कविता: बस् मसँग तपाईंको भेट् नहोस्

कल्पना जोशी

64

समयसँगै समयको अभाव भएको होस् या
महाकालीले स्वयं सेती डुबानमा परेको होस्
अपीलाई असह्य भएको होस्
महाभारत र चुरेको अवस्थितिले या,
खप्तडबाटै पाटनले बसाइँसराइको हेक्का
राखिराखेको होस्
बस् मसँग तपाईंको भेट नहोस्।

तपाईंको छोरीले निकालेर फाल्न सक्छिन्
आफ्नै नाकको फूली
छोराले इन्कार गरिदिन सक्छ हरियो शिशा भएको
चस्मा लगाउँन
इजाले दिनसक्छिन बालाई ठाडो आदेश
तपाईंलाई तिमी भनिदिन सक्छन्
पाको उमेरको मास्टरदाइले
तब म भन्दैछु,
मसँग तपाईंको भेट नहोस्।

तपाईंले बोक्नुभएका तमसुकका साक्षीहरूको सोधखोज हुन सक्छ
लगाइदिन सक्छन् बूढी आैँलाले मूर्दावादका नारा
दमाहामा टेकेर सिधै भान्सामा पस्न सक्छ
तपाईंकै घरको बिरालो
तपाईंको घरमा पालिएकै कुकुर
तपाईंलाई नै देखेर एकोहोरो भुक्न सक्छ
त्यसैले म भनिरहेछु,
मसँग तपाईंको भेट कदापि नहोस्।

हिलो छ्याप्न नसकेपछि
तपाईं चढ्नुभएको बिएमडब्लुले मेरो बिचारमाथि
पक्कै सनक्क रीस उठ्नेछ तपाईंलाई
आफ्नै काैशलतामाथि
कृपया झ्याल नखोलिदिनुहोला
गहनामा ढकमक्क फुलेकी
हजुरकी ‘अर्धाङ्गिनी’ले सहन सक्दिनन् होला हेर्न
घाँटीबाट चुँडिनै लागेका
दासत्वका कैयौं मङ्गलसूत्रहरू
विधवा लाग्न सक्छु तपाईंको नजरमा
साइत बिग्रिन सक्छ हजुरको
या त,
मसँगै पैदल हिँड्न राँजी भइदिन सक्छिन् उनी
म फेरि दोहिर्याएरै भन्दैछु
मसँग तपाईंको भेट नहोस्।

Facebook Comments Box