कविता :कुनैदिन

कवि : रोसन तिमिल्सिना

62

विभेदको पहाड बोकेर हिँडेको समाज
कुन गन्तव्यमा पुगेर विश्राम लिन्छ
र समानताको खुल्ला आकाशमा उड्छ -स्वतन्त्र पंक्षीझैं ?

पहाडको टुप्पोमा
कहिलेसम्म उभिरहन्छ पुरानो झुपडी ?
जहाँ सन्तानको पर्खाइमा छन् -दुइजोर आँखा
आँखैमा सजिएका छन् स्वर्णिम सपना ।

गरिब बस्तीमा डोर्‍याउन
तानिएका छन् कहालीलाग्दा बाटा
कहिले जोगाउला यी बाढी-पहिराले
र बाँकी रहला राहत आउने साँघुरो बाटो ?

अक्षर कोर्न तड्पिएका औंला
हातमा लिएर परिवर्तनका टुक्रा-सपनाका पाना
कहिले लेख्छन् उज्याला बिम्बहरु जिन्दगीका ?

मरुभूमिमा तताएर आफ्नै रगत
कहिलेसम्म पठाउनु पर्ने हो बाध्यतामा रेमिटेन्स
र शीतल बनाउनुपर्ने हो सत्ताका कुर्सीलाई ?

देशको स्वाभिमान बचाउन
होमिएका हजारौं सपना बेपत्ता भएका छन्
स्वार्थमा भ्रम छरेर निर्दोष आँखाहरुलाई
कहिलेसम्म बेचिइरहन्छ हाम्रो नेपाली भूमि ?

कहिले पूरा होलान् सबै आकांक्षा !
परिवर्तन खोजेरै परिवर्तन भएको समाज
अझै कुरिरहेछ र आशामा बाँचिरहेछ -एउटा कुनैदिनको ।

Facebook Comments Box