कविता : भोटु माझीको भाषण !

२०७८ असार २, बुधबार २०:३८

भोटु माझीको भाषण !
– बलराम तिमल्सिना

सरकार !
मैले के त्यत्रो कुरा मागेको थिएँ र ?
मैले दुवाली थुन्ने खोलामा
मेरा बराजुदेखिको हक छ
त्यो खोलामा दुवाली थुन्न
गणतन्त्रमा पनि पाऊँ भनेको त हो !

मैले डुङ्गा खियाउँने घाटमा
मेरा बराजुदेखिको इतिहास छ
मैले डुङ्गा खियाउँने घाटमा
हजुरले दखल नदिनोस् भनेको त हो !

त्यो खोलै थुनेर सरकारको गाममा लगेपछि
मैले कुन खोलामा दुवाली थुन्ने ?
खोला नै नरहेपछि मैले
मैले कहाँ डुङ्गा चलाउँने ?
कुन खोलाको माछा खाने ?
अनि माछै खान नपाएपछि
डुङ्गै चलाउँन नपाएपछि
म कसरी माझी हुने सरकार ?

मलाई थाहा छ
हजुरको गाममा पानीको दुख छ
हजुरको गाममा दुख छ भनेर
मेरो गामको खोलो खोस्न पाइन्छ सरकार ?
‘हाम्रो गंगाजल तपाईलाई
तपाईको मलमूत्र हामीलाई’
यस्तो कुन शास्त्रमा लेखेको छ सरकार ?

हाम्रा खोलामा कमिला दौडाएर
हजुरको सहरको सडक पखाल्ने
यस्तो मनपर्दी र यस्तो बलजफती गर्ने
के देश भन्ने कुरा
तपाईको सहर मात्रै हो सरकार ?

मेरो गामलाई मरुभूमि बनाउँने
र हजुरको राजधानीको तिर्खा मेट्ने
राजधानी भन्ने कुरा
गाम लुट्न मात्र बनेको हो सरकार ?

म लौरो घुमाउँछु अव खुकुरी नचाउँछु
मेरो गामको मेरो खोला
म जसरी पनि बचाउँछु बचाउँछु !

सरकार,
म आफ्नो खोलो मासेर
तिम्रो तिर्खा मेट्न असमर्थ छु !

सरकार,
हामी डुङ्गामा छौं
र डुङ्गा उर्लदो नदीको बीचमा छ
सरकारले जस्तै मैले पनि
अहिलै धर्म छोडौं त सरकार ?

अति भएपछि
एक डबका जाँर पिउँछ र,
भोटु माझी पनि भाषण गर्छ
तपाईलाई मेरो भाषण कस्तो लाग्यो सरकार ?

287 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal