कविता : चेतनावीज

२०७८ असार ९, बुधबार २१:४९

बाहु छन् वज्रझैँ मेरा कडा चट्टान फोर्दछन्
मेरा अटल आस्थाले वैरीका दम्भ तोड्दछन्
उत्तुङ्ग शैलभन्दा को यहाँ सक्तछ अग्लिन ?
गोर्खाली वीरकी छोरी कसैसामु म झुक्दिनँ ।।

ध्वजाभित्र महाकाश चन्द्र-सूर्य अटाउँछु
म आफ्नै वीरपुर्खाका शौर्यका गीत गाउँछु
मेची, कोशी र कालीका ऊर्जाले झल्मलाउँछु
पसिनाले सिँची धर्ती हीरा मोती फलाउँछु ।।

निष्ठा ढल्न दिने छैन बरु घाँटी छिनाउँछु
मेरो रगत यो मेरै माटामाथि चढाउँछु
कालापानी लिई फिर्ता ध्वजा म फहराउँछु
म औषधि बनी आफैँ सुस्तामा लेप लाउँछु ।।

च्छो-रोल्पा-तिलिचो-रारा दिव्य सञ्जीवनी घट
छन् मेरै लुम्बिनी-काली-गण्डकी मुक्तिका तट
म नै हिमालकी चाँदी तराईकी सुवर्ण म
अहंभाव हुँदै हैन स्वाभिमानी छ गर्जन ।।

बनाई कोख यो धन्य वैदेही, बुद्ध जन्मिऊन्
जरा अशान्तिका मास्ने चेतनावीज उम्रिऊन्
यो मेर‍ो ढुक्ढुकीभित्र प्यारो नेपाल धड्कियोस्
म मरे पनि यो देश अखण्डित युगौँ जियोस् ।

-(छन्द: अनुष्टुप्)

202 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal