कविता : प्रकृतिको जात के हो ?

जनक कार्की

72

सुर्यले उज्यालो छर्दा
जातको आधारमा
उज्यालो बाँडछु भनेर
विभेद गर्दैन ।

न त जल नै
छुत-अछुत भन्दै
टाढा भाग्छ आफ्नो धर्म निभाउन ।

आकाशले सधै
पुरै ब्रह्माण्डका जीव-चराचरलाई
अँगालोको आव्हान गरिरहेछ ।

माटोले गर्दैन भेदभाव
मेहनत गर्नेलाई
बराबर दिन्छ उपहार ।

हावाले कहिल्यै
ठूलो र सानो जात भनेर
प्राणवायुमा जोडघटाउ गरेन ।

यीनै पञ्चतत्वले बनेका हामी
किन गर्दै छौं
प्रकृतिभन्दा माथी उठेर
अप्राकृतिक व्यवहार ?

घरबाट निकालेर मान्छेलाई
धकेल्दै छौ जंगलतिर
जुनदिन जंगल पस्नेछ
-असन्तुष्ट मान्छे
त्यसदिन देखि हिंस्रक भएर
गर्न सक्छ तिम्रै शिकार
ए ! अमान्छे होशियार !

Facebook Comments Box