कविता : कल्पना

कवि : सबिना गोपाली

23

मेरो घरको झ्यालबाट जब म त्यो हरियो डाँडागाउँ देख्छु,
मलाई त्यतिनै खेर, त्यहा जाउ
त्यो मनोरम ठाँउको भरपुर आनन्द लिउ
जस्तो लाग्छ
अनि म त्यो दृश्यले मोहित भएर ,
झ्यालबाट आफ्नो आधा जिउ निकालेर
पुनः
त्यो डाँडागाउँलाई नियाल्न थाल्छु
र बिस्तारै म त्यहाँ जाने गोरेटो बाटोको नक्सा कोर्दै
म आफ्नो काल्पनिक म लाई उभ्याउदै
लमक लमक लम्किदै अगाडि बड्छु
एकछिन नबित्दै मेरो स्वासले गति लिदै गर्दा
मेरो पाइलाहरु थरथराउन थाल्छन
तैपनी
छरपस्ट भएका स्वासलाई समाल्दै,
“उडि छुनु चन्द्र एक” भन्ने श्लोगानलाई आत्मसाथ गर्दै
म बिस्तारै त्यो उचो उकालो चढ्दै जान्छु
तर के गर्नु ,बीच बाटो पनि नपुग्दै
“अब म एक पाइला पनि सार्न सक्दिन” भन्ने महसुस हुन्छ

एकछिन एकटकले रोकिदै त्यो टुप्पोको गन्तव्यलाई
हेरिरहन्छु
अचानक मनको अन्तर कुनाबाट “त सक्छस” भन्ने
ठुलो आवाजले मलाई घच्घचाउछ
र बेग्लै उर्जाले नुहाउदै
म निस्वासले फटाफट आफ्नो धरातल हेर्दै अगाडि बढछु
एकछिन पछि मैले यसो माथी के हेरेको थे
म त्यो टुप्पोमा पुगेको रहेछु,
मेरो गन्तव्यमा पुगेको रैछु,
अनि लामो स्वास लिदै मैले वरिपरि जब हेरे
मैले मेरा सारा थकाइ बिर्से,
निराशा भुले,
मुस्कानले म धप्पक्कै बले लालिगुरास जस्तै
खुसीले उफ्रि उफ्रि नाचे मयुर जस्तै
किनकी
मैले डाँडागाउँको आकाश छोएको थे
ती मिठा अमृतका बास्ना सुँघेको थे
तरल पसिनाले हरियो डाँडागाउँको माटो स्पर्श गरे झै
मैले सबै भोगेको थे, महशुस गरेको थे

त्यो जित ,
त्यो गौरव ,
त्यो स्मृतिलाई मनभरी सङ्गालेर
मेरो काल्पनिक छाँयालाई
फेरि मैले झ्यालबाट टोलाउदै गरेको
मेरो शरीरमा टासिं दिए
अनि
मेरो कल्पनाले जीवन पायो !