आउ आसन परिवर्तन गरौँ !

कवि : प्रज्वलअधिकारी

146

तिमीले समाउने कुशको टुक्रा आजबाट म समाउँछु
मैले समाएको खलाँतीको मुख तिमी समात
तिमीले लगाए जसरी आचमानी म लगाउँछु
मैले लगाउँदै आएको पाइन तिमी लगाउँ

सदीयौँदेखि तिमीले बोकि हिँडेको जनै
र मलाई बोकाइएको हडम्लो- साटौँ आउ
सदीयौँंदेखि तिमीले ओढेको जातको बर्को
र मलाई ओढाइएको जातको बर्को- साटौँ आउ

आजबाट-
तिमी मेरो घरमा आउँदा आँगन डिलमा टुसुक्क बस
म तिमीलाई अलक्क दिन्छु पानी
नछोइने गरेर दिन्छु सिलावरको थालमा भात
खाइसकेपछि माझ्नु र घाममा राख्नु
म ती भाँडालाई सुनपानी हालेर भित्र ल्याउँछु
तर म,
तिम्रोमा आउँदा कतै बस्दिनँ, केही खाँदिनँ

तिमीले बिहानै उठेर पढ्ने गरेको बेद
र मैले बिहान उठेर गर्दै गरेको खेती/किसानी साटौँ आउ
बर्षौँदेखि तिमीले राज गरिरहेको शासन, सत्ता
र मलाई भोग्न बाध्य बनाइएको अभाव साटौँ आउ

यो कस्तो टोपी हो ?
तिमीले पहिरिनु पर्ने र मैले लगाए हुने
यो कस्तो दौरा हो ?
तिमीले लगाउँदा र मैले लगाउँदा फरक परिचय बोक्ने
यो कस्तो समाज हो ?
तिम्रो र मेरो फरक फरक पहिचान बनाउने
आउ आजबाट तिमी म र म तिमी बनौँ

आजबाट साटौँ तिमीले समाएको कलम र
मलाई समाउन बाध्य बनाइएको अनौ
तिमीले हेर्ने पात्रो र
मलाई हेर्न बाध्य बनाइएको शोषण
तिमीले पाएको सम्मान र
मलाई जानीजानी गरिएको हेला

आजबाट म
उमेरमा तिमीभन्दा सानो भएपनि तिमीलाई तँ सम्बोधन गर्छु
तिमी मलाई हजुर, ज्यु भनेर सम्बोधन गर्नु
धेरै भो एउटै जात काँधमा बोकेर हिँडेको पनि
आउ आजबाट काँध फेरौँ
र आजैबाट म तिमीलाई तिम्रो जातको नामै काडेर बोलाउछु
तिमी भने मलाई बिष्ट, हजुर भन्नू !

अब सुन !
आजैबाट यो सत्ताले दिएको कोटा तिम्रो नाममा भयो
तिमी चुपचाप यसको भरपुर उपयोग गर्नु
केही नबोलीकन यसको उपयोग गर्नु
अघि भर्खर मेरोमा पानी नखाने तिमी
अहिले अलक्क पानी मागेर खाने भएका छौ
मैले सदीयौँदेखि भोग्दै आइरहेको भेदभाव भोग्दा
कस्तो महशुस हुँदैछ ?

आउ अब आशन परिवर्तन गरौँ
तिमी बसिरहेको पिर्का मलाई लेउ
म बस्दै आइरहेको चिसो भुइँ तिमीलाई दिन्छु !

Facebook Comments Box