सङ्ग्रहका धेरै कविताहरूले सडकको आवाज बोल्छन्

शरद पोख्रेल

40

कृपया
त्यो सातौँ तलाको झ्यालबाट
बाहिर नथुक्नुहोला

तल सडकपेटीमा
केही असहाय फुलेका केशहरू
हात या खुट्टा नभएका
केही जोर आँखाहरू
र दृष्टिविहीन भोका पेटहरू
एक गास उज्यालोको पर्खाइमा छन्

कृपया
त्यो सातौँ तलाको झ्यालबाट
बाहिर नथुक्नुहोला (सडकको आवाज)
….
……
जब अक्षरहरू यसरी महल या दरबारबाट बाहिर सडकमा ओर्लिएर सडकसंगै आवाज मिसाउँछन् अनि जन्मन्छ सडकको आवाज। सडकको आवाज भन्नु नै मजदुरको आवाज हो। सडकको आवाज भन्नु पैदल यात्रीहरूको आवाज हो। भुँइसँगै जोडिएकाहरूको भुँइमान्छेहरूको आवाज हो।

कविता कृति ‘क’ हात परेको करिब करिब दुई महिना भयो। हरेक दिनजसो एउटा एउटा कविता पढेर सर्सर्ती सकेँ। तर यी कविताहरूको नसा यसरी गढेको छ कि पढेर सकेका कविताहरू पुन: दोहोराइरहेको छु। यस्तो लाग्छ यसमा समाविष्ट कविताहरू केवल कविता मात्रै होइनन्, यी त मजदुर श्रमिक र किसानहरूका आवाजका दस्तावेजहरू हुन्। विज्ञप्तिहरू हुन्।

महँगी बढ्यो
तपाईँको घरभाडा बढ्छ
बिजुलीको बिल बढ्छ
पानीको भाउ बढ्छ
म के बढाऊँ घरबेटी बा?
एक किलो काउलीको भाउ बढ्यो कि
मेरो काठमाडौंमा आएर मलाई नै ठगिस् भन्नुहुन्छ
(घरबेटी बा र नानीहरू)

यी र यस्ता कविता कलमका मसीले मात्रै लेखिएका होइनन्। यी मजदुरका निधारबाट झरेका पसिनाका किरिमिरी धर्साहरूले बनेका हुन् । किसानका आँशुले भिजेर बनेका हरफहरू हुन् यी। यी कविताहरूमा मात्रै कवि असिम सागर बोलेका छैनन्। उनको जीवन बोलेको छ। उनको जीवनमात्रै बोलेको छैन उनको जीवनसंग लाखौँको जीवनको बोली बोलेको छ जसले बोल्नै सकिरहेका थिएनन्। आजै, अहिलै बोल्नै पर्ने कुराहरू बोलिएका छन्।

कविता भन्नु विचार र कलाको सम्मिश्रण हो। कलाबिहीन विचार र विचारबिहीन कला मात्र शब्दहरूका थुप्रा हुन्। नीजि भावनाहरू हुन्, वैयक्तिक कुण्ठाहरू हुन् तर कविता होइनन्। कविता पढिसकेपछि त्यसले केहीबेर सोँच्न बाध्य बनाओस् तब पो कविता। कविता पढिसकेपछि विचारको ज्वारभाटाहरू सलबलाऊन तब पो कविता। कविता पढिसकेपछि छुट्टै ध्यान गरेजस्तो, कुनै अलौकिक दृश्य देखेजस्तो या अदभूत अनुभूति होओस् र पो कविता। कविताकृत ‘क’ पढिसकेपछि यसभित्रका धेरै कविताहरूले दिमाग हल्लाए।


भूमरी बनेर उड्दै गयो सडकमा धुलो
चङ्गा झैँ माथिमाथि उड्दै गए
झरेका फूल पात र कसिङ्गरहरू
त्यही कसिङ्गरमा थियो
स्कुले नानीको च्यातिएको कापीको एउटा पाना
तुफानको कुनै सिमाना हुन्न भन्छन्
कहाँ पुर्यायो होला त्यो कापीको पाना
मलाई दु:ख लाग्यो
म बेस्सरी रोएँ
किनभने त्यसमा
देशको नक्सा थियो
(शोकगीत)

खासगरी सङ्ग्रहका धेरै कविताहरूले सडकको आवाज नै बोल्छन्। मजदुरको पसिनाको मूल्य खोजेका छन् । दबाइएका आवाजहरू मुखरित गर्न लागिपरेका छन् तथापि संग्रहभित्र देशप्रेमले भरिएका सुन्दर कविताहरू, प्रकृति र मानवबीचको सचित्र, व्याप्त कुरीति कुसंस्कारका विषयमा पनि कलात्मक तरिकाले प्रस्तुत भएका छन् कवि।

नारीहरू
नाडीमा जो चुरा लगाउँछन् सौभाग्यको
त्यो चुरा होइन हतकडी हो
जसको ताल्चा
लोग्ने मरेपछि मात्रै खोलिन्छ
तर दुर्भाग्य
अर्को झन् ठूलो ताल्चा लगाइन्छ
विधवा नामको। ( हतकडी)

हरेक कुरालाई कविले आफ्नै मौलिक आँखाले हेरेका छन् कवितामा।प्रेम, जीवन र जगत, सुन्दरता असुन्दरता सबैमा कविको फरक कवित्व देखिन्छ।

सम्बन्ध मात्रै पनि प्रेम होइन
समर्पण मात्रै पनि प्रेम होइन
सम्झना मात्रै पनि प्रेम होइन
प्रेम मात्रै पनि प्रेम होइन

जब प्रेम मर्छ
मान्छे कि हिटलर बन्छ
कि बुद्ध ( जब प्रेम मर्छ)

सबै कुरा सुन्दर होस् त
असुन्दर कुरा पनि सुन्दर हुन्छ(सुन्दर असुन्दर)

मुलत: वर्तमान समयमा हराउँदै गएको मानवीय समवेदनामाथि पनि कवि मुखरित भएका छन् । मान्छे मान्छेबीच बढिरहेको दूरीमा कविको गुनासो प्रस्टै देखिन्छ।
हरेक कविता पढिरहँदा आफैले बोलिरहेको बोली जस्तो। यो समयले बाल्नै पर्ने दियो जस्तो। यो समयले सुमसुम्याउनै पर्ने कलाजस्तो। हरेक कविताहरू कालिगढी प्रकृतिका छन्। सुन्दर पेन्डिङ हेरे जस्तो, श्रुतिमधुर धुनमा हराएजस्तो।
नेपाली साहित्यमा हाम्रै पसिनाको सुगन्ध भेटिने जवर्जस्त पसिनाको सङ्ग्रह दिएर हामी आम पाठकलाई लगाउनुभएको गुनप्रति कवि असिम सागरलाई लाख लाख बधाई तथा धन्यवाद । दबाइएका आवाजहरू अझै बोल्नुपर्नेछ। नलेखिएका कथाहरू अझै लेखिनु पर्नेछ। जे जति यी कविका कलमबाट लेखिए निकै भव्य सभ्य र सुन्दर तरिकाले लेखिए।पोखिन बाँकि उकुसमुकुसले कविलाई पक्कै खर्पन ख( खरायो ख) को तयारी गराउँदै छ। कविताको कपुरी क देखि ज्ञानी ज्ञ सम्मको अनवरत यात्राका लागि कवि असिम सागरलाई अग्रिम बधाई तथा शुभकामना ।