झारफुकमार्फत निको बनाउने भन्दै धामी झाँक्रीको समूहले कुटपिट

0

विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी गुरुङमाथि धामी झाँक्रीको समूहले कुटपिट गरेको हो ।

घाइते गुरुङ स्थानीय निजी विद्यालयका शिक्षक हुन् । उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि घरमा आराम गरिरहेका छन् ।

सात वर्षअघि उनलाई मानसिक समस्या देखापरेको थियो । ६ वर्षयता नियमित औषधि सेवन गरिरहेका उनलाई झाँक्रीले निको पार्ने भन्दै कुटपिट गरेका थिए ।

विरामीलाई कुटपिट गर्ने झाँक्री पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका २५ वर्षीय कृष्ण घतानी हुन् । धामी बस्ने क्रममा कृष्णले बारम्बार खुकुरीले भीमकाजीलाई प्रहार गर्न खोजेका थिए । उनीसँगै थान बनाइएको स्थानमा रहेका युवतीहरुले शिक्षकलाई लडाएर मुक्का र लात्ताले प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

झारफुकको नाममा निर्घात कुटपिट गरेपछि पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले कृष्णलाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको छ ।

Leave a comment