कविता: भाषाले हलचल ल्याउँछ
शब्दता पनि भाषा
निःशब्दता पनि भाषा
हाउभाउ पनि भाषा
अस्तित्व पनि भाषा
शून्यता पनि भाषा
जुनसुकै भाषा होस्
प्रयोग गर्ने बित्तिकै
ठूलो हलचल ल्याउँछ ।
ओहो ! सर्प भन्दियो तर्साउँछ
क्षमा पाउ भन्दियो शान्त पार्छ
भोक लाग्यो भन्दियो खान पाउँछ
विवाह भन्दियो श्रीमती पाउँछ
डिभोर्स भन्दियो श्रीमान् गुमाउँछ
टाउको दायाँबायाँ घुमाए इन्कार बन्छ
केही नबोल्नुलाई मौन समर्थन भन्छ
यसरी एक एक शब्दले हलचल ल्याउँछ ।
शब्द शब्दले गीत बन्छ बेस्सरी नचाउँछ
शब्दहरूकै नाटक बन्छ अभिनय गर्न लाउँछ
भाषाले भाषण बनाउँछ आन्दोलित गराउँछ
भोट दिनुस् भन्दियो भोट पाउँछ
म माया गर्छु शब्दले माया पाउँछ
गालीका शब्दले झगडा गराउँछ
लामो गरी ॐ भन्दियो आत्म शान्ति ल्याउँछ
यसरी भाषाले हलचल ल्याउँछ ।
एक शब्द होस या वाक्य
भाषाले लामो प्रभाव छोड्छ
दसैँमा ज्ञानी बन्नु भनि दिएको आशीर्वादले
बालबालिकालाई बर्सभरि ज्ञानी बनाइदिन्छ
होमवर्क गरेर आऊ शब्दले रातभर लेखाइदिन्छ
घरमा बाबा शब्दले जन्मदाता देखाउँछ
मन्दिर छेउमा बाबा शब्दले साधु जनाउँछ
युरोपको याप्पल नेपालमा स्याउ बन्छ ।
शब्द शब्दको थुप्रोले गर्नु गराउँछ
आफ्नै भाषाले अरुलाई आफ्नो बनाउछ
आफ्नै भाषाले आफ्नोलाई बिरानो बनाउछ
परीक्षामा नलेखे फेल, लेखे पास बनाउछ
‘हामी सबै नेपाली’ भन्दा एकता गराइदिन्छ
पहाडी, मधेसी शब्दले विभेद ल्याइदिन्छ
यसरी शब्दले आफूमा सामर्थ्य बोकेको हुन्छ
त्यसैले त भाषाले हलचल ल्याउँछ ।