कविता : भोलि उज्यालो हुनेछ

कवि : शरद पोख्रेल

87

लगातार झरी परिरहँदा उकुसमुकुस त हुन्छ नै
अझ बीच बीचमा चट्याङ पनि बज्रिरहँदा मुटु त काँप्छ नै
उर्लिरहँदा बाढी मनमा चिसो त पस्छ नै
तर
एक दुई झर मात्र पानीले
खडेरीमा हराइ गएका मुहानहरू फर्किएर नआउँदा रैछन्
एकचोटि नउर्लिकन यो बाढीले
खोलाले आफ्नो सुमधुर लय नसमाउँदो रैछ

हुन सक्छ
यो आकाश निकै दुषित बनायौँ हामीले
र यो बादलले धोइरहेछ यसैगरी

हुन सक्छ
यो जमिनमा धेरै घाउ बनायौँ हामीले
र यो आकाशले रोइरहेछ यसैगरी

हुन सक्छ
यो माटोले हामीलाई केही सिकाउन खोज्दैछ
जस्तो कि
यो लगातारको झरीले हामी जति आक्रान्त छौँ
हाम्रो पनि मनपरीले कोही कति क्लान्त छ

यो पनि हुन सक्छ समयले हाम्रो परीक्षा लिदैछ-

यो झरीले पखालिएको सङ्लो आकाश हेर्न
यो बाढीपछि पलाएको हरियो पृथ्वी सुमसुम्याउन

यो हुण्डरीपछिको शान्त हावाको हात समाउन
उसैले पाउनेछ
जसले यो सङ्घर्ष र धीरताको परीक्षा उत्तीर्ण गर्नेछ

झरी जहिलै पर्दैन- एक दिन बादल फाट्नेछ
उज्यालो त्यसैले देख्नेछ जसले यो रात काट्नेछ।

Facebook Comments Box