जात व्यवस्था : अनुभूति र स्वीकारोक्ति

मनोज खतिवडा

150

सामाजिक सन्जालमा आरक्षणको विषय चर्किएको छ । यो संरचनाभित्र मेरो जात/ वर्ग/ क्षेत्र/ लिङ्गका अत्याधिक मान्छेहरु क्षमता र योग्यताको कुरा गर्नुहुन्छ । जब उहाँहरु क्षमता र योग्यताको कुरा गर्नुहुन्छ, मेरो मनमा केही घाउहरु बल्झिन थाल्छन् । खप्नै नसकेपछी ती घाउहरु यहाँ पोखेको छु
प्रसङ्ग १
चार कक्षामा थिएँ । तीन कक्षासम्म चल्ने प्राथमिक स्कुलको पढाइ पूरा गरेर वरपरका स्कुलबाट हाम्रो माविमा आउने विद्यार्थीको घुइँचो हुन्थ्यो । हाम्रो गाउँभन्दा माथी लेकबाट ९/१० जना तामाङ साथीहरु पनि पढ्न आएका थिए । त्यसमध्ये २ जनाको योग्यताले स्कुल पिट्यो । एकजना साथी मसङ्ग निक्कै नजिक भयो, हामी संगसंगै पढ्न थाल्यौं । परीक्षामा हामी हाराहारी हुन्थ्यौँ । नेपाली/ सामाजिक जस्ता विषय भाषाका कारण बिगार्दा बिगार्दै पनि म्याथ, साइन्स र इङ्ग्लिसबाट उसले त्यतापट्टीको नम्बर कभर गर्थ्यो । प्रतिभा, क्षमता र योग्यतामा उ मभन्दा कहिल्यै कमजोर थिएन । अङ्ग्रेजीमा चिट्ठी लेख्नु सरकारी विद्यालयमा ठूलै प्रतिष्ठाको विषय हुनेगर्थ्यो । उसले अङ्ग्रेजीमा चिट्ठी लेखेर स्कुल हल्लाउँथ्यो । मेरो यस्तो प्रतिभाशाली साथीलाई एकदिन यो व्यवस्थाले उल्टै हल्लाइदियो । ७ कक्षा पुग्नासाथ एक बिहान तामाङ बा/ काका/ दाजुहरुको लहरमा मिसिएर मेरो साथी भारी बोक्न लद्धाख हिँड्यो । तामाङहरु लद्धाखलाई “लदक” भन्थे, मेरो साथी झिसमिसेमै लदक हिँडेको थियो । साथीले लदकमा एकपछी अर्को भारी उचाल्दै गर्दा मैले यता कक्षामाथी कक्षा चढ्दै नम्बर भरिएका गह्रुङ्गा सर्टिफिकेट उचाल्दै थिएँ । एसएलसी दिएर थप पढ्न काठमाडौ हिँड्दा मेरो “हैसियत” गाउँबाट सहरमा उक्लिएको थियो । मेरो साथीको “हैसियत” लद्दाखबाट खाडितिर भासियो ।
कहिलेकाही चाडपर्वमा गाउँ जाँदा उ भेटिन्छ । स्कुलमा मलाई तिमी भन्दै अङ्गालो हाल्ने उसले टाढैबाट “सर” भनेर बोलाउँछ । अप्ठ्यारो मानेर हात दिन्छ । हामी असजिलोमै हात मिलाउँछौँ । उसबेला त्यति धेरै मिल्ने हाम्रा बीचमा खै के आइपुग्छ, राम्रोसङ्ग एक अर्काको मुखमा हेर्नपनी सक्दैनौं ।
“पढाइ कति पुग्यो सर ?”- उ अप्ठ्यारो मानेरै सोध्छ ।
“मास्टर्स गर्दैछु”- मपनी टाउको आधी झुकाएरै भुइँ हेरेर जवाफ फर्काउँछु ।
एकछिन उ बोल्दैन । मुर्दा शान्ती उभिन्छ हाम्रो बीच ।
“आफूले त पढ्नपनी पाइएन सर, दुखजिलो गरेरै भएपनी एसएलसी पास गर्ने रहर थियो, भाग्यले साथ दिएन । हामी तपाईंहरु जस्तो भाग्यमानी परिएन मनोज सर”, अब उ अल्लि सुनिने गरि हाँस्छ । बहुत कठोर लाग्छ मलाई उसको हाँसो, आज यो लेख्दैगर्दा पनि उसको हाँसो मेरो मनमा नराम्रोसङ्ग अनुभूति भैरहेको छ । म घरपरिवार, सन्चो-बिसन्चोको असाध्यै रुखा र औपचारिक प्रश्न गरेर हतार हतारै हाम्रो संवाद टुंग्याउँछु । हात मिलाएर विदाइ हुँन खोज्दा हाँस्दाहाँस्दै उसको अनुहारभरी पोखिएको उदासीले मलाई सधैं पछ्याइरहन्छ ।
प्रसङ्ग २
आठ कक्षामा जिल्लास्तरीय परीक्षा हुनेगर्थ्यो । “जिल्ला स्तरीय” को त्रासले हाम्रा ओठमुख सुक्थे । पढाइको रफ्तारपनी डरसङ्गै बढ्दै जान्थ्यो । किताबभरी बाट गणीतका मुख्य प्रश्न हल गर्न सक्ने भएको थिएँ म । तर मेरो एउटा साथी जिल्ला सदरमुकामबाट ल्याएको “प्राक्टिस बुक” का लामालामा समीकरण हल गर्दिन्थ्यो । देब्रे हात चलाउने उ जब १ बजेको छुट्टीमा कक्षाभित्रै बसेर गणितका समीकरणमा पस्ने गर्थ्यो, उसको अनुहारमा देखिने गहन शान्ती र एकाग्रता बेजोड हुन्थ्यो । १ बजेको छुट्टीमा बाहिर बरालिने हामी जब कक्षामा पस्थ्यौँ, गणितका समीकरणबाट टाउको उठाएका उसका आँखा बहुतै शान्त र भावविहिन देखिन्थे । गणीतमा उसको क्षमताको चर्चा कक्षाकोठा नाघेर हाम्रो स- सानो गाउँका घरघरमा पुगिसकेको थियो । उसको योग्यताले एउटा समुदायको “ग्याङ्ग” मा ठूलो हलचल मच्चियो ।
एकदिन त्यही ग्याङ्गमा कसैले भन्यो-“जत्रासुकै हिसाब मिलाए पनि जाँठो दमाइकै छोरो त हो, कहाँको हाकीम हुने हो र ?”
त्यो ग्याङ्गमा जसले यस्तो भनेको थियो, पछाडि फर्किएर सोच्दा मलाई लाग्छ ह्वास्सै जातिवाद गन्हाउने उसले ठिकै भनेको थियो । दमाइको छोरालाई “हाकीम” बनाउने देश थिएन यो । जत्रोसुकै योग्यता भएपनी उसको योग्यता जाँच्ने परीक्षक कहिल्यै भेटिएन ।
त्यही वर्षदेखी उसले खर्च जुटाउन हप्ता दिनमा लाग्ने हाटमा जुत्ता सिलाउन थाल्यो । जुत्ता सिलाउने सियो र अरु खित्रीङमित्रीङ सामान हालेको सानो बाक्सा च्यापेर टाढा टाढाका हाट भर्न साथी हिँड्दै गर्दा म एसएलसीमा सके डिस्टिङ्सन नभए फर्स्ट डिभिजनसम्म ल्याउने तयारीमा जुटिसकेको थिएँ ।
हामी दुइटै राम्रो अङ्क ल्याएर एसएलसी पास भयौं । संयोगले हामी दुवैजना एसएलसी पछि गाउँ छाडेर काठमाडौं गयौं । तर, काठमाडौ पुग्दा हाम्रो बाटो अलग भैसकेको थियो । गाउँमा निलो पेन्टमाथी आकासे सर्ट फर्फराउँदै स्कुल जाने मैले सर्ट र पेन्टमाथी कोट लाएर टाइ हल्लाउँदै कलेज जान थालेँ । मेरो साथी कलंकीको भिडभाड छेउ फोहोर गल्लीको साँघुरो भुइँतलामा टेलर चलाउन थाल्यो । उसको गणीतले सायद ज्यामितीय आकारमा काटिँदै गरेका प्रत्येक कपडाका टुक्राभित्र आत्महत्या गरिरहेको थियो ।
प्रसङ्ग ३
बच्चैदेखी मेरो खेल्ने साथी थिइ उ । मावि शिक्षक बन्ने सपना देख्थी । दक्षिणा जम्मा गरेर अङ्गेजीको ट्युसन पढ्ने खर्च बनाएकी थिइ । बिहान ट्युसन पढ्थी, साँझ घाँसपात गर्थी, बेलुका जुठा भाँडा माझ्नुपर्थ्यो । यसरी उब्रेको समयमा आफ्नो मावि शिक्षक बन्ने सपना पूरा गर्न राती अबेरसम्म पढ्ने गर्थी । बिहान ट्युसन जाँदा निन्द्रा बाँकी नै रहेका उसका रसिला आँखासङ्ग मेरा निन्द्रा पुगेका आँखाको जम्काभेट हुनेगर्थ्यो ।
१२ कक्षा पास गरेपछी उसको बिहे भयो । आफ्नो होइन घरको इच्छामा बिहे गरेकी थिइ उसले । अहिले बच्चा स्याहारेर बस्छे । एकदिन भेटमा हामीले पुराना दिन सम्झियौँ । मैले उसको शिक्षक बन्ने सपना सम्झाइदिँदा छातीमा कतै बिझिरहेको पुरानो घाउ चलाइदिए जसरी झस्किएकी थिइ । आफ्नो रहर पूरा गर्न केही समय बोर्डिङ पढाएकी उसले श्रीमानको दबाबकै कारण पढाउन छाडेकी थिइ ।
“मेरो स्यालरी राम्रो छ, तिमीले बाहिर काम गर्नुपर्दैन, दुई जना र एउटा सन्तानलाई ढलिमली गर्न पुग्छ भन्नुभयो, मैले जित्नै सकिन”, सपनामा पहिरो चलेपछिको उसको बोली निस्तेज सुनिन्थ्यो । श्रीमानको राम्रो “स्यालरी” को बुटले उसका जम्मै सपना थिल्थिलो पारिसकेको थियो ।
“तिमीहरु छोरा मान्छेलाई जस्तो हामीलाई सजिलो नहुने रहेछ, मेरो त यस्तै भयो, जिन्दगी सकिएजस्तै हो, तिमी राम्रो मान्छे बन्नु नि है”, अन्तिम भेटमा उसले भनेका प्रत्येक शब्द मेरो कानमा अहिलेपनी गुन्जिरहेका छन् । मावि शिक्षक बन्ने उसको सपना सरकारी स्कुलका कक्षाकोठाभित्र उड्ने धुलोमा कतै विलिन भयो ।
योग्यता र क्षमताका तर्क गर्ने मेरो जात/ वर्ग/ क्षेत्रका प्रिय साथीहरु र आफन्तहरु,
म उपन्यासकार हुन्थेँ भने कुनैपनी मान्छेलाई यति निरीह र आत्महिन रुपमा प्रस्तुत गर्ने थिइन । उत्पीडन भित्रैका उसका सौर्य र “नायकत्व” कथाहरु खोज्ने थिएँ । तर मैले आफ्नो जीवनयात्रामा देखेका नग्न दृश्य हुन् यी । यस्ता खातका खात दृश्यहरु मेरो मनभरी उकुच पल्टिएका छन् । ती सबै दृश्यहरु आँखा अघि आउँदा पनि म झस्किन्छु । के तपाईं मेरा यी तीनजनै साथीहरु म जत्तिकै थिएनन् भन्न सक्नुहुन्छ ? यी सबै ज्ञान, प्रतिभा,विवेक, प्रज्ञा र मेधा सबैमा मभन्दा अगाडि थिए । तर तिनका सबै योग्यता र सपनाको निर्मम हत्या भयो । कसले गर्‍यो हत्या ? उत्तर सरल छ- हामीले । हामीले नै बनाएको यो क्रुर र अमानवीय व्यवस्थाले ।
प्रिय साथीहरु/ आफन्तहरु/ परिचितहरु,
मलाई पनि लाग्थ्यो टुप्पी बाँधेर पढ्न सक्ने क्षमताले गर्दा हामी यहाँ छौँ । तर, होइन रहेछ । धेरैका घाँटी बाँध्न सक्ने “क्षमता” ले पो हामीलाई यहाँ ल्याइपुर्‍याएको रहेछ । तपाईंहरु आरक्षणसङ्ग झस्किनुहुन्छ । तर, प्रियहरु ! आरक्षण त “ड्यामेज कन्ट्रोल” गर्न हालिएको छारोजस्तै हो । विकृत बनाइएको यहि आरक्षणमाथी पनि बारम्बार घात भइरहन्छ । चाहिएको निशर्त समानुपातिक/ समावेशी प्रतिनिधित्व हो । इतिहासको बाटोभरी रक्ताम्मे बनाइएकाहरुले आफ्नो हक त पाइपाइ हिसाब गरेर लिएरै छाड्नेछन् । यसो गर्दा समाज विघटन हुन्छ भन्नुहोला । सद्भाव विथोलिन्छ भन्नुहोला । देशै टुक्रीन्छ पनि भन्नुहोला । तर, अन्यायमा परेको जो कोहीले न्याय पाउँदा भत्किने र विघटन हुने संस्था र संरचनाहरु ध्वस्त हुनै लायक छन् । अन्यायपूर्ण संस्था, संरचना वा व्यवस्थाको खरानीको जगमा नै नयाँ संरचना बन्नेछन् ।
अन्त्यमा,
मैले जति अवसर पाएँ त्यति अवसर नपाउने मेरै समुदाय/ क्षेत्रका तपाईंहरु धेरै हुनुहुन्छ । रेगिस्तानको बालुवामा रगत छादिरहेका तपाईंहरु कतिपय संरचनात्मक लाभांशका कारण आफ्नो जाती/ क्षेत्र/ वर्ग/ लिङ्गले गरेको उत्पीडनमा कतै प्रत्यक्ष र कतै परोक्ष रुपमा जिम्मेवार हुनुहुन्छ । वर्ग/ क्षेत्र आदिका आधारमा उत्पीडन भोग्ने तपाईंहरुले पनि न्याय पाउनैपर्छ । तपाईंले न्याय पाउनपनी न्यायका विमर्शलाई अवरोध गर्नु हुँदैन । उत्पीडितप्रती विषवमन गर्न मिल्दैन । आज सबैभन्दा बढी उत्पीडनमा परेकालाई न्याय दिने मानवीय व्यवस्थाले नै तपाईंमाथिको अन्यायलाई पनि भोलि न्याय दिनेछ । त्यसैले आउनुस, न्यायको विमर्श र व्यवस्थालाई स्थापित गरौं ।