ज्यानमारा जात व्यवस्था: मुर्दावाद !!

सङ्गीत सङ्गीत

52

एउटा खड्काजी भेटिए भने अर्का खड्काजी तुरुन्तै अँगालो मारिहाल्छन् । एउटा आचार्यजीले अर्को आचार्यजीलाई गोत्र सोधिहाल्छन् र आफन्तको साइनो लगाइहाल्छन् । एउटा ओलीजी अर्को ओलीजीसँग ओली भएकै कारण तुरुन्तै निकट भइहाल्छन् । हो यसरी ‘ठूल्जाते जीहरुको एकता’ दैनिक जीवनमै प्रतिबद्ध छ ! र, त्यसको लामो प्रक्रियाको निष्कर्षमा राजनीतिक पार्टीहरुको डफ्फा नै बाहुन वा क्षेत्री पुरुषहरुको क्लब बन्छ, बनिरहेकै छ । यसरी नै समाजका संरचना, संस्था, निकाय, मिडिया र ‘आन्दोलन’हरु समेत जातवादी सञ्जाल बन्छन्, बनिरहेकै छन् !

लोकतान्त्रिक होस् या उदारवादी बाउ, प्रगतिशील होस् या बामपन्थी बाउ, आफू पोखरेल छ भने छोरा -छोरीलाई पनि आफ्नै पोखरेल थर लेखाइदिन्छ र चिनारुहरुसँग सन्तानको चिनारी गराउँछ– यी हुन् मेरी छोरी फलानी पोखरेल वा मेरा पुत्र ढिस्कानु पोखरेल ! हो यसरी, पितृसत्ताले घरतहबाटै बाउवंशलाई संस्थागत गर्ने र कथित उच्चजात–वाचक थरमा गर्व गर्न दोहोरो तालिम एकैचोटि दिन्छ ! र, कालान्तरमा यसको निष्कर्ष निस्कन्छ– उत्पीडित जात वा जातिलाई दमन गरिराख्न, भेदभाव गरिराख्न र आफ्ना उच्चजातीय विशेषाधिकार जोगाइराख्न एकताबद्ध हुने अहंकार बेलाबेला प्रकट भइरहन्छ ! अहिले पनि त्यो अहंकारको त्यो कर्कश आवाज सामाजिक सञ्जालमा छ्यालब्याल छ !

अन्तरजातीय प्रेम गरेको निहुँमा जब शर्माजीहरुले विश्वकर्मा युवाहरुको सामूहिक संहार गरेर खोलामा लासहरु मिल्काउँछन्, शक्तिशाली शर्माजी संसद्बाटै हत्याराहरुको बचाउमा कुर्लन्छन् ! मिडियाहरु झुर्लुक्क बोल्छन् र चुप लाग्छन् । बौद्धिक आन्दोलनहरु विषय उठाउँछन् र घर फर्कन्छन् । मौकाछोपुवा नेताहरु एकछिन नारा लगाउँछन् र भोट बटुल्ने अर्को नारा टिप्न जान्छन् । अनि, निष्कर्ष यस्तै हुन्छ– प्रहरी प्रशासन र अड्डा–अदालतहरु पनि शर्माजीहरुकै इशारामा वर्षौंसम्म ल्याङल्याङ गरिरहन्छन्, गरिरहेका छन् ! अनि अदालतकै दैलाभित्र न्यायको हत्या हुन्छ, भइरहेकै छ !

तसर्थ, ख्याल राख्नुपर्ने के छ भने ठूला घटनामा ठूलै कुरा गर्न ठूल्ठुलो स्वरमा खड्काजी, आचार्यजी, पोखरेलजी, शर्माजीहरु पनि समावेशीकरणका पक्षमा र न्यायका पक्षमा देखिन अघि सरिहाल्छन् । तर, जातव्यवस्था र पितृसत्ताका मसिना–मसिना इँटाहरु यिनै जी–मु–ख्य–जी–हरुले नै बनाइरहेका र पर्खाल थपिरहेका त छैनन् ? आफैलाई बदल्ने र सांस्कृतिक रुपान्तरणमा हेलिने मसिना–मसिना काम थाल्न संवाद गरौं ! ख्याल राखौं, ध्यान राखौं, संचेतना राखौं र न्यायदिशातिरको संघर्षलाई सबैभन्दा केन्द्रमा राखौं !

र, यो साताको मुख्य सवाल– काठमाडौंमा जातीय छुवाछुत गरेर रुपा सुनारलाई डेरा नदिने घटना जात व्यवस्थाकै उपज हो । अझ, भर्खरै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री (ख्याल गरौं– शिक्षा तथा विज्ञान प्रविधि मन्त्री !!) सरकारी शक्ति दुरुपयोग गर्दै पीडकलाई छुटाइसकेछन् । विभेद गरिएको देखि पीडक छुटाउनेसम्मको यस घटनाशृंखलाका विरुद्ध जातव्यवस्था अन्त्यका पक्षधरहरुले एकताबद्ध आवाज उठाउन, पीडितका पक्षमा बोल्न र जातव्यवस्था समूल अन्त्यका लागि दीर्घकालीन संघर्षयात्राको सहकार्य उठाउन आवश्यक छ । यसलाई पीडकको जाति, सम्प्रदाय वा संस्कृतिसँग जोडेर साम्प्रदायिक रुप दिन खोज्नु पूर्णतः गलत छ । सबै शोषित वर्ग, उत्पीडित समुदाय र किनारीकृत पंक्ति सबै प्रकारका शोषण र शासनका साङ्ला फुकाल्ने ध्याउन्नामा एकै ठाउँ हुनु दरकार छ । क्रुर प्रकृतिको यो जातको ठूल्याइँलाई राज्य र समाज–संरचनाले बलमिच्याइँ गरेर लागू गरेको थियो इतिहासमा, अहिलेको त्यही थितिको नयाँ रुप चल्तीमा छ । तसर्थ, यो व्यवस्थाकै अन्त्यको समग्र परियोजनासँग जात व्यवस्था अन्त्यको आन्दोलनलाई एकाकार गराउँदै अघि बढ्नु छ !

Facebook Comments Box