सक्छु । पुलिसको जागिरी हो साथी सक्दिन भन्न पनि मिल्दैन । मनमा ठुलो डर थियो । काम गर्दा कतै बिग्रिई हाल्यो भने हाकिमले के भन्लान भनेर ? त्यैपनि मनलाई बाधे र काम गर्ने प्रयास गरिरहे । आजको भन्दा भोली राम्रो भोलीको भन्दा पर्सी राम्रो गर्दै गए । म प्रत्येक दिन स्यावासीको पात्र बनि रहे । म स्यावासीको पात्र बनिरहदा मेरा सहकर्मीलाई गाह्रो हुदो रहेछ । पुलिसको जागिरी त्यस्तै हो लाग्यो । कुरा मात्र काट्छन लाग्न थालिसकेको थियो । मनलाई जसोतसो बाधेर काम गर्नु परिरहेको थियो त्यैपनि म खुसी नै थिए । भित्र जे जसो भएपनि बाहिरी समाजको हेर्ने नजरमा भने हामी ठुला मानिस थियौ । अर्थात बुझेका मानिस ।

तोकिएको जिम्मेवारी कुशलता पूर्वक निभाएकाले मैले हाकिमको स्यावासी पाउनु स्वभाविक हो लाग्थ्यो तर सहकर्मीहरूले दिन प्रतिदिन कुरा झन् झन् काट्न थालिसकेका थिए । म यी कुराहरूले मलाई कुनै असर नपरोस् भनेर योग ध्यान गर्न थालिसकेको थिए । हुदाँ हुदाँ मलाई आर्यघाटतिर गएर बस्न मन हुन थालिसकेको थियो । जागिर छोडौ छोडौ लागिरहेको थियो तर पनि तिनै हाकिमको काम गर्ने तरिकाले मलाई जागिरतर्फ लोभ्याई रह्यो । हुन पनि प्रहरीको छवी पहिलो भन्दा धेरै राम्रो भएको थियो त्यो जिल्लामा । सबैले सम्मान गर्न थालिसकेका थिए । कोही प्रहरी कर्मचारी बजार गए भने पनि नागरिकले फलानो हाकिम आयो जाडरक्सी नखानुस भन्थे । हुँदा हुँदा बजार शान्त बन्दै गयो सहर हुँदै गाउँसम्म सबै ठाउँमा प्रहरीको प्रभाव पर्दै गयो । हरेक दिन जनचेतनामुलक कुराहरू मैले पनि रेडियोबाट बोलिरहे ।

गाउँमा जादा हाकिमलाई हाम्रो भगवान् आयो भनेर धेरै जसोले फूलमाला लगाई खादा ओढाई सम्मान गरिरहेका थिए । ती हाकिमले अरू त्यस्तो त कुनै काम गरेका होईनन् उनले गरेका हुन त केवल कानुनको कार्यान्वयन र त्रुटीरहित ढङ्गले आफ्नो कार्य सम्पादन । कोही कोही मान्छे आफ्नो कार्य मात्र गर्दा पनि यसरी भगवान् को रूपमा पुग्ने गर्दछन् । उहाँ स्वयंम प्रत्येक गाउँ गाउँमा पुग्नु हुन्थ्यो । बाजुरा जिल्लाका सबै भेगमा पुगेका उहाँ । उहाँ बाजुरा जिल्लामा पुगेपछि नै पहिलो पटक अम्लिस गाउँमा २०७६ पुस ४ गते प्रहरी पुग्यो रे । गाउँलेले पहिलो पटक देखेछन् प्रहरी । प्रहरी देख्दा कोही खुसीले गदगद भए त कोही डराएर भागे पनि ।
उहाँ गाउँमा मात्र पुगेनन् । उहाँ भ्रष्टहरूलाई कारवाही गर्न देखि कानुन कार्यान्वयन गर्न सम्म हरपल लागिरहे । जाड खादै तास खेल्दै गरेको अवस्थामा उहाँले वडा अध्यक्षलाई पटक-पटक हतकडी लगाउनु भयो । जाड खाएरै सार्वजनिक स्थलमा हिडेको र होहल्ला गरेको भनि नगरपालिका प्रमुखलाई(मेयर) उहाँले शक्त चेतावनी दिई छोड्नु भएको थियो । यतिमात्र होईन । सुदूर पश्चिममा जरा गाडेर बसेको छाउपडी प्रथाको अन्त्य गर्नको लागि उहाँले बाजुरा जिल्लामै करिब सात सय भन्दा बढी छाउपडी गोठ भत्काउन लगाउनु भयो । भत्काउने कामको सुरुवात उहाँले नै गर्नु भएको थियो । सोही वर्ष पुस २४ गते राति बुढीनन्दा नगरपालिका वडा न १ को अंगुवापानीको भूगेचौरमा एक छाउगोठमा आगोले निस्वासियर एक महिला र निज महिलाका दुई बालकको मृत्यू भएको थियो । यहीँ घटनाबाट प्रभावित भई अब कसैले पनि यसरी ज्यान गुमाउने अवस्था नआओस् भनि छाउगोठ भत्काउने अभियानको सुरुवात गर्नु भएको थियो । उहाँले सुरुवात गर्नु भएको अभियानबाट प्रभावित भई २०७७-७८ सालमा अन्य सुदूरका सबै जिल्लाहरूमा छाउगोठ भत्काउने अभियान चल्यो । उहाँले २०७६ मै गाँजा र भाङ फडानी अभियानको पनि सुरुवात गर्नु भयो जसको सिको आज देशभर चलिरहेकै छ ।

प्रहरी हिरो हो । प्रहरीको हिरोको झैं हिरो एक्सन हुनुपर्छ भन्ने उहाँको भावनाले मलाई सक्कली पुलिस बनाई छाड्यो । म मात्र हैन म जस्तै तल्लो तहका थुप्रै कर्मचारीहरूले उहाँलाई प्रत्येक पलमा सम्झिरहन्छौ । उहाँको प्रत्येक शब्दबाट कवितालाई आकार दिने सुरुवात गरेको म आज कवितासँगै कथा समेत लेख्ने भईसकेको छु । उहाँ को हो ? उहाँ के हो ? उहाँको हैसियत के छ ? उहाँको क्षमता के हो ? उहाँमा बौद्धिकता कति छ ? यी कुराहरू त मलाई केही पनि थाहा छैन् तर उहाँमा भएको भावना र उहाँको नामले मात्र म उहाँलाई चिन्दछु । राम्रो मान्छेलाई चिन्न धेरै कुरा नचाहिदो रहेछ । राम्रो मान्छेलाई चिन्न निज मान्छेको नाम र भावना चिने पुग्दो रहेछ । यत्रो वर्षसम्म आमाबाले हुर्काउनु भयो बढाउनु भयो । आमाबाबाट आशिर्वाद लिएर टाढा जाँदा कहिल्यै रोएन रोए भने पनि क्षणिक रुपमा रोए तर ती हाकिम सरुवा हुँदा मेरो मनमा पुगेको चोटले म आज सम्म रोईरहेको छु । जब जब उहाँको नाम लिन्छु तब तब मेरो छाती चौडा भएर आउँछ । मेरो मात्र हैन म जस्तै तल्लो दर्जामा बसेर काम गरिरहेका धेरैको छाती उहाँको नाम सँगै जोडिएको छ । टक टक टक नायक हिडे जस्तै उहाँको हिडाई । जतिसुकै ठुलो मान्छेसँग भेट भएपनि पहाड जस्तै छाती खोलेर आँखामा आँखा जुधाई बोल्ने उहाँको बोलाई । बाहिरबाट कुनै पनि मानिसले प्रहरी कर्मचारीलाई हेप्दा पिल्लरझैं उभिई आफ्नो कर्मचारीलाई ओत दिने उहाँको साहसी पन । भित्र भित्रै कुनै सदस्यले उफ्रिन खोजे उसको टाउँको ठोकेर ठिक ठाउँमा राख्न सक्ने उहाँको खुवीपन । यी सबै सबै सम्झिदा त उहाँ पो प्रहरी । अरू त के प्रहरी ?
प्रत्येक शुक्रबार उहाँले गर्ने सांस्कृतिक कार्यक्रम । उहाँको नचाई । यी कुराहरू त मेरो जीवनमा यादगार बनेर रहे । बिरलै हुन्छ होला यस्ता मान्छेहरू । बिरलै भेटिन्छन् होला प्रहरीमा यस्ता हाकिमहरू । जो हाकिम जीवनभर यादगार बनेर बस्दछन् । प्रहरीको लागि मात्र होईनन् नागरिकको लागि पनि यादगार हुन्छन् यस्ता हाकिमहरू ।

एक पाटीको जिल्ला कमिटि अध्यक्षले प्रहरीलाई यसरी चलाउनुस भन्दा प्रहरीलाई कसरी चलाउनु पर्छ त्यो बारे मैले तालिम लिएको छु । तपाईँले मलाई सिकाउन जरूरी छैन् सिकाउनु नै हुन्छ भने सभ्य समाजको निर्माण गर्ने हाम्रो अभियानलाई सफल पार्न सबै दाजुभाईलाई प्रहरीलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुस् गाउँ गाउँमा गएर झै-झगडा नगर्ने जाड रक्सी नखाने जुवातास नखेल्नुपर्ने कुराहरू सिकाउनुस् । उहाँले ती अध्यक्षलाई दिनु भएको यो जवाफले मेरो छातीको सगरमाथाले दुई इन्च आफ्नो उचाइँ बढायो । अँ ! एकदिनको कुरा हो जिल्ला भरिमा रक्सी खाई होहल्ला गर्ने करिब डेढ सय जना पक्राउ परेका थिए । एकजना मन्त्रीको मान्छे पनि पक्राउ परेछन् मन्त्रीले फोन गर्नु भयो र भन्नु भयो फलानो मेरो मान्छे हो उहाँलाई पक्राउ नगर्नु पर्ने गरिहाल्नु भएछ उहाँलाई छोडिदिनुस् । हाकिमले भन्नु भयो मिल्दैंन । २४ घण्टापछि जिल्ला प्रशासन कार्यालयमा उहाँले गरेको कसुर सहित हामी पेश गर्नेछौ त्यहीँ बाट छुट्नु हुनेछ । मन्त्रीले फेरि भने म मन्त्री बोल्दैछु मैले भने पछि त छोडिदिनुस् । हाकिमले भन्नु भयो मन्त्रीले भन्यो भन्दैमा छोड्नु पर्छ भन्ने कुन कानुनमा लेखिएको छ र ? मन्त्री ज्यू तपाईँ आफ्नो पदिय मर्यादा कायम राख्नुहोला हैन भने राष्ट्रसेवकलाई काम कारवाही गर्नमा बाधा गरेको अभियोग तपाईँलाई पनि पक्राउ गरि कारबाही प्रकृयामा जान नपरोस् । मेरो हाकिमको यो जवाफले मन्त्रीको छातीमा छर्राहरू त वर्सिए होलान नै । मेरो हाकिमका यी कुराहरू सुनेर मेरो छाती भित्र राष्ट्रियताको झण्डा फहराई रहेको थियो र मेरो जीउ दुई इन्च बढेको महसुस भएको थियो । यी त एक दुईवटा उदाहरण मात्र हुन यस्ता धेरै कुराहरू उहाँले भोग्नु भएको मैले नै देखेको छु । मैले भेटेको एक अधिकृत उहाँ नै हो जसले दर्जागत क्रमभन्दा व्यक्तिको क्षमता हेरि कार्य विभाजन गर्नु हुन्छ आफ्नो मातहतको कर्मचारीको । मैले भेटेको एक अधिकृत उहाँ नै हो जसले प्रहरीका लागि चाहे मन्त्री होस् चाहे सर्वसाधारण नागरिक दुबै बराबर हो भनेर भनेको । उहाँ नै हो मैले भेटेको एक अधिकृत जसले मलाई हिड्न सिकाएको छ ।

( यो कथामा हुनु भएका हाकिम प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाट हुन । पढ्दा कथा जस्तो होला । केही वर्ष पछि भनौ या आजैका दिनमा भनौ यो गईसकेको समयको कुरा भएकाले कथा नै हो तर यसमा लेखिएका सबै शब्दहरू वास्तविक घटनाक्रम हुन । ईतिहासका लागि यो कथाको तथ्याङ्क प्रयोग गर्न सक्नु हुनेछ तर यो कथाको शीर्षक उल्लेख गरेर मात्र । )