कृष्णभक्त र कविता

कृष्ण धरावासी

107

रूपरेखा पत्रिका शुरू भएपछि मोहन कोइरालासंगसँगै अरू कविहरू पनि प्रयोगवादी कविता यात्रामा देखा परेका छन् ।प्रयोगवाद एउटा अभियान नभएर प्रवृत्तिको रूपमा देखा परेको थियो । २००७ सालदेखि नै देखापरेका मोहन कोइरालाको कविता यात्रा परिस्किृत हुंदै एकदशक पछि नवप्रवृत्ति र शैलीका साथ देखा पर्न पुगेको थियो । गुम्फित भएको, गाँठो परेका, दूर्बाेध्यतामुक्त हुंदै नवचेत र सोचसंग देखिन थालेका कोइरालाकै कविताहरूसंगसंगै केही अरू कविहरू पनि देखा परेका छन् । आफ्ना काव्यिक अभ्यासका साथ अघि बढ्दै आएका द्वारिका श्रेष्ठ कृष्णभक्त श्रेष्ठ, मदन रेग्मी, जगदीश समसेर राणा, तुलसी दिवस, पुस्कर लोहनी, उपेन्द्र श्रेष्ठ, पारिजात, कुन्दन शर्मा, कुमार नेपाल, पोषण पाण्डे, रत्न शमसेर थापा आदिहरू पनि यसै धारमा देखा पर्न थाले । तथापि यिनीहरू संगठित रूपमा यो कविता आन्दोलनमा उभिएका थिएनन् । एउटै कालका कविहरूमा एकै खाले लेखन प्रकृति भने देखिएको थियो ।

जीवनलाई भत्किएको, विकृत, उदास, निराश, कुरूप र असुन्दर देख्ने आँखाहरू कवितामा उध्रन थाले । स्वच्छन्दतावादले बोकी ल्याएको लामो यात्रालाई एकाएक यसकालका कविहरूले परित्याग गरे । महाकवि देवकोटाको निधन पछि देवकोटीय प्रभावबाट नयाँ पुस्ता मुक्त हुन खोजेको देखिन्छ । लेखनाथ, सम र देवकोटाको एकछत्त साम्राज्यका अघि नयाँ पुस्ता राम्ररी थिग्रिन सकिरहेकै थिएन । काव्य वा कविता पढ्ने पाठकीय अभ्यास पनि उपदेशात्मक वा प्रकृति प्रेम, प्रकृति वर्णन वा पीडाका शास्त्रीय अभिव्यक्तिहरू मै केन्दित थियो । बालकृष्ण समले नाटकबाट केही नयाँपन दिन खोजिरहे पनि आदर्श नैतिकता र मूल्यको स्थापना माथि नै आधारित थियो ।

देवकोटा एउटा मीयोको रूपमा उभिएको त्यस युगले नयाँ पुस्ताका विचारहरू राम्ररी ग्रहण गर्न सकिरहेको थिएन । शारदा, इन्द्रेणी, प्रगति आदि पत्रिकाहरूले फाट्टफुट्ट छाप्दै गरेका युवा कविहरू वास्तवमा कुन ढाँचा र तहबाट आउन खोजिरहेका छन् भन्ने बुझिहाल्ने र निर्णय दिइहाल्ने बेला भएको पनि थिएन । फेरि नेपाली काव्य परम्पराभन्दा निक्कै पर उछिट्टिएर लेख्न खोजिरहेका यिनीहरूलाई स्थापना दिइहाल्ने स्थिति पनि थिएन । महाकवि देवकोटाको एकल नेतृत्वको नेपाली काव्य र पाठकहरू देवकोटीय ‘ब्राण्ड’ का उपभोक्ता भइसकेका थिए ।

देवकोटाको निधन पछि एउटा ठूलै खाली र रित्तोपनको अनुभव हुन थाल्यो काव्य क्षेत्रमा । लेखनाथ, सम, सिद्धिचरणहरूको आफ्नो यात्राले पाठकहरूको सम्पूर्ण रूचिलाई संतुष्टि दिइहाल्न सकेन । यस्तै बेलामा प्रकाशन सुरू भएको नयाँ साहित्यिक पत्रिका रूपरेखाले नयाँ पुस्तालाई महत्व दिने र नयाँलाई प्रकाशन गर्ने अभियान लिएर आए पछि नेपाली साहित्यमा एउटा नयाँ आन्दोलन नै शुरू भएको संझनु पर्ने देखिन्छ ।
लेखिनु ठूलो कुरा होइन, जव त्यसले प्रकाशन हुन पाउँदैन, त्यसको खासै महत्व हुंदैन पनि । रूपरेखाले आफूलाई नयाँलाई नयाँहरूकै मञ्च बनाउने घोषणाका साथ काम गर्न थाले पछि एकाएक नेपाली कवितामा आश्चर्यजनक प्रस्तुतिहरू देखा पर्न थाले । वर्षौंदेखि पढ्दै आएका आँखा र बुद्धिले एकाएक अनौठा कविताहरू पत्रिकामा देखेर पत्याउन मानेनन् । तिनमा काव्यात्मकता, कलात्मकता, बोधगम्यता, सन्देश, अर्तिउपदेशहरू केही पनि नदेख्दा, शब्दहरूका थुप्रो वा विश्रृंखलित प्रस्तुति मात्र पनि बुझ्न थाले पाठकहरूले । पाठकहरूले दिक्क पनि माने । के भन्छ कविताले, बुझिदैन केही । तर कविहरू निराश भएनन झन्झन् उत्साहित र जोसिलो हुंदै नयाँ नयाँ पाराले लेखिरहन थाले ।

तुलनात्मक रूपमा पश्चिमी कविहरू जस्तो नेपाली कविहरूले त्यति निराश, कुण्ठा र विकृतिलाई देखिहाल्नु पर्ने स्थिति थिएन । दोस्रो विश्वयुद्धको प्रत्यक्ष प्रभाव पनि थिएन नेपालीलाई । युद्धको विभिषिका र कराल मृत्युलाई देख्नु परेको पनि थिएन, तर पनि नेपाली युवा कविहरू बिस्तारै विश्वमन्चको चेतना ग्रहण गर्न अग्रसर हुंदै थिए । विस्तारै अन्तराष्ट्रिय सम्पर्कमा पुग्दै गरेका यिनीहरूले आफ्नै वरिपरि पनि असन्तुष्टिका प्रशस्त थुम्काहरू लेख्न थाले । खास गरी २०१७ सालको राजनैतिक परिवर्तनले प्रजातन्त्रको हत्या गरे पछि लेखक कविहरूमा अभिव्यक्ति कुण्ठा देखापर्नु स्वभाविक नै थियो । एक सय चार वर्णको कठोर तानाशाहीबाट भर्खरै मुक्त भएको खुल्ला समाज फेरि एउटा निरंकुश खोरमा प्रवेश गरिरहेको थियो । कविहरूले त्यसलाई एउटा उज्यालोबाट अन्धकारतिर प्रवेश गरेको सामाजिक यात्रा बुझ्न थाले । नभन्दै कानून र संविधान बिना नै देश संचालन भइरहेको थियो र शत्तामा बस्नेले जे सोच्यो कानून बन्दै गइरहेको थियो । यस्तोमा एउटा कवि जो युवा छ, आधुनिक छ, विश्वलाई बुझेको छ– त्यसले स्वच्छन्दतावादी प्रकृति वर्णन र ईश्वरीय आराधना लेख्नु संभव पनि थिएन ।

उमेर र अवस्थाले रोमान्टिक लेखन गरिरहेका युवाहरूमा एकाएक गम्भीरता भरिन पुगेको थियो । जीवनको रहस्य, उच्च आस्था, स्वैरविश्वास सवै एकाएक हराउन थाले । रागात्मक अनुभूतिहरू, स्वप्नील कल्पना, स्वच्छन्द उडान सवै स्थगित भए र जीवनलाई विखण्डित, घाइते, पीडापूर्ण र विश्रृंखलित देख्न थाले ।
मोहन कोइरालाका आफ्नै पाराको प्रस्तुति, प्रतीक विम्व रचनाहरूले कवितालाई साह्रै नै ल्किष्ट बनाइरहेका बेला संगसंगै आउन थालेका अरू कविहरू मध्ये अलग पाराले देखा पर्नेहरूमा अग्रणी देखिन्छन् कृष्णभक्त श्रेष्ठ ।

कृष्णभक्त श्रेष्ठका कविता मोहन कोइरालाका जति ल्किष्ट र दुर्बाेध्य नभए पनि विषयवस्तु र कवितातत्व भने उत्तिकै विशिष्ट भएर देखा पर्न थाले । रूपरेखामा कविताहरू प्रकाशन हुन थालेपछि कृष्णभक्तका कविताहरूमा कोइरालाका भन्दा केही फरक लाग्ने प्रस्तुतिहरू देखिन थाले । कविता ल्किष्ट भएको भन्दा पनि वातावरण र परिस्थितिले कवितालाई ल्किष्ट बन्न बाध्य गराएको भन्नु पर्ला । ०१७ सालको राजनैतिक परिवर्तन पछिको स्थितिले उत्पन्न गरेको उपस्थिति कविहरूका लागि ज्यादै नै कहालीलाग्दो देखिन्छ । बिम्ब र प्रतीकको अत्यधिक प्रयोगले कवितामा दुर्बाेध्यताको आरोप लागेको हो । काव्यिक सौन्दर्यता त्यसको लाक्षणिक प्रस्तुतिमा उघ्रिने हो, त्यसका लागि शब्दहरूको र विम्वहरूको संयोजन नै कवि भित्र हुनु पर्ने कलाकारीय चेत हो । त्यस चेतले धेरै नै सिंगारिएका कवि हुन कृष्णभक्त । “चिलले हानेर लान्छ…………..” शीर्षकको उनको कविता बोल्छ–

चिलले हानेर लान्छ, कुखुराका चल्लाहरू
चिलले हानेर आकाशको बाटो लगिसकेपछि
मेरी कुखुरी आमाले चाल पाउँछे– चल्लाको संख्या घटेको
अनि बारीको त्यही सानो पाटोमा
यताउति कहाल्लिएकी कहाल्लिएकै हुन्छे
जहिले पनि माथिबाट
तल यसरी नै हान्ने गरेको छ
चिलले हानेर लान्छ– कुखुराका चल्लाहरू ।
(‘मान्छेको कथा’ पृष्ठ ६९)

चिल एउटा संधैको खतराको संकेत । आफ्ना चल्लाहरू अर्थात भविष्यमाथि जतिबेलै पनि आक्रमण गर्न तम्तयार आकाशमा सुरक्षित उड्न सक्ने त्यस्तो शत्रु जोसंग बदला लिनै नसकिने । तर जहिलै माथिबाट तलतिर हानिरहने, जितिरहने । आफूले कति नै सुरक्षित राख्दा पनि कतै न कतैबाट झम्टा मारीहाल्ने कराल शत्रु । कविले प्रजातन्त्र माथि एकाएक गरिएको आक्रमण र खोसिएको जन अधिकारलाई हेरी यो बिम्बको निर्माण गरेका छन् । चिल एउटा त्यस्तो निरंकुश शत्ताको प्रतीक हो जो संधै जनताको अधिकारमाथि हमला गरि रहन्छ, माथि बसेर मौका हेरेर ।

शत्ता र शक्तिको एकाधिकारवादी दृष्टिसंग जुध्दै मानवसभ्यता अघि बढिरहेको हो । लेखनको अभिप्राय पनि त्यसैलाई चिन्न प्रयत्न गर्ने हो । तर मानवजीवन आफ्नो इच्छाभन्दा धेरै नै पराधिन र पराश्रयी हुन बाध्य भएकाले कविताहरूमा कुण्ठा र विद्रोहहरू देखा पर्ने गरेका हुन् ।

शासकीय अत्याचार र निरंकुशताका विरुद्धमा अत्यन्तै सचेत कृष्णभक्तका कविताको स्वर प्रजातन्त्रको पक्षको एउटा अग्राखीय आवाज हो । सतर्कता र आशंका दुवै उनका कवितामा अग्रणी छन् । लामो निरंकुश शासनबाट मुक्त भएको समाजमा तर कुनै बेला फेरि ती बाघपञ्जाहरू पर्न सक्ने संकेत उनको “पाङ्गे्र विरालोको बच्चा” ले बोल्छ ।
मरिसक्यो भन्ठानेको
त्यही सानो पाङ्ग्रे विरालोको बच्चा
म भित्र कतै एकाएक
फेिर भ्याउ भ्याउ गरेको सुन्छु
थाह छ मलाई
अव फेरि त्यो बाँचेर आयो भने
केटाकेटीले जिस्क्याउने त्यही सानो
पाङ्गे विरालोको बच्चा होइन
अजङ्गको नरभक्षी
बाघ भएर आउनेछ ।
अनि त्यसको गर्जनले
वनजंगल होइन
सारा गाउँघर नै थर्काउने छ ।

भाषिक सरलता भित्रै भावको गाम्भीर्यता लुकेको पाइन्छ उनका कवितामा, सजिलै बुझ्न सकिने गम्भीर सतर्कता यस कविताले बोकेको छ । जसलाई हामी समाप्त भएको ठान्छौं तर त्यो भित्रभित्रै फेरि हुर्किंदै र पहिलाको भन्दा पनि झन् शक्तिशाली र आक्रामक भएर आइरहेको हुन्छ । जीवन संघर्षमय छ, जीवनसंग सम्बन्धित विषयहरू कहिले सुशुप्त र कहिले प्रकाशित भइरहन्छन्, बाँच्न र बढ्न हामी संधै सतर्क र सचेत रहिरहनु पर्छ भन्छन् उनका कविता । अधिकांश कृष्णभक्तका कवितामा प्रजातन्त्रमाथि हुनसक्ने प्रहारहरू र त्यसबाट जोगाउन हुनुपर्ने सतर्कता बोल्दछन् । ०१७ सालको एकाएक भएको परिवर्तन पछिका उनका कवितामा धेरै जसो यही चेतना सक्रिय भएको छ ।

२०१७ सालपछि शुरू भएको नेपाली कविताको नयाँ यात्रामा कवि मोहन कोइरालाको कविता शैली, प्रस्तुति र वैचारिकता नितान्त एक्लो छ । कवि मोहन कोइरालाको धारमा दौडन सजिलो थिएन अरूलाई । तै पनि उनको ल्किष्टताको बाटो भने केही अरूले पनि समातेका छन् । यस बाटोमा रत्नशमशेर थापा, मदन रेग्मी, जगदीश शमशेर राणा, तुलसी दिवस, उपेन्द्र श्रेष्ठ, कुमार नेपाल आदिहरूका कविता देखिन्छन् । यी कविताहरूले समयचेत र कुण्ठामाथि विद्रोहको अनौठो स्वर उचालेका छन् । मोहन कोइरालाका कविताका तुलनामा यिनीहरूका कविता केही सुबोध्य जस्ता लाग्छन् । तथापि कविताले उठाएका आवाजहरू भने धेरै नै गम्भीर र सोचनीय छन् । अचम्म त के लाग्छ भने आजभन्दा चालिस वर्ष अघि लेखिएका कविताहरू वर्तमान जीवनसंग छालाझै टांसिएका बोध हुन्छन् । यिनबाट दुईटा अर्थ लिन सकिन् वर्तमान जीवनसंग छालाझै टांसिएका बोध हुन्छन् । यिनबाट दुईटा अर्थ लिन सकिन्छ– कि त यी कविताहरू शास्वत छन् सदावहार, कि त हाम्रो राष्ट्रिय जीवनमा कुनै खासै परिवर्तन आएकै छैन, हामी स्थितिले त्यहींको त्यही नै छौं ।

त्यही कालमा, त्यही जमातमा संगसंगै कविता लेखिरहने अर्काे समूह पनि आफैं खडा भएछ । त्यो समूह कृष्णभक्त श्रेष्ठको नजिक देखिन्छ । अर्थात मोहन कोइरालाको ल्किष्टताको धारबाट अलिक पर पुगी सरल र सुबोध्य शैलीमा उस्तै सघन विचारहरू व्यक्त गर्ने जमात पनि देखिन्छ । यस्तो जमातमा– पारिजात, पोषण पाण्डे, वाशुशर्शी, भूपि सेरचन, कुन्दन शर्मा, सैलेन्द्र साकार, मञ्जुल, रमेश श्रेष्ठ, मोहनहिमांशु थापा, भूवन ढुंगाना आदिहरू पर्दछन् । यस समूहका कविहरूका कविताले भने बीसको दशकको नेपाली कविताको यात्रालाई निकै नै गतिशील बनाएको छ । ल्किष्ट कविताबाट भाग्न चाहने पाठकहरूलाई च्याप्प समातेर राख्न सक्ने ताकत यिनै कविताहरूमा देखिन्छ ।

कृष्ण भक्तका कविता चेतना र सन्देश मुलक छन् । विद्रोहको अनौठो स्वर छ उनीसंग । उनी आफ्ना कवितामा रोमान्स, रूमानी र प्रकृतिसंग खेल्दैनन् । जीवनलाई उनले कतै पनि उज्यालो र फैलंदो देखेनन् । जतै पनि विकृति र असन्तुष्टि देख्छन् छरिएको । सरल भाषामा, संप्रेषणीय शैलीमा तर लेख्छन् एकदम नै गम्भीर र प्रतीकात्मक अर्थले । प्रत्येक कविता पाठकको दिमागमा एकछिन अडिन्छन् र अर्थ विस्तार गर्न खोज्छन् ।

पहिलो कविता कृतिका रूपमा २०३३ सालमा साझा प्रकाशनबाट ‘कृष्णभक्त श्रेष्ठका कविता’ नामक पुस्तक प्रकाशन भएता पनि त्यस संग्रह भित्र २०११ सालदेखि २०२६ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित कविताहरू संकलित छन् । १५ वर्षको सक्रिय कविता यात्राको एउटा जीवन्त नमूना कृति छ यो । १४ वर्षको उमेरमा भारती पत्रिकामा (२०११ साल) ‘उद्गार’ शीर्षकको पहिलो कविता प्रकाशित गरी कविता यात्रामा हेलिएका कृष्णभक्त एक सक्रिय कवि हुन् । कविता लेखनलाई नै आफ्नो मूख्य रूचि बनाएका उनी तर संख्यामा पातलै लेखन गर्ने कविमा पर्दछन् । उनका समकालीन पुस्ताका तुलनामा कवि श्रेष्ठलाई सक्रिय कविकै रूपमा मान्नु पर्छ । भारती पछि प्रगति पत्रिकाबाट प्रकाशन निरन्तरता पाउँदै अघि बढेका कवि श्रेष्ठले जीवनको निराशा, कुठठ र शुन्यतालाई कवितामा प्रस्तुत गर्न थालेको पाइन्छ ।

किशोरवयमै निराशा र कुण्ठाले ग्रस्त मनस्थितिले कविता लेखेका छन् उनले । एउटा मान्छे एक्लै कुनै युगमा निराश हुंदैन । व्यक्तिलाई वातावरणले नै स्वबोध गराउने हो । देश र समाजको सामाजिक, आर्थिक, राजनैतिक, वातावरण र स्थितिले व्यक्तिलाई प्रभावित गरिरहेको हुन्छ । कति मानिसहरू सशरीर विद्रोहमा अभिव्यक्त हुन्छन्, कति कला र काव्यहरूमा बोल्छन् । कवि कृष्णभक्त एक भावुक र संवेदनशील किशोर कवितामा ती कुण्ठाहरू पोख्न लागेको देखिन्छन् ।

विं.सं. १९९७ सालमा तिनी जन्मेका थिए जुन सालमा देशले चार सपुतहरूलाई गुमाएको थियो अथवा देशले चार अमर पुत्र जन्माएको थियो । देशले सहिद कमाएकै वर्ष कवि कृष्णभक्तको जन्म भएको थियो । आन्दोलनभित्रै हुर्किए तिनी । तिनले दश वर्षको उमेरमा २००७ सालको क्रान्तिदेखि नयाँ युग र समयको आवाज सुने । दश वर्षकै उमेरमा राजनैतिक र सामाजिक असन्तुष्टि त के नै अनुभूत भयो होला र ? तर उनका कवितामा आएको अनुभूतिको प्रतिविम्ब भने २००७ सालको क्रान्तिपछि देशले सही ढङ्गको वातावरण पाउन नसकेकै पीडाको प्रस्तुति थियो । घरमा, छिमेकमा, टोलमा मानिसहरूले, अभिभावकहरूले गरेका कुराहरू सुनेर, केही आफूले पनि बोध गरेर गरिएका थिए ती अभिव्यक्तिहरू ।

युवा उमेरमा प्रवेश गर्दै गर्दा, शरीर र मनको रूमानी उडानसँग उड्नु पर्ने त्यो बेला तर उनका कविता एकाएक गम्भीर हुंदै गएका छन् । प्रेम र प्रणयका कल्पनामा डुब्दै नायिकाको खोजी गर्ने उमेरमा उनी गम्भीर अनुहारले उभिएका देखिन्छन् । जतिजति उनी हुर्किदैं गए त्यतित्यति देशको स्थितिको निराशाजनक उपस्थिति बुझ्दै गए । जाँगरिलो, जोसिलो र उत्साहले भरिएका दिनहरू थिएनन् । केवल अस्थिरता, अव्यवस्था, अन्यौल, शक्ति संघर्षका विरक्त लाग्दो वातावरण थियो । प्रजातन्त्र प्राप्ति पछि राणाहरू भित्रभित्रै सिथिल भएका बेला राजदरवार भित्र एकसय चारवर्ष थुनिएर बसेको शासन गर्ने रहरमा निरंकुशताको नयाँ खाले रेखाचित्र खिचिन थालेको थियो । राजनैतिक पार्टीहरू खासगरी नेपाली कांग्रेसभित्र मडारिएको वैयक्तिक सत्तामोहले नयाँ प्रजातन्त्रलाई निराश बनाउन थालेको थियो । यस्तो बेलामा देशले जब उत्साहबद्र्धक विकास र शान्तिको बाटो पाएन प्रत्येक मान्छेको हृदयमा निराशा र पलायनताले हांगा फैलाउँदै जान थाल्यो । २००७ सालको क्रान्ति पछि मानिसहरूमा देखिएको उर्जा र उत्साह बिस्तारै सिथिल हुंदै जान थाल्यो । गायकहरूका गीतमा, कविहरूका कवितामा, चित्रकारका क्यान्भासहरूमा, मञ्चका नाटकहरूमा जतै पनि निराशाले प्रमूखता पाउन थालेको देखिन्छ । गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल र गोपालप्रसाद रिमालका नाटकहरू, त्यस कालको मनस्थितिलाई छर्लङ्ग बुझाउने प्रमाण देखिन्छन् ।

प्रभावले लेखनलाई उर्जा प्रदान गर्छ । समसामयिक स्वर नै हरेकको लेखनमा उत्रिएर आउने हो । जता पनि निराशा र कुण्ठाले लोकप्रियता प्राप्त गरेको बेला नवकविको कलम पनि त्यसै धारको सशक्त प्रतिनिधि बन्नु स्वभाविक छ । २०१६ सालसम्म आइपुग्दा उनी २० वर्षका भइसकेका छन् । वीस वर्षको एउटा युवकको मनभित्र जुन जोश जाँगर र कल्पनाशीलता हुनु पर्छ, जुन प्रेम प्रणय र रोमान्सक अनुभूति हुनुपर्छ त्यसको पूर्णतया अनुपस्थिति छन् कवितामा । ०१६ सालमा प्रकाशित ‘उकालो वर्ष २ अङ्क २ मा प्रकाशित कविता’ ‘म आफैंमा हुन्छ’ शीर्षकमा बोल्छन्—
जब एक्लै म
मेरो व्यस्त संसारबाट अलगिन्छु
मेरो हुलियाहरूबाट अलगिन्छु
त्यस बेला
हो, म आफैंमा हुन्छु ।
(कृष्ण भक्तका कविता पृष्ठ ३६)

आफू बांचिरहेको संसार र आफूलाई चिनाउने आफ्नो हुलियाबाट मुक्त भएपछि मात्र आफूसंग भएको अनौठो बोध छ यहाँ । एक किसिमले आध्यात्मिक दार्शनिक चेत पसेको जस्तो पनि लाग्छ तर यो त्यति उच्चस्तरको पस्किृत दार्शनिक चेत होइन, आफ्नै वातावरण र सामाजिक परिवेशका विरूद्धको विद्रोह चेत बढी हो । समाज र परिवारले दिएको परिवेश कविलाई पर्याप्त छैन । प्रत्येक किशोर जव युवक हुन थाल्छ उसलाई सभ्यताको निरन्तरता अपुरो र अधुरो लाग्नु स्वभाविक छ । अपूर्णतालाई पूर्णता दिन पट्टि जोश थपिनु पर्नेमा तर एक्लो र असहाय मनस्थिति अभिव्यक्त भएको छ यहाँ । आफूमा हुनलाई समाज र देशसंगै नभएको हुनु पर्ने चेतले नराम्रो गरी समातेको छ ।

लगत्तै २०१७ सालको वैशाख जेष्ठ कविताको वर्ष १ अङ्क १ मा प्रकाशित उनको अर्काे कवितामा एकदम नै डरलाग्दो र आँत्तेस छ । पढ्दापढ्दै कस्तो–कस्तो लाग्छ यो । ‘गिद्धले पहिले आँखा ठुङ्छ’ शीर्षकको यो कविताले जीवनको असहायपनलाई साह्रै नै कठोर शब्दमा प्रस्तुत गरेको छ । मरिसकेको लाशमा नाचिरहेका गिद्धले पहिले ‘आँखै’ बाट सिनो खान थालेको दृष्य कहालिलाग्दो छ । आफ्नै आँखा ठुङन लागे झैं हुंदोरहेछ पढ्दा खेरी—
गिद्धले पहिले आँखा ठुङ्छ
रङ्गी, विरङ्गी देख्ने ती आँखाहरू
गिद्धले जथाभावी ठुङ्छ
गिद्धले पहिले आँखा ठुङ्छ
कुहेको लाशको
छातीमाथि नाचेर
गिद्धले मनमानी ठुङ्छ
गिद्धले पहिले आँखा ठुङ्छ
आँखाले नै हेरेर
जथाभावी ठुङ्छ
गिद्धले पहिले आँखा ठुङ्छ ।
आँखा नै शरीरको सवैभन्दा महत्वपूर्ण अङ्ग हो, जसले संसारलाई देख्दछ र चिन्दछ । संसारको सुन्दरतालाई, रंगलाई देखेर रमाउने आँखा नै हो । जहाँ पुग्न जे नै गर्न पनि शरीरलाई संधै सशक्त राख्ने आँखा नै हो । शरीरको सवैभन्दा मूल्यवान वस्तु मै पहिला अरूको पनि आँखा पुग्छ । राम्रो र लोभ लाग्दोलाई नै सवैले पहिले अधिकारमा लिन खोज्छन् । गिद्ध एउटा यस्तो विकृत बिम्ब हो, जसले मरेको सिनो खान्छ र घिनमा रमाउँछ । यो कविता जीवनका अनेक अर्थहरूले गोलो छ ।
— जीवनको निस्सारता व्यक्त गर्छ यसले । गिद्ध आएर आँखै ठुङ्दा पनि सहिरहने शरीरको लाचारी देख्छ यसले ।
— यस कविताले सुन्दरता देख्न र छान्न सक्ने शक्ति माथि नै आक्रमण गर्ने दुष्टयाइँको चित्रण पनि गर्दछ । राम्रो वस्तु– जसले
जीवनलाई समाजलाई र देशलाई नै सुन्दर बनाउन सक्छ दुष्टताको आक्रमणको पहिलो निशाना त्यही हुन्छ । आँखै नभए पछि शरीरको बाँकी तन्दुरूस्ती को के काम ?
— दिनदिनै देशमाथि आइरहेका आपद् र अफ्ठ्याराहरूलाई हेरेर कविले गिद्धको बिम्ब बटुलेको देखिन्छ । सुन्दरतालाई आफ्नो मात्र पार्ने वा आफूले मात्र भोग गर्ने इच्छाबाट उत्पन्न जैविक स्वार्थलाई हेरिएछ यसमा ।
— गिद्धले त मरेको पशुको आँखा ठुङ्छ तर मानिस त जिउंदै स्वजनको आँखा ठुङ्छ वा राम्रो र सुन्दरलाई आफू मात्र एक्लै प्रयोग गर्ने एच्छाले ग्रसित ऊ निरंकुशता र तानाशाही षड्यन्त्रको जाल बुन्छ । अर्काेका सपनाहरू भत्काएर, अरूलाई अन्यौल र अंध्यारोमा राखेर एक्लै भोग गर्न चाहन्छ समृद्धि ।
— सत्ता मोहको तृष्णाले ग्रस्त तानाशाहीहरू हरेक क्षण जनअधिकारका आँखा ठुङ्न दाऊ पर्खिरहेका हुन्छ, काँधमा टेकेर आँखामा तारो पारीरहेका हुन्छन् । आफ्ना मात्र आँखा बचाएर अरूका आँखा ठुङछन् तिनीहरू । मानवसभ्यताको यो लामो परम्परामा हजारौंपटक जनताका आँखाहरू तानाशाहरूले ढुङेका छन् । आँखा बचाउने यस युद्धमा कति कति काला र सेता इतिहासहरू लेखिएका छन् ।

कवि श्रेष्ठलाई यस्तो कविता किन फु¥यो २१ वर्षको युवा उमेरमा ? देशमा संसदीय निर्वाचन भइसकेर दुइतिहाइ बहुमतको सरकार चलिरहेका बेला गिद्धले आँखा ताकिरहेको कुरा उनले कसरी थाह पाए । यो कविता प्रकाशित भएको नौ महिना पछि नै देशले ३० वर्षे अन्धकारमा प्रवेश गरेको देखिन्छ । संसदीय प्रणाली जनताको मौलिक हक र अधिकारको संयुक्त आँखा थियो जसलाई राजा महेन्द्रको महत्वकांक्षाको चुच्चोले एकाएक ठुङ्यो । प्रजातान्त्रिक आँखालाई निरंकुशताको चुच्चोले ठुङे र ३० वर्षे तानाशाही अन्धकार रोपियो देशमा । कविको छैटौं दृष्टिले भविष्यबोध गरेको देखिन्छ यहाँ ।

जुन उमेर रोमान्स, रमाइलो, माया प्रिती र खेलमा वित्नु पथ्यो, त्यो उमेरको कृष्णभक्त, आत्तेस लाग्दो र डरलाग्दो मनस्थितिले भरिएको छ । कविताको वर्ष १ अकं १ कै पृष्ठ ९– १० मा अर्काे कविता पनि छ – “जिन्दगी कुहेको फुल जस्तै गन्हाउँछ ।”
कविले जीवनलाई उज्यालो र मीठो देखेकै छैनन् । जीवनलाई घृणाको आँखाले देखिरहेका छन् ।
जिन्दगी कुहेको फूल झैं गन्हाउँछ
कहतारोमा राखेर दोबाटोमा मिल्काएको
भर्खर जन्मेको नानीको सालनाल जस्तो गन्हाउँछ ।
कति घिनलाग्दो कल्पना वा कति घिनलाग्दो अनुभूति । एउटा सशक्त युवा उमेरले जीवनलाई किन यस्तो देख्छ ?
त्यस बेलाको राष्ट्रिय ताथ अन्तर्राष्ट्रिय परिस्थिति नै यस्तो अन्यौल र अनिश्चित थियो कि मानिसले भविष्यलाई सुनौलो, रहरलाग्दो र उत्साहजनक सोच्नै सक्दैन थियो । दोस्रो विश्वयुद्धले तहसनहस पारेको अन्तर्राष्ट्रिय मनस्थिति र लामो संघर्ष पछि परिवर्तित अव्यवस्थित राष्ट्रिय स्थितिले आँखा अगाडि अंध्यारो र अव्यवस्था मात्र देखिरहेको थियो । त्यसबेला अरू कविहरू पनि आफ्ना कवितामा यस्तै विचारहरू पोखिरहेका थिए ।
यो निराशापूर्ण जिन्दगीको दोष उनले आमा माथि थोपरे ।
– यो जिन्दगी बरदान दिएर
ए मेरी आमा !
मेरा बालाई किन छकायौं ।
(जिन्दगी कुहेको फूल झैं गन्हाउँछ)
कति धेरै गाली गरियो यहाँ आमालाई । मानौं यो सारा संसारको सवै विक्रितिको कारक नै उनै हुन् । अर्थात उनले आमाको विम्वमा प्रकृतिसंग चित्त दुखाएका छन् । किन यस्तो निराशाजनक बनायौं तिमीले सृष्टिलाई भन्ने यो एक प्रश्न पनि हो । अझ ‘आमाप्रति’ कवितामा त कवि झन् धेरै आमामाथि जाइलागेका छन्–
मेरी आमा !
साँच्चै यस्तो लाग्छ कि
तिमी र तिम्रो लोग्ने नभइदिएको भए पनि
यो भन्दा निर्भीक, स्वस्थ्य तथा वढ्ता स्वतन्त्र भएर
मलाई अवश्य पनि जन्मनु प¥थ्यो
तिमीलाई साधन बनाएर
मैले आफ्नो साध्यप्रति विश्वासघात गरें ।
आस्था, विश्वास, मान्यता, दृष्टिकोण सवैको केन्द्र हो आमा । आमा शब्दले प्रत्येकको मनमा आफ्नो जैविक उद्गम स्थलको स्मरण गराउँछ । आमा जस्ती होस्– त्यो आमा हो, त्यो नभएकी भए आफू नभइने पक्को छ । बाबु जो पनि हुन सक्छ, बाबु अज्ञात हुन सक्छ । बाबु बलात्कारी हुन सक्छ जसले थुक झैं कुनै सुकुमारीका पाठेघरमा वीर्य फालेर जान सक्छ तर आमा सप्रमाण छे, आमा सार्वजनिक र तथ्यात्मक छे । आमालाई एउटा भित्तो उभ्याएर त्यसैमा तारो हानिएको यस कविताले– विधिलाई, समयलाई, भूगोल र परम्परा सवैलाई गाली गर्दछु । यो अन्यौल र विकृत परिस्थति संगको सिमान्त असन्तुष्टि
यसरी पोख्छन् फेरि
थाह छैन तिम्रो लोग्ने पनि
मेरै निम्ति वीर्यदान गर्ने
मेरा पिता हुन या होइनन् ।
आमाको अस्मितामाथि यो निर्घात आरोप हो । आफूलाई जन्माएर, हुर्काएर सबल बनाइसक्दा पनि आमामाथि बाबु चिनाउनु पर्ने जिम्मेदारी बाँकी नै रहन्छ । जसको छोराछोरी माथि कुनै त्यत्रो लगानी नै छैन, उसैको खोजी जहिले पनि । जसले पनि जहिले पनि आमामाथि उसका संतानको बाबु माग्छ । जब आमाकै ओठमा बाबुको अस्तित्व छ भने त्यस्तो लाचार बाब,ु समाजलाई फेरि किन चाहिन्छ ?

यो कविता एउटा साह्रै नै पीडादायी र मनै नअडिने असहाय स्थितिको चित्रण हो । जब हुर्केको संतानले उसकै आमालाई बडा निष्ठुरत्तापूर्ण प्रश्न गर्छ र अविश्वास गर्छ । उनको यौन चरित्र माथि औलो ढड्याउँछ र उनले चिनाएकोे बाबुमाथि नै उसलाई विश्वास हुंदैन । बाबु मानिएकोलाई संतानले जव आमाको लोग्ने मात्र देख्दछ– यो मनस्थिति साह्रै नै कहाली लाग्दो छ । बिसौं शताब्दिले दिएको यो एउटा उपहार हो, जसमाथि टेकेर मानिसले यात्रा गर्नु प¥यो । युद्ध, हत्या, अपहरण तथा असुरक्षित मातृत्वको त्यस युगलाई कविले एकदम नै नजिकबाट देखेका छन् । त्यस वर्तमानबाट भविष्यतिर हिंड्नु पर्ने यात्रासंग उनका कविताहरू तर कहीं पनि उत्साहित र सकारात्मक छैनन् ।

कता कता उनको युवा मनभित्र प्रणय चेत पो जागृत हुन खोजेको हो कि जस्तो कविता पनि लेखे उनले २०१८ सालमा ज्योति वर्ष ३ अकं १ पृष्ठ ४० मा । साह्रै निराशा, नकारात्मक र विकृत मनले भरिएको जीवनबोध भित्र लवेदा, सुरूवाल, कोट, टोपी, शीर्षकको कविता पढ्दा आशाजस्तो पनि पलाउन खोज्छ तर त्यहाँ पनि भने जस्तौ प्रणयगीत छैन । मनलाई प्रशन्न पार्ने शब्दशक्ति छैन । अनुहार उज्यालिने रंग छैन । उही गम्भीरता, उही स्थिरता र उभ्याइ छ ।
लुबेदा सुरूवाल, कोट, टोपी र जुत्ता जस्तै
मैले सम्पूर्ण आफूलाई फुकालेर
सुहाओस् वा नसुहाओस्
ए मेरी प्रिया !
तिमीलाई लाउनु– भनेर दिइसकें
प्वाल परेको भए टाल्नू
कही फाटेको अथवा उघ्रेको भए
आफ्नै अनुकूल सिउनू ।
प्रियालाई पाउन वा फकाउन कत्ति मेहनत गर्नु पर्छ । तिनलाई आफूतिर आकर्षित गर्न कत्ति साधना गर्नु पर्छ ? तर उनी सजिलै कुनै महत्व नै नदिइ भन्छन्– मैले आफूलाई फुकालेर तिमीलाई दिएँ, आफू अनुकुल बनाइ लगाउ वा फाल ! कस्तो अलिकति पनि रागात्मकता नबोकेको होला ? ती प्रियाले पनि के ठानिन होला ?
अर्थात—
कविताले भन्छ–
यहाँ माया प्रेम, वा प्रणय भन्नू पनि फगत औपन्वारिक र वस्तुतामय मात्र छ । त्यस भित्रको रोमाष्टिकता समाप्त भइसकेको छ । अव यौन वा प्रेम दुवै शरीरको जैवीक भोक तृप्तिको क्षणिक अभिव्यक्ति मात्र रहयो । संतान वा पनि पत्निको सम्बोधन भन्नु प्राविधिकता पूर्ण रूपमा स्थापित भएको सम्बन्ध मात्र हो यहाँ भावुकताको शाश्वत उपस्थिति अब रहेन ।
सारा समय नै निराशा र विद्रोहको भूमरीमा घुमिरहेको बेला प्रेम, प्रणय वा आकार्षणको के अर्थ छ । मनको संतुलनसंग यी रोमान्सक चेतनाहरू जाग्रित हुने हुन, आत्म सुरक्षा कै संकटमा फसेको बेला जीवनले त्यो उर्जा कहाँबाट पाउनू ?
२०१९ साल भदौमा रूपरेखा वर्ष ३ अकं ४ पूर्णाङ्क १६ ले छाप्यो —
“हाम्रो घर”
इतिहासको काइले छोपिएको घिनलाग्दो परम्परा टाउकोमा बोकेर हिंडिरहेको लाचार यात्राको चर्चा यस कवितामा गरियो । घर पूरानो हुनु नराम्रो होइन तर घरमा बस्नेहरूको पुरानोपन आधुनिकताको निम्ति संधै बाधक छ । संसारले उन्नतिका कति अग्ला उचाइहरू नापिसक्यो तर हामी हाम्रै पूराना मान्यताका थोत्रा भारीहरू काखीमा च्यापेर बसिरहेकै छौं ।

सरल भाषामा देशलाई नै घरको बिम्ब बनाई यस घरको सिरान तलामा बस्नेको मनपरीलाई निर्ममता पूर्वक प्रहार गरिएको छ । माथि बस्ने वा माथि पुगेकाले तल वस्ने वा पछि छुटेकालाई कहिलै देख्दैन, देखे पनि त्यसको मर्म बुझ्दैन । आफ्नै इतिहासलार्य घोटिघोटी चन्दन बनाएर निधारमा दली इतिहासकै कुरूपताले हाँसोको पात्र भइरहेको हाम्रो आफ्नै स्थिति यस कवितामा उभिएको छ ।

घरको पुरातनता अब असहय भएको छ । यसका दलिनहरू होचा भएका छन् , मन्चाङहरू दुर्गन्धित भएका छन् भित्ताहरू कमजोर र घिन लाग्दो देखिएका छन् । गाह्रो नै यति कमजोर र चिसो भइसकेको छ कुनै बेला पनि जग सहित खस्न सक्छ, पुर्न सक्छ । यस्तो असुरक्षित घरबाट सुरक्षा संभव देख्दैनन् कवि ।
पुराना आदर्शहरू, शास्त्रीय आस्थाहरू, धुलिया लागेका मान्यता र विश्वासहरू हामीलाई शोषण गर्ने प्रमुख साधन भएका छन् । हाम्रो भावुकतालाई कमजोरी ठानेर बारम्बार एउटै आदर्श गीतको रटान गराइएको छ, जसबाट सयौं बर्ष देखि पाइलै चाल्न सकिएन । माथि सिरानतलामा बसेको शत्ताशक्ति हामीलाई उठाउनै नसकिने बोझ भएको छ । विसाउन पनि नपाइने बोकेर टुङ्गामा पु¥याउन पनि नसकिने यो इतिहासले जबरजस्ती सुम्पिएको भारी हामीलाई सदा बोझ भएको छ ।
यस देशमा जन्मनुको कहालीलाग्दो दण्डका रूपमा हामीले भोगिरहनु परेको खाल खालको जहानीया शासन कविलाई असह्य छ । लेख्छन्—
— जरा गाडेको छ यसले रूखले जस्तै
पीपलको रूखले जस्तै
हाँगा विंगा छाँट्ने त धेरै छन्
करौंतीले, हंसियाले अनि खुकुरीले
तर कहाँ पलाउन छोड्छ रूखले
जरै नकाटिकन, जरै नउखेलिकन, गंगटाको पञ्जाले ।
पछिल्लो परिवर्तनका लागि अघिल्लो पुरातनलाई जत्ति नै माया लागे पनि माया मार्नु पर्छ । मरिसके पछि जस्तै प्रियलाई पनि दाहसंस्कार गर्नु पर्छ । उसमाथिको विश्वास र आस्था मरे पछि त्यसको भारी बोकिरहनु हुंदैन । समयसंग बग्न नसके यात्रा छोटिन्छ, त्यो बीच बाटो मै कतै सुक्दछ ।
हाम्रो देशले सयौं वर्षदेखि घिर्सादै लिइ आएको पुरानो थोत्रो शास्त्रीय शत्ता हाम्रो निम्ति संधैको प्रगति बाधक छ यसलाई बदल्न सक्नु पर्छ ।

यो कविता २०१९ सालको थियो तर आजसम्म पनि यसले उसदिन भन्न सकेको कुरा हामी भन्न डराइरहेका छौं । कृष्णभक्त श्रेष्टको राजनैतिक सचेतना तथा इतिहास प्रतिको मुक्त दृष्टिकोणको यो जीवन्त प्रमाण हो । उनको सवैभन्दा विद्रोही क्रान्तिकारी र युगान्तकारी चेतनाले गरिएको यो नमूना कविता हो ।
वैरागी काइलाको मातेको मान्छेको भाषण…… भूपि सेरचनको सर्पको खोजी, द्वारिका श्रेष्ठको, मेरो साथीलाई एउटा चिठठ्ी, रत्न थापाको, एक जोर आँखा मूर्दाको पाखामा आदि कविताहरू यसै चिन्तनका समकक्षीय छन् ।

Facebook Comments Box