‘ गिठे–भ्याकुरे ’ नभन्नु होला !

कवि : चेतनाथ कणेल 'हरित'

‘ गिठे–भ्याकुरे ’ नभन्नु होला !

– चेतनाथ कणेल ‘हरित’

उहिल्यै राजाले
‘प्रजा’ भनी नाम देका हुन्
हामी त ‘चेपाङ’ नै हुम्,
हाम्ले उहिल्यै भन्याहुम्
चेपे साक्षी छ,
दरौँदी, त्रिशूली, बुढीगण्डकी र नारायणी साक्षी छन्
राप्ती कान्द्रा, लोथर र मनहरी पनि साक्षी छन्
यी सारा चेपाङ्गी डाँडाकाँडा र पाखापखेरा साक्षी छन् !

सहरतिर लोकतन्त्र आयो भनेको सुनेका हुम्
सहरतिर गणतन्त्र आयो भनेको पनि सुनेका हुम्
कहिले आउने हुन्
हाम्रा खोरियामा ती लोकतन्त्र ?
कहिले आउने हुन्
हाम्रा छाप्रामा ती गणतन्त्र ?
कहिले आउने हुन्
हाम्रा चिउरीबोटमा ‘समाजवाद’का बाछिटाहरू ?

कता हो ‘फुडबैंक’ बनेका छन् रे
कता हो ‘पोषण कार्यक्रम’ चलेका छन् रे
कता हो ‘लुगा कार्यक्रम’ पनि चलेका छन् रे
कता छन् राष्ट्रपति कार्यक्रम ?
कता छन् प्रधानमन्त्री र मुख्यमन्त्री कार्यक्रम ?
कता छन् बीपी, पुष्पलाल र मदन भण्डारी कार्यक्रम ?
हामी त हजुर कहिलेकाहीँ ‘रिडिया’बाट खबर थाहा पाउने हो
हामी त हजुर कहिलेकाहीँ वडा सदस्यको अनुहार देख्न पाउने हो
जसका खबर सुने पनि हजुर
हामी भोकै छौं
जसका अनुहार देखे पनि हजुर
हाम्रा आँङ र आँगन उस्तै छन् !

राजधानीबाट टाढा भएजस्तो पनि लाग्दैन
तराई–मधेसबाट दूरमा भएजस्तो पनि लाग्दैन
तर पनि हजुर,
कसले सरापेर हो खोई, ‘बत्तीमुनिको अँध्यारो’मा भइयो
कसले नकारेर हो खोई, सधैँ ‘नजिकको तीर्थ हेला’ भइयो
अचम्मैले, आन्दा र आँङ नभरिएका दुःखी र पीडित भइयो
अनवरत, आङ र आँगन नफेरिएका
अपहेलित ‘जंगली’ र ‘ओडारे’ भइयो !

सदियौँ साथी भएका छन् यिनै गिठा–भ्याकुर हाम्रा
सदियौँ आधार भएका छन् यिनै चिउरी, टाँकी र तरुल हाम्रा
मकै, कोदो र चामलका रामकहानी सुन्दै
केटाकेटीले पढ्ने ‘असल भोजन र पोषण’का कुरा सुन्दै
जब आउँछन् शिशिर, वसन्त र ग्रीष्म नेपाली आँगनमा
हामी भने,
लोकतन्त्रअघि जस्तै, गणतन्त्रअघि जस्तै
उही गिठा–भ्याकुरकै खोजीमा दिन बिताउँछौँँ
समावेशी विकासका गुलिया नीति र कार्यक्रम सुन्दै
खोरिया व्यवस्थापनका पुख्र्यौली रणनीति बुन्दै हुन्छौँ
र, जिन्दगी गुजार्ने सिलसिला,
हामी फेरि पनि गिठा–भ्याकुरकै जय गाउँदैछौँ
वर्षौंदेखि उनै भोक र पीडाका लय गाउँदैछौँ ।
तर पनि हजुर,
हामीलाई ‘पाखे’ र ‘टाकुरे’ नभन्नुहोला है
हामीलाई ‘गिठे’ र ‘भ्याकुरे’ नभन्नुहोला है !!