रामायण र महाभारतको प्राप्ति : एक तुलनात्मक समीक्षा

२०७८ असार १०, बिहीबार १३:०६

पूर्वीय संस्कृत साहित्यमा रामायण र महाभारत वैदिक संस्कृत युगपछिका लौकिक संस्कृत युगका प्रतिनिधि ग्रन्थ हुन् । संस्कृत महाकाव्य परम्परामा यी दुई काव्य आरम्भिक रचना हुन् भने उत्तरवर्ती साहित्यका लागि उपजीव्य ग्रन्थका रूपमा यिनको विशेष महत्त्व छ । कथावस्तु र शिल्पविधान दुवै दृष्टिबाट रामायण र महाभारत आदि स्रोतका रूपमा प्रतिष्ठित छन् । वाल्मीकिद्वारा रामायण र वेदव्यासबाट महाभारत रचना भएका यी कृतिलाई आर्ष महाकाव्यका नामले चिनिन्छ ।

रामायण र महाभारत दुवै आर्षकाव्य हुन् । यी दुवै ग्रन्थहरू आर्य संस्कृतिको विवेचनामा आधारित छन् ।
विशाल आकारका दुवै महामकाव्य तुलनात्मक रूपमा हेर्दा रामायण (२४००) भन्दा महाभारत (१०८०००) ठूलो काव्यका रूपमा रहेको देखिन्छ ।

रामायण एउटै कविद्वारा लेखिएको हुनाले भाषा भाव र रचनाशैलीमा एकरूपता पाइन्छ भने महाभारत धेरै व्यक्तिहरूद्वारा लेखिएको हुँदा भाषा भाव र शैलीमा विविधता पाइन्छ ।

रामायण एकल नेतृत्वलाई केन्द्रमा राखेर लेखिएको महाकाव्य हो तर महाभारत बहुनायकत्वलाई केन्द्रमा राखेर लेखिएको महाकाव्य हो ।रामायणमा आदिम कालीन समाज, संस्कृति र आचरणको चित्रण गरिएको छ तर महाभारतमा भने विकासशील समाज र आचरणको चित्रण गरिएको छ ।

दुवै काव्यमा युद्घको वर्णनलाई मूल रूपमा देखाइएको छ ।
रामायण आदर्शमय महाकाव्य हो भने महाभारतमा स्वार्थी चरित्रको बाहुल्य छ ।
रामायण मा प्रयोग भएको छन्द लौकिक हो भने महाभारत मा लौकिक र वैदिक छन्दको प्रयोग भएको छ ।
रामायण मा पूर्वीय आदर्शको चित्रण रहेको छ भने महाभारतमा युद्घनीति छलकपट र सस्त्रास्त्रको बारेमा चित्रण गरिएको छ ।
रामायण नैतिकतालाई ख्याल गरिएको महाकाव्य हो भने महाभारत नैतिकता ह«ास भएको समाजको चित्रण गरिएको महाकाव्य हो ।
दुवै महाकाव्यहरू उपजीव्य काव्य हुन् । उत्तरवर्ती कविहरूले दुवै काव्यबाट सामग्री लिई प्रशस्त काव्य र नाटकहरू लेखेका छन् ।

रामायण

रामायण संस्कृत साहित्यको आदि काव्य हो । यो वैदिक र लौकिक संस्कृतको सन्धिकालीन कृति हो । रामायणको रचना ई. पू.५०० देखि ७०० को बिचमा भएको मानिन्छ । रामायणका रचनाकार वाल्मीकि हुन् तर केही विद्वानहरूले वाल्मीकिले तीन र अन्य विद्वानले दुई काण्ड लेखी तयार भएको मानेका छन् । रामायणलाई विश्व साहित्यको सर्वप्राचीन महाकाव्य मानिन्छ । रामायणमा सात काण्ड रहेका छन्, ती हुन्:
१.बालकाण्ड (७७ अध्याय र २२७० श्लोक)
२.अयोध्याकाण्ड (११९ अध्याय र ४२९४ श्लोक)
३.आरण्यकाण्ड (७५अध्याय र २४४३ श्लोक)
४.किष्किन्धाकाण्ड (६७ अध्याय र २४३८ श्लोक)
५.सुन्दराकाण्ड (६८ अध्याय र २८७७ श्लोक)
६.युद्घकाण्ड (१२८ अध्यमय र ५७४५ श्लोक)
७.उत्तरकाण्ड (१११ अध्याय र ३४३३ श्लोक)
बालकाण्डमा रामको जन्म, शिक्षा र विवाहको प्रसङ्ग रहेको छ भने अयोध्याकाण्डमा रामको राज्यभिषेकदेखि वनगमन र दशरथको मृत्युको चर्चा गरिएको छ । आरण्यकाण्डमा दण्ड कारण्य राक्षस वध, सूर्पनखा भेट र सीता हरणको प्रसङ्ग रहेको छ भने किष्किन्धाकाण्डमा राम सुग्रीव भेट र वालिवध हनुमानको यात्राको रोचक सन्दर्भ रहेको छ । सुन्दरकाण्डमा राम र रावणको युद्घको प्रसङ्ग छ भने उत्तरकाण्डमा राम सीताको अयोध्यागमन, राज्यरोहण लोकोपवाद, सीता निर्वासन र लभकुशको जन्मको प्रसङ्ग रहेको छ ।

रामायण तत्कालीन लोक भाषमा लेखिएको महाकाव्य हो । यसलाई जनताहरूले कण्ठस्थ गरेर मौलिक रूपमा गायन गरिन्थ्यो र यो परम्परा अहिलेसम्म पनि निरन्तर कायम छ । कथावस्तुगत स्वरूपका दृष्टिले रामायणमा मर्यादा पुरूषोत्तम श्रीरामको जीवनमा आधारित कथावस्तुले जीवन्त स्वरूप प्राप्त गरेको छ । रामायण सामाजिक, धार्मिक र आदर्शमय जीवनको साश्वत काव्यमय आलेख हो । यसमा तत्कालीन समाजको यावत पक्षको रोचक वर्णन गरिएको छ । दशरथ राजाका तीन रानीको मनोदशा र व्यवहार, सीताको आदर्श चरित्र, सीतासँगको वियोगावस्थामा रामको मानसिक पीडा आदिको चित्रण गरिएको छ । रामको आदर्श जीवन, पति पत्नीको सम्बन्ध, मित्र मित्र बिचको सम्बन्ध,दाजु भाइको सम्बन्ध, कर्तव्य र अधिकारको बारेमा यसमा विस्तार वर्णन गरिएको छ । लौकिक छन्दको प्रयोग यस काव्यको सफल पक्ष मान्न सकिन्छ । रामायण वियोगान्त कथामा आधारित करुण रस प्रधान आदर्शमयी महाकाव्य हो ।

महाभारत

व्यास व्यक्ति वाचक नाम नभई उपाधिबोधक शब्द हो । ब्रह्मादेखि कृष्ण द्वैपायनसम्म ३२ व्यास रहेको उल्लेख छ । वेद विभाजक महाभारत र पुराणका सम्पादक अन्तिम व्यास कृष्णकै द्वैपायन हुन् भन्ने विश्वास गरिएको छ । कृष्ण द्वैपायन पराशर र सत्यवतीका पुत्र हुन् ।

महाभारत पूर्वीय लौकिक संस्कृत साहित्यको दोस्रो ऐतिहासिक महाकाव्य हो । वेदव्यासद्वारा रचित महाभारत आर्ष ग्रन्थ, इतिहास र धर्मग्रन्थ पनि हो । महाभारत बहु आख्यान र बहु नायक भएको बृहत्तर महाकाव्य हो । यसलाई विश्वकोशका रूपमा पनि लिन सकिन्छ । अर्थशास्त्र, धर्मशास्त्र र कामशास्त्र सबैको मिश्रणका रूपमा महाभारत लाई लिन सकिन्छ । महाभारत मा १९ खण्ड २४४६ अध्याय र १०८८०३ श्लोक भएको विशाल महाकाव्य हो । यसमा पाँच पाण्डवको सामूहिक नेतृत्व भए पनि युधिष्ठिरको नायकत्वलाई मूल रूपमा प्रयोग गरिएको छ । कौरव र पाण्डवको वंश वर्णन तथा सत्ताको खिचातानी एवम् महाभारतको युद्घलाई मूल विषय बनाएर लेखिएको यो महाकाव्य आख्यान तत्वका दृष्टिले सवल मानिन्छ । कथालाई रोचक बनाउन र प्रासाङ्गिक विषयलाई पुष्टि गर्न अन्य दृष्टान्त कथा पनि प्रयोग गरिएको छ । शकुन्तला र दुष्यन्तको कथा, मत्स्यावतारको कथा, सावित्रीसत्यावानको कथा, गंगा अवतरणको कथा, रामकथा, नल दमयन्तीको कथा, नहुष राजाको कथा आदि उपाख्यानहरू महाभारतमा वर्णित रहेका छन् । यसमा कोरव पाण्डवको राज्य सत्ता वा अंशवण्डा मुख्य विषय भएपनि तत्कालीन राजनीति, युद्घ नीति, शस्त्र अस्त्रको विकास अवस्था, षड्यन्त्र र स्वार्थी भावनाको विकास आदि जस्ता आनतरिक र बाह्य परिस्थितिको चित्रण गरिएको छ । यसमा नवरसको प्रयोग पाइए तापनि यो शान्त रस प्रधान महाकाव्य हो । प्रकृतिको वर्णन, दरबार बगैँचाको वर्णन, ऋषि कुलको वर्णन, यज्ञको वर्णन, धर्म दर्शनको वर्णन आदिका दृष्टिले महाभारत उच्च काव्यका रूपमा देखा पर्दछ ।

पात्रका दृष्टिले महाभारतलाई हेर्दा यसमा बहु नायक र बहु व्यक्तित्वयुक्त पात्रहरू भेटिन्छन् । नायक नायिकाको प्रेमको चित्रण र प्रत्येक पात्रहरूको भिन्न चारित्रिक विशेषता यसमा पाइन्छ ।

पात्रहरू
युधिष्ठिर : धर्मप्रिय शान्त नायक
भीम : वलशाली हठी नायक
अर्जुन : कुशल योद्घा
श्रीकृष्ण: दुरदर्शी र चतुर नायक
दुर्योधन: वलशाली घमण्डी, धूर्त खलनायक
शकुनी: कपटी, छली खलनायक
कर्ण: कुशल योद्घा घमण्डी चरित्र र दानवीर
भीष्म: कुशल योद्घा, राष्ट्रप्रेमी र वचनबद्घ चरित्र
धृतराष्ट्र: पुत्रमोहले ग्रस्त, द्वन्द्वमोह मनस्थिति भएको चरित्र
महाभारत महाकाव्यको रचनाको मूल उद्देश्य महाभारत युद्घको वर्णन गर्नु हो तर यसमा तत्कालीन युद्घको मात्र वर्णन नभएर एउटा युगकै जीवन दर्शनको चित्रण पाइन्छ । अध्यात्मवादी चिन्तनको प्रसार र विदुर नीति र भीष्म नीतिको माध्यमबाट नैतिक चेतनाको जागरण गराउनु पनि महाभारत उद्देश्य रहेको पाइन्छ । महाभारतमा सरल ललित र क्लिष्ट तीनै प्रकारको भाषाको प्रयोग भएको पाइन्छ । त्यसैले यसलाई बहुलेखकद्वारा रचना गरिएको हो भन्न सकिन्छ । यो लौकिक संस्कृतमा लेखिएको हुँदा यसको लेखनमा पाणिनीय व्याकरणको प्रभाव नपरेको हुँदा पाणिनिपूर्व लेखिएको अनुमान गरिएको छ ।

377 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal