कविता: राजनीति

अच्युत दाहाल

86

नीतिदेखि धेरै टाढा उभिएर,
नमिल्ने गणितका सुत्रहरू मिलाउँदै,
राजनीतिले हात फैलाउँदै गर्छ सत्ताको,
हार्ने र जित्ने मात्र होइन,
हारेर जित्ने अनि जितेर,
हार्ने मन्त्र पनि पढाउँछ राजनीतिले,
राजनीति भनेको राजाकै नीति नै हो,
प्रजाहरू आफ्नै थाङ्नामा सुतेका हुन्छ्न्,
अनेक ‘तन्त्र’ का अलौकिक कथा सुनेर।

सबै असम्भवहरू सम्भव हुन सक्ने,
इन्द्रजालको हिप्नोटाइज मन्त्रहरूको, पुस्तकालय हो राजनीति,
बुद्धिका बृहस्पति र ,
बीरबलहरूकोअखडा घरमा,
जोडेर तोड्ने अनि,
तोडेर जोड्ने मन्त्रहरू भट्याउँदै,
कोही रातभरिमै नायक,
त कोही खलनायक बनिन्छन्,
साटी साटी मुखडा लाएर,
साटी साटी अनुहारमा रङ पोतेर।

असम्भव केही हुँदैन,
राजनीतिको पाशाखेलमा,
आफ्नो र पराई पनि कोही हुँदैनन् ,
राजनीतिको मैदानमा,
अर्जुनका सिपालु हात पनि,
पाण्डवकै विपक्षमा चल्ने,
पुरै सम्भावना देखिन्छ,
चितुवा र बाख्राहरूले,
सँगै पानी खान्छ्न्,
जब सत्ताको तृष्णाले,
हरहर पार्छ आत्मा।

नीतिलाई खल्तीमा राखेर,
संविधानको घाँटी निचोरेको,
हेरिरहन्छ्न् धृतराष्ट्रहरू,
अनि चक्रब्यूहमा,
अभिमन्युहरूलाई राखेर,
शरशर्यामा लडी दिन्छ राजनीति,
रित्तागाग्राहरू रुखो,
स्वरमा बज्छ्न्,
सडक सडकमा,
राजनीति,
आफ्नो देश र जातिको,
आवेग बेचेर,
निर्धक्क निदाई दिन्छ संसद भवन,
तबसम्म नैतिकताले,
आत्महत्या गरी सकेका हुन्छन् ,
आफ्नै विरुद्धमा,
सडकभरि अस्तिपकञ्जरहरू,
मलामी जाने कानेखुसी गर्छन्।

Facebook Comments Box