पुरातन परीक्षा विधि किन गलत ?

संजय सुमन

51

शैक्षिक गन्थन

-संजय सुमन

‘भोलि मेरो परिक्षा हो तर मलाई मतलव छैन, यो परीक्षाले मेरो भविष्य निर्धारण गर्न सक्दैन् ।’ – थोमस एडिसन

उपरोक्त भनाई परीक्षा र यसको वैधतामाथिको भयङ्कर कटाक्ष हो तर आजसम्म पनि हामी त्यहि परीक्षा र यसको विश्वसनीयतामा हाम्रो सिकाइ खोजिरहेका छौं ।

सिनियर हाई स्कूलको अन्तिममा लिइने परीक्षाबाहेक फिनल्याण्डमा कुनै अनिवार्य मानकीकृत परिक्षा छैनन् । विद्यार्थीहरु, विद्यालयहरु वा शैक्षिक क्षेत्रहरुबीच कुनै पनि श्रेणीकरण, तुलना वा प्रतिस्पर्धा छैन । स्विट्जरल्याण्डको निम्न माध्यमिकसम्म कुनै अनिवार्य परीक्षा हुँदैन । तर पनि यी देशहरू शिक्षामा अग्रणी छन् ।

Is It Time to Rethink Our Exams?

तर नेपालमा जब शैक्षिक गुणस्तर सुधारको कुरा आउँछ, सम्पूर्ण शैक्षिक नीति नियम, कार्यक्रम परिक्षाकेन्द्रित बनाइन्छ । प्राइभेट विधालयहरूको त कुरै नगरौँ । १० कक्षाका विधार्थीलाई सोध्नुपर्छ, परीक्षाको महत्व । यस्तो लाग्छ कि परीक्षा अचुक रामवाण हो। यदि त्यस्तो हुँदो हो त नेपाल शैक्षिक गुणस्तरको उत्कृष्ट स्थानमा हुन्थ्योहोला अनि फिनल्यान्ड जस्ता देशहरु रुम्लिरहेका हुन्थे । जबकि परीक्षा एउटा सामान्य साधन हो, साधक होइन । केवल पाठ्यक्रमका उद्देश्य के कति पुरा भएछन्  भनेर जाँच्ने साधन । त्यो पनि गर्दैन । त्यसमा पनि लिखित परीक्षा त एउटा तरीका मात्र हो । एउटा अनुभवी शिक्षकले बिद्यार्थीसंग गफ मात्रै गरेर पनि उसको सिकाइ उपलब्धि थाहा पाउन सक्छ। विधार्थी र उसको क्रियाकलाप अवलोकन गरेर थाहा पाउन सक्छ । त्यसकारण परीक्षा सिकाइको मूल्यांकन र मापन गर्ने पूर्ण साधन पनि होइन । आंशिक मात्रै हो । र, लिखित परीक्षामा आएको अंकले त झन् बिद्यार्थीको पेशागत, व्यवसायिक वा भनौं जीवनमा सफलताको निर्धारण गर्दैन । यसले पूर्ण व्यावहारिक वा चारित्रिक पक्षलाई पनि प्रमाणित गर्दैन। नत्र ईन्जिनियरहरूले अख्तियारको हिरासत भरियो भन्ने समाचार किन पढ्नुपर्थ्यो र ? हिरासतमा त फेल भएकाहरू, कम ग्रेड ल्याउनेहरू मात्रै हुन्थे होला ।

परिक्षाको विकल्प खोज्नै पर्छ । कोरोना महामारीले त्यो अवसर पनि जुराइदिएको छ । बाध्य भएरै भए पनि दुइ सत्र कक्षाको अन्तिम परिक्षा नहुनुलाई राम्रो शुरुवात मान्नु पर्छ । अब यसलाई विशेष अध्ययनसहित् वैकल्पिक मुल्यांकन पद्धतिमा जानुको विकल्प छैन ।

यसमा प्राइभेट विधालयहरूलाई विशेष निगरानीमा राख्नुपर्ने हुनसक्छ । कागजको खोस्टोमा अंक देखाएर यिनीहरूले शिक्षामा ठूलै योगदान गरेको भ्रम पनि जो छ । विधालयको विज्ञापनको एउटा ठुलो हिस्सा थियो परीक्षा र अंक या अहिले भनौं भने ग्रेड पोइन्ट । यिनीहरूले अझै पनि त्यहि पुरातन परीक्षा प्रणालीको वकालत पनि गर्न सक्छन् र सरकारलाई चुनौती दिन सक्छन् । यसउपर विचार -विमर्श मात्र होइन, छिटो भन्दा छिटो कार्यविधि बनाएर लागु गर्नुपर्छ ।

विधालयस्तरमा पुरातन परीक्षा विधि किन गलत हो ?

-विधार्थीलाई परीक्षाकेन्द्रित बनाइएको छ । उ सिकाइको लागि होइन, राम्रो अंक / ग्रेडको लागि     पढ्छ । राम्रो अंक / ग्रेडलाई सिकाईको पर्यावाचीको रुपमा बुझ्नु भयंकर ठुलो भ्रम हो ।

-परीक्षाप्रति अति सचेत हुँदा स्वास्थ्य र मानसिक असरलाई नकार्न सकिन्न ।

-परीक्षाले सिकाइभन्दा पनि चिट चोरेर भएपनि अंक राम्रो ल्याउने मानसिकतालाई बढावा दिएको छ ।

-परीक्षाले सामाजिक, सांस्कृतिक, वातावरणीय, आर्थिक तथा अरु विभिन्न कारक तत्वहरूलाई नजर     अन्दाज गर्छ । जबकि कम अंक आउनुमा विधार्थी कमजोर भएर मात्र होइन यी अरु तत्वहरूको पनि   भूमिका हुन्छ ।

-परीक्षा मेमोरीकेन्द्रित हुन्छ र मेमोरी सिकाइको अति न्यून तथा सबभन्दा तल्लो श्रेणी हो । जबकी     सिकाइको आवश्यकता र अर्थ त्यति मात्रै कहिल्यै थिएन । अहिले त झन् फेरिएको छ ।

-परीक्षामा राम्रो / नराम्रो अंक र वास्तविक जीवनसंग सबैको तालमेल पनि छैन । परिक्षामा थोरै अंक     ल्याउँनेले पनि सिकाइमा अब्बल रहेको र वास्तविक जीवनमा सफल भएका अनेकौं उदाहरण छन् ।

-परीक्षाले सिकाइको क्षणिक लिखित वा मौखिक अभिव्यक्तिको मापन मात्र गर्छ । जबकी सिकाइ अरु   कुनै रुपमा पनि अभिव्यक्त भइरहेको पनि हुनसक्छ ।

बरु परीक्षालाई एउटा मुल्यांकन पद्धतिमा मात्र सीमित न राखेर, सिकाई उत्प्रेरणाको रुपमा विकास गर्न भने सकिन्छ । परीक्षालाई स्मार्टरुपमा शिक्षण विधिको रुपमा प्रयोग गर्न सकिन्छ । कहिले कक्षामा विधार्थीलाई विषयवस्तुमा संलग्न गराउन वा मौखिकरुपमा प्रश्न सोधेर कक्षालाई क्रियाशील बनाउन वा Clue sheet दिएर विषयवस्तुको विश्लेषण गर्न । तर परीक्षाकोरुपमा होइन, शिक्षण विधिको रुपमा ।