कविता: हो त्यही दिन

सुमन घिमिरे अग्रिम

हो,
त्यही दिन हुनुपर्छ – जुन दिन!

मैले देखिरहेको सेतो तिमीले कालो देख्यौ र
गरिरह्‌यौ –
विष वमन मेरो ईश्वरमाथि एकोहोरो ।

हो,
त्यही दिन हुनुपर्छ – जुन दिन!

लडाएर आदिम सभ्यताको बलियो खम्बा र भाँचेका थियौ- मान्छे मान्छे जोड्ने सेतु।

हो,
त्यही दिन हुनुपर्छ – जुन दिन!

सल्काएर आगो मानव वस्तीमा
नराम्ररी उडाएका थियौ नि- मैले पुज्ने ईश्वरको धज्जी।

हो,
त्यही दिनबाट मेरो वस्तीमा छ मानवता मरेको
साँच्चै भनूँ –
त्यही दिनबाट नैतिकताले बसाइ सारेको छ।