लघुकथा:- पक्षपात

२०७८ जेष्ठ ३०, आईतवार १५:५०

लघुकथा:- पक्षपात
-कुशल नाथ योगी

“आमा! बिहानै घाँस काट्न जाँदा सबैभन्दा पहिले तिम्रो मुहार देखिएपछि आँसीले सुनमायाको हात काटियो । तिमीले आँखाबाट आँसु झर्दासम्म सुनमायाको गाली खायौ । रुपावती बिहानै धारामा पानी भर्न जाँदा सबैभन्दा पहिले तिम्रो मुहार देखेपछि चिप्लिएर उनको माटाको गाग्री फुट्यो । तिमीले बेसरी गाली खायौ । हरिबहादुर बिहानै सहर जानेबेला तिमी पनि धारामा पानी भर्न जाँदै थियौ । हरिबहादुरले सबैभन्दा पहिले गाउँभरिमा तिम्रो मुहार अनि तिम्रो हातको रित्तो गाग्री देख्यो । केही दिनपछि बस दुर्घटना भएर सहरमा हरिबहादुरको खुट्टा भाँचियो । उसको परिवारले तिमीलाई जता भेट्यो उतै गाली गर्छ । आमा! सबैभन्दा पहिले त तिम्रो मुहार मैले देख्छु । मलाई किन चोटपटक लाग्दैन ? आमा मेरो साइत किन बिग्रदैन ?” सरलाको काखमा सर्दै रमेशले सोध्यो ।

“छोरा तँ त मेरो आफ्नै छोरा होस् । तँलाई के बिग्रिन्थ्यो र ! म यो समाजको नजरमा पो एउटी निमुखी विधवा हुँ । समाजले बोक्सी, वेश्या, चुँडैलजस्ता उपमा दिएको छ मलाई । बिहानै मेरो अनुहार देखियो भने आफ्नो साइत बिग्रन्छ, काम बिग्रन्छ भनेर गाउँका सबैले गाली गर्छन् ।” सरलाले निन्याउरो मुख लगाउँदै छोरालाई सम्झाइन्।

“आमा! गाउँका मान्छको साइत र काम नबिग्रियोस् भनेर तपाईं त्यसैले अचेल ढिलो उठ्नुहुन्छ ?”

“अँ छोरा, अरु कुरा भोलि गरौँला । रात ढल्किसक्यो अब सुतौँ है !” भन्दै सरलाले रमेशलाई सुत्न आग्रह गरिन् ।

223 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal