ठगी मुद्दामा पाँचजनालाई तीन वर्ष कैद

0 97

तनहुँ । व्यास नगरपालिका–२ स्थित दमौली बचत तथा ऋण सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँच जनालाई कैद सजायको फैसला भएको छ । 

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पाँच प्रतिवादीलाई तीन वर्ष कैद र रु ३० हजार जरिवानाको फैसला गरेको हो । जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार व्यास नगरपालिका–२ का दिव्या थापा, राजु थापा, व्यास नगरपालिका–१ का दीपिका थापा, व्यास नगरपालिका–५ का याममाया दरै र व्यास नगरपालिका–१० का चेलीमाया थापालाई तीन वर्ष कैद सजायको फैसला भएको छ ।

साथै बिगोको हकमा सोही प्रतिवादीबाट दामासाहीरुपमा भराउने फैसलासमेत अदालतले गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला अदालतले अन्य प्रतिवादीलाई भने सफाइ दिएको छ । हरिबहादुर गुरुङले १६ जनालाई प्रतिवादी बनाएर विसं २०७५ असार ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दाको दश पटक पेशी चढेको थियो ।

दमौली बचत तथा ऋण सहकारीमाथि रु साढे चार करोड हिनामिना गरेको अभियोग लागेको थियो । यसअगाडि तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापाल द्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका थिए । सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने रु एक लाख धरौटी बुझाएर रिहा भएका थिए । 

Facebook Comments Box
Leave a comment