सूर्यः उज्यालोको एक अविश्रान्त माली

महेश पौड्याल

460

कवि सूर्य लोकाजूको जीवनचर्या हेर्दा लाग्छ, उनको दैनन्दिनी नै कविताको पाठशाला हो । जसरी युवा वयमै उनले आफूलाई पानौती आसपास, कविता र साहित्यका थोरै किल्लाहरूमध्ये एक, र अनिवार्य किल्लाको रूपमा उभ्याएका छन्, त्यसले उनको कविता र समग्र साहित्यप्रतिको समर्पण प्रस्टसँग देखाएको छ । उनी करिब करिब मेरा पनि समवयी हुन्, र यो उमेरमा हामीहरू भने आआफ्नै निजी साहित्यिक सुतिखेतीमा लागिरहँदा उनी सामूहिक हितका लागि एउटा संयोजनकारी भूमिकामा छन् । अग्रजदेखि अनुज पुस्ताका कविहरूको मेला गराउँछन् । सम्मान र सम्वद्र्धना गराउँछन् । यात्रा गराउँछन् । र साहित्यिक अनुष्ठानहरूको एउटा अविछिन्न श्रृङ्खलालाई नेत्तृत्व प्रदान गर्छन् । लेखकहरूको भीडमा एक योजकको रूपमा, त्यसैले पनि, सूर्य लोकाजूको स्थान उच्च छ, स्तुत्य छ । उनलाई हाम्रो समयले यसै समर्पणका लागि सम्झिहरने छ ।
जहाँसम्म लेखनको कुरा छ, उनी किशोर वयदेखि नै यतातिर प्रवृत्त भएका हुन् । २०५४ मै, काभ्रे टाइम्समा पहिलो रचना प्रकाशित भएसँगै सिर्जनामा होमिएका लोकाजू मुक्तक, कविता, अनुसन्धानमूलक लेख, प्रेरक उक्तिहरूको सङ्कलन, संस्मरण, हाइकु, गीत, बालसाहित्य र नियात्रा लेख्दै यहाँसम्म आइपुगेका छन् । थुप्रै पुरस्कार र सम्मान पनि पाइरहेका उनले, सम्पादकको रूपमा, अक्षरमार्ग त्रैमासिक पत्रिकालाई नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा एउटा मानक प्रकाशनको रूपमा स्थापित गरेका छन् । २०६९ देखि अक्षुण्ण रूपमा प्रकाशित हुँदै आएको यस पत्रिकाका उनी प्रकाशक पनि आफैँ हुन् । यस्तै विविध दायित्वहरूमा रहेर उनले निर्वाह गरेका साहित्यिक तथा सांस्कृतिक भूमिकाहरूको फेहरिस्त लामो छ, र यो कुरा हाम्रो वयका र हामीभन्दा कनिष्ट युवाहरूका लागि एउटा ठूलो प्रेरणाको विषय हो ।
लोकाजूको कवि व्यक्तित्व उनले जीवन यापन, सत्सङ्ग र अध्ययन गर्ने क्रममा बनाएको आफ्नो विश्वदृष्टिको प्रकटीकरण हो । जीवनप्रतिको अगाध आस्था, विद्यमान राजनैतिक व्यवस्थाप्रतिको असन्तुष्टि, प्रज्ञातान्त्रिक शासन र न्याय व्यवस्थाको वकालत, मानवीय प्रेम र आगतप्रतिको एउटा अगाध विस्वास एक कविको रूपमा सूर्य लोकाजूको विश्वदृष्टि हो । प्रेम, सहयोग, पारस्परिकता, बा–आमाप्रतिको सम्मान आदि कुराको प्राचूर्य त उनको कविताकारिताको केन्द्रीय पट हुँदै हो । तर, यसका अतिरिक्त, समसामयिक राजनीति, मानवीय मूल्यको क्षयीकरण, विदेश पलायन, सामाजिक असन्तुलन, वर्गीय विभेग आदिजस्ता समकालीन यथार्थको सन्निकट उभिएका विषयवस्तुले पनि यस सङ्ग्रहमा यथेष्ट मात्रामा प्रवेश पाएका छन् ।
बाबाको स्तुतिगानबाट प्रवेश गरेको यस सङ्ग्रहले, आमाको महिमामण्डनमा पुगेर पूर्णता पाएको छ । यो आफैँमा एउटा सङ्केत हो, एउटा दर्शन हो, एउटा रूपक अलङ्कार हो । श्रृष्टिको परिकल्पनादेखि, श्रृष्टिउद्यानमा प्रवेशको राजमार्ग यस संरचनात्मक चयनले प्रस्ट्याएको छ । बीचमा आइपर्ने तमाम गौण कुराहरू जीवनका सहायक हुन्, पूरक हुन् ।
यस सङ्ग्रहमा कविको जीवनदृष्टि कस्तो छ? सायद त्यो आम जनसरोकारको विषय होला । सङ्ग्रहित कविताहरू भन्छन्, कवि सूर्य लोकाजूका लागि जीवनमा निराशाको कुनै ठाउँ हुनु हुँदैन । निराशाको कुनै पनि उपादेयता छैन । हु्न त जीवन फूल हो, वैलिन्छ र झर्छ भन्ने आसय पनि कविताले नबोकेका होइनन्, तर त्यस सत्यकथनले कमसेकम जीवनमा फुल्नु र झर्नुको अपरिहार्यतामाथि कुनै एक रुमानी भ्रमको जालो फैल्याउनुभन्दा स्वीकार्नु, र त्यस स्वीकारोक्तिसहित बाँच्नुमा सार्थकता देखेको प्रस्ट छ । आखिर, झर्नुको अपरिहार्यता बोकेरै फुलेको फूल, फुलुञ्जेल प्रेम, सौन्दर्य र सुवास छरेरै फुल्छ । जीवन र फूल उपमेय छन्, । यो सत्यपथको स्वीकारोक्ति कवि लोकाजूको जीवनदृष्टि हो । दुःख यदि छ जीवनमा भने, त्यस दुःखसहित उभिनु, तर भ्रमहरूको बोटो नलिनु उसले अख्तियार गरेको चयन–स्वतन्त्रता पनि हो ।
जीवनचत्रका तमान उतारचढाउ, अनिवर्य स्खलन र अवसान एकातिर छन्, र तिनको बोध पनि कवि लोकाजूलाई छ, तर सधैँ उज्यालो देख्नु र सकारात्मकता गोड्नु उनको कविताकारिताको मूल प्रवृत्ति हो । उनलाई जस्तै परिस्थितिमा पनि विश्वास छ— घाम फुल्ने याम आउने छ । परदेसिएको राम घर फर्केर आउने कुरामा विश्वास छ । समयले युगपुरुष जन्माउन सक्ने कुरामा विश्वास छ । जसले, जसरी बाटो छेके पनि नदी गन्तव्यमा पुग्ने कुरामा विश्वास छ । फगत देखिनकै लागि “उत्कृष्ट” भएर बाँच्नु भन्दा, इमानसहित आफैँ भएर बाँच्नुमा विश्वास छ । वसन्तको आगमन अवश्यम्भावी छ, र वसन्त आएपछि, आफ्नो पनि असली स्वरूपको प्रकटीकरण हुने कुरामा विश्वास छ । घरदेश र परदेशको कहालीलाग्दो कथाको अन्त्य हुने छ भन्ने कुरामा विश्वास छ । प्रेम भएरै जीवनमा सन्तुष्टिको गीत विद्यमान रहेको कुरामा विश्वास छ । “हामी र हामीजस्ता कर्मवादीहरूको जीवनमा पनि एक दिन अवश्य वसन्त छाउने छ” भन्ने कुरामा विश्वास छ । विश्वास छ— श्रमकै जगमा सफलताको घर ठडिने छ । विश्वास छ— आमाको सत्तामा, जसले कहिल्यै, कसैलाई धोका दिन जानेन । सबै सबै उज्यालोमा विश्वास छ । सबै सबै अँध्यारोको अवसानमा विश्वास छ ।
कविता र जीवनको जग नै वश्वास भएपछि, आउनेजाने सामयिक उतारचढाउहरूको प्रकम्प त्यत्ति गुरुत्वपूर्ण छैन कवि लोकाजूका लागि । यद्यपि पनि, समानता र न्यायमा विश्वास राख्ने एक प्रजातन्त्रवादी लेखेक हुनुका नाताले, सामूहिक विकासको राजमार्गमा देखापर्ने विरोधाभास, विकृति र विसङ्गतिप्रति उनका जायज असन्तुष्टि र विरोधले पनि यस कविता–सङ्ग्रहमा यथेष्ट प्रवेश पाएका छन् । तर पनि, बुझ्नु के पर्छ भने, उज्यालोको बाटोमा देखा परेका कसरमसर हुन् ती, जसलाई हटाउनु जरुरी छ । विश्वासको बाटोमा रोडा हुन्, जसलाई मिल्क्याउनु जरुरी छ । सौन्दर्यको बाटोमा कसिङ्गर हुन्, जसलाई बढार्नु जरुरी छ ।
यस्ता रोडाहरूमा थुप्रै कुरा छन्, जसमा राजनीति एक हो, स्वार्थपरकता र कपटका कारण खस्कँदै गरेको मान्छे दोस्रो हो, र समाजमा व्याप्त अर्थिक असमानता तेस्रो हो । कविताका हरफहरूका बीचबीचमा आक्रोशहरू छन्, असन्तुष्टिहरू पनि छन् । प्रश्न छ— परिवर्तनका नाममा किन छायो घोर निराशा? कोपिला मार्ने मालीको तीव्र आलोचना छ । दिनदिन सालिक बन्दै छ योद्धा, कृतघ्न समयका विरुद्धको बयान छ । कसैले चुसेर खोक्रो बनाएको छ देशलाई, त्यसप्रतिको असन्तुष्टि र विष्माद छ । पोटले केही मागिहाल्यो भने, भोजन होइन, पटुकी पो अझ कस्नू भन्ने लाचार बाउको आग्रह छ छोरालाई, जसप्रति कविको करुणा अपरिमेय छ । स्वतन्त्रताको बगैँचामा डढेलो लगाउनेहरूप्रति प्रतिप्रश्न छ । श्रमिक दिवसको शुभकामाना मात्रै दिने तर श्रमको मूल्य नदिने “मालिक” हरूप्रति आक्रोश छ । माटोको हालखबर सोध्दा बुटले कुल्चने पुलिसप्रति आक्रोश छ । निर्दोश झुपडी जलाउने, र त्यहाँ बस्नेहरूको छत खोस्नेहरूविरुद्धको हुङ्कार छ । विश्वासमाथि बलात्कार गर्ने कथित “स्वजन” प्रति सोझो प्रश्न छ— तिमीभित्रको मान्छे खै कहाँ छ? युवाहरूबाट पसिना होइन रेमिट्यान्स माग्ने देशसँग प्रश्न छ । देश थलापरेको बेला ढुकुटीमा जुको पसेको समाचारप्रति विष्मय छ । सयम सन्दिग्ध छ । धीरता भूमिगत भएको छ । कविको आग्रह छ— “मेरो विश्वासलाई विश्वास लाग्ने उत्तर देऊ ।”
यी सार्वजनिक असन्तुष्टिका साझा पाटा हुन् । कविताले सङ्केत गरेअनुसार कविसँग निजी जीवनका ऊहापोह पनि छन् । भन्छन्— “मभित्र उर्लिरहेको रोसी कसले छेक्ला?” उनको स्वीकारोक्ति छ— मनको घाउ बाहिर हुन्न भित्रभित्रै पाक्दछ । त्यसैले भन्छन्— “मनको रोसी बग्नै मान्दैन अचेल बाढी बानेर ।”
मान्छेभित्र खस्कँदो मूल्य, नैतिकता र आचरणप्रति पनि कवि लोकाजू सचेत छन्, र उनको कविताले मान्छेलाई आफ्नो दायित्वबाट च्यूत नहुन चेतावनी पनि दिइरहेको छ । उनलाई लाग्छ, निन्दा गर्नेभन्दा भलो गर्ने ठूलो हो । दिन जान्ने, तर लिन नजान्ने उदार हृदयका महामानवहरूमा उनी धरती देख्छन् । पाइलैपिच्छे पीडाको काँडा भए पनि दुःख छर्दैन ओठ भन्ने कवि लोकाजू, फेरि पनि नयाँ सिन्दूरी सपना कोर्नुमा जीवनको सफलता देख्छन् ।
प्रेम, विश्वास र सम्बन्ध, र त्यसमा अगाध आस्ता कवि लोकाजूको जीवनऊर्जा हो । प्रेम र पारस्परिकतामा उनलाई घाममा जत्तिकै विश्वास छ । सङ्ग्रहभरि छरिएको छ एक प्रेमीको कल्पना, जसमा कवि खडेरीमा पुनः जीवन भर्न आइपर्ने वर्षा देख्छन् र भन्छन्— “म खडेरीले सुकेको माटो थिएँ । तिमी वर्षा बनी आइदियौ ।” उनी वर्षमा प्रेमको रूपक अलङ्कार देख्छन्, र भन्छन्— “हे वर्षा, तिमी सदा झैँ मान्छेका लागि खुसी छर्दै आउनू ।” आफ्नो प्रेमसम्म पुग्न तुषारोको बाटो छेकेर बस्ने कवि लोकाजूलाई विश्वास छ— “तिमी भएर पो मेरो जीवनमा सन्तुष्टिको गीत छ ।” त्यसैले अगाडि भन्छन्— “तिमी आयौ र मेरो मनको बाँझो खेतमा सिँचाइ ग¥यौ हर्षको ।” लाडप्यार र कोमल घुर्कीसहित उनको घोषणा छ— “म तिमीलाई मनको मीत मान्छु । तिमी मनमित खोज्दै फूलको डाली डालीमा डुल्छौ ।” तर पनि उनको प्रेममा कुनै प्रश्न छैन । उनको बलियो बुझाइ छ— “भौतिकताको सीमित घेराभन्दा माथि छौ तिमी ।” यो उनको आस्थाको प्रमाणीकरण हो, प्रेमको सत्तामाथि ।
सूर्य लोकाजूको कवितामा यदाकदा स्वाभाविक मानवीय उछ्वासहरू पनि पाइन्छन्, तर ती क्षेपक हुन्, आंशिक हुन् । जस्तो कि, उनी कताकती बढ्दो उमेर र घट्दो तेजप्रति चिन्तित देखिन्छन् । भन्छन्— “जिन्दगीको घाम बिहानको जस्तै सुन्दर कहाँ हुने रहेछ?” जीवनबाट थकित मानिसहरूको ऊहापोह पनि कतै कतै उनको कविताको कथ्य बनेर आएको छ । भन्छन्— बाध्यताको भारी बोकेर बाँच्नुपरेपछि…आँखा बर्षाउँछ साउने झरी ।” तर यो उनलाई रोक्न सक्ने कुनै पर्खाल भने होइन । उनी घामकै प्रेमी हुन् । उज्यालोकै उपाशक हुन् । सकारात्मकताकै संवाहक हुन् ।
यी हुन्, यस सङ्ग्रहमा समेटिएका कविताहरूको कथ्यको साङ्गोपाङ्गो अध्ययनको सार–संक्षेप । यति तर्कले समकालीन कविताको फाँटमा सूर्य लोकाजू एक प्रजातन्त्रप्रेमी, मानवतावादी, आंशिक रूपले स्वच्छन्दताप्रेमी र बढी यथार्थवादी कवि हुन् भन्ने कुरा सत्यापित गर्दछ । यसै अध्ययनका आधारमा थप दुईचार कुरा भन्न सकिन्छ । सूर्य लोकाजूजस्तो अध्ययन, व्यवस्थापन र सम्पादनमा पोख्त, समय, समकाल, अग्रज र अनुज सबै वयका कवि चिनेको र पढेको कविबाट अझ बढी आस गर्नुपर्छ । कवितामा “आम” विषयबाट पृथकताको एउटा बाटो उनीबाट अब अपेक्षा गर्नुपर्ने हुन्छ, जसबाट उनको एउटा स्पष्ट विश्वदृष्टि र उत्कर्ष परिलक्षित भएर आओस् । उनीबाट अब सूक्तिमयता, र चिन्तनका हिसाबले अझ गहिरा र उन्नत कविताको आस गर्नु नै पर्ने हुन्छ । कविताको संरचनामै पनि सपाट, अविधात्मक अभिव्यक्तिबाट क्रमिक रूपमा निवृत्ति लिँदै, कविताको कलापक्षमा थप कलाकारिता भर्नु उनकै काव्यिक भविष्यको हितमा हुने छ । यो सम्भव छ, किनकि, उनी “तिहार” शीर्षकको कविताका पो कवि हुन् त, जसले कथ्य, कला र भाषा सबै दृष्टिले एउटा दुर्लभ उचाइ चुमेको छ । उक्त कविताको एक अंश छोड्दै बिदा लिन्छु, अस्तु—
घरमा स–साना नानीहरू

आँखाभरि तिहार सजाएर बसेका छन्
नाङ्लाभरि सेलरोटीको आशमा
औंला भाँच्दै दिन गनिरहेका
बालकहरूको मुहारमा
तिहारको लाली पोतिएको छ
त्यसैले
डालोभरि
सयपत्री बोकेर
बजार झरेकी म
फूल बेचेर
तिहार किन्न आएकी ।

—०—

Facebook Comments Box