‘ भ्वाइस् अफ नेपाल ‘ : एक दर्शक- श्रोताको दृष्टिकोण

संजय सुमन

236

‘ भ्वाइस अफ नेपाल ‘ : एक दर्शक- श्रोताको दृष्टिकोण                                                        -संजय सुमन 

पछिलोपटक ‘ नेपाल आइडल ‘ र ‘ भ्वाइस अफ नेपाल’ ले रियालिटी शोको भार थेगेको छ । हुनत पहिलाका रियालिटी शोहरूभन्दा हरेक कुरामा स्तरीय छ । यो हुनुमा भौतिक पूर्वाधारदेखि टेक्निकल पक्ष र आर्थिक लगानीका आधारहरू छन् । यी सबै सवल पक्षका वावजुद बेला बेला निर्णायक मण्डल ( कोचेज ) र निर्णयहरूमा चुकेको सामान्य संगीतमा रुचि राख्ने वा संगीतका विधार्थीहरूले थाहा पाउने गरि निर्णय आउँदा न मज्जा हुनु स्वाभाविकै हो । अर्को चुकेको भनेको भ्वाईसले कल्पना नै नगरेको र प्रोटोकलमा पनि नरहेको ‘ महागुरु ‘ उपनाम दीप श्रेष्ठलाई दिनु हो । अनौपचारिकरुपमा यसमा कुनै समस्या छैन। दीप श्रेष्ठ एक लेजेण्ड हुन् । उनको गायकी र व्यक्तित्वको छेउछाउ कोहि पर्दैन । उनको सांगीतिक व्याख्या र निर्णय क्षमताले नै भ्वाईस् अफ नेपालमा न्याय रहेको भान हुन्छ । प्रमोद खरेल पनि निर्णय र टिप्पणीमा अब्बल देखिएका छन् । उनले पनि टिप्पणी गर्दा सुर, ताल, भाव सबैकुरा स्पष्ट हुने गरि गर्छन । अरु दुइजना कोच राजु लामा र तृष्णा गुरुङको टिप्पणी हेर्दा तुलनात्मकरुपमा कमजोर देखिएका छन् । लामा र तृष्णाले प्राय: अन्यौलतरिकाले समग्र प्रस्तुतीलाई राम्रो वा नराम्रो भनेर पन्छिन्छन् । यिनीहरुले टिप्पणीमा तोकेरै सुर, ताल, हर्कतका कुराहरू गर्दैनन् । हुनत रियालिटी शोहरूलाई बेला बेला जातियता वा अलि चिनेको अनुहारलाई बढी प्राथमिकता दिएको भन्ने हल्ला छँदैछ।

जेठ २८ , शुक्रवारको नकआउट राउण्डमा पनि केहि यस्तै दृश्य देखिएका हुन् । कोच प्रमोद खरेलको टीमबाट भिडेका थिए सुदिता राई, किरण गजमेर र मेलिना मैनाली । गीत दिनेबेला नै किरणले मेलिनालाई ,’ रुन थाल्यौ कि क्या हो ? ‘ भन्ने अभिव्यक्तिले शोको हुर्मत लिएको हो। यो अभिव्यक्तिले किरणमा अहमको वा भनौं ओभर कन्फिडेन्सको भाव झल्किन्छ । यस्तो अभिव्यक्तिले प्रतियोगीको मनोवलमा क्षति पुर्याएको पनि हुनसक्छ । सबै प्रतियोगीले आ-आफ्नो प्रस्तुति दिइसकेपछि निर्णयमा पनि कोच खरेल चुकेको स्पष्ट देखिन्छ । तीनवटै कोच दीप, राजु र तृष्णाले मेलिनालाइ लविङ्ग गरेका थिए । कोच दीपले सधैँझैँ सुर, नोट, गायकीको समेत व्याख्या गर्दै आफु भएको भए मेलिनालाई छान्थेँ भनेका थिए । किरणको गायकीलाई नोट गर्दै कोच दीपले भने ‘ कुनै गीत जस्तो छ, त्यती मात्रै सफासंग गाइदिए काफि हुन्छ, धेरै हर्कत नै चाहिंदैन ।’ उनले नागेन्द्र थापाको शब्द रचना, गोपाल योन्जनको संगीत र नारायण गोपालको स्वरमा रहेको ‘ बिर्सेर फेरि मलाई न हेर ‘ गीत गाएक थिए । गीतको शुरुवात नै नाटकीय तरिकाको थियो भने गीत नै अप्राकृतिक सुनिने किसिमले अनावश्यक हर्कतहरू लिएका थिए । गीत सुन्दा ओरिजिनल गीतको लय पनि भताभुङ्ग पारिएको थियो । यति हुँदा हुँदै पनि कोच प्रमोदले ‘ पछि दमदार प्रतियोगी चाहिन्छ ‘ भनेर किरणलाई छानेका थिए । अरुबेला कोच प्रमोदले ‘ आजको प्रस्तुतिलाई आधार मानेर ‘ निर्णय लिएको भन्थे तर यो निर्णय हेर्दा प्रस्तुतिभन्दा पनि पहिलादेखि कै चिनजान रहेको र पछिको लागि दमदार प्रतियोगी भनेर निर्णय गरेको स्पष्ट हुन्छ । यधपी यसमा कुनै शंका छैन् किरण गजमेर प्रतियोगीताका शक्तिशाली प्रतियोगी हुन् ।

यो नकआउट राउण्डमा सुदिताले बसन्त चौधरीको रचना, न्हू बज्राचार्यको संगीत र श्रेया घोषालले गाएको ‘ तिमी आयौ, बहार आयो ‘ भन्ने गीत गाएकी थिइन् भने मेलिनाले यादव खरेलको शब्द, नातिकाजीको संगीत र फत्तेमान राजभण्डारीको स्वरमा रहेको ‘ यस्तो पनि हुँदो रैछ ‘ भन्ने गीत प्रस्तुत गरेकी थिइन् ।

त्यसपछिको अर्को तीनजना थिए कोच दीपबाट नाका आउटको लागि भिडेका थिए इशान राई , विजय भण्डारी , जेनिश राई । इशानले यश कुमारको शब्द , संगीत र एकदेव लिम्बुको स्वरमा रहेको ‘ तिम्रो मुटुमा ‘ भन्ने गीत गाएक थिए । त्यसपछि विजय भण्डारीले रोशन अधिकारीको शब्द र उज्ज्वल सागरको संगीत र गायनमा रहेको ‘ सुन न , तिमी खुशी त् छौ ‘ अनि जेनिशले राजनराज सिवाकोटीको शब्द -संगीत र मार्मिक लामाद्वारा स्वरबद्ध ‘ फुलबुट्टे सारी ‘ गीत प्रस्तुत गरेका थिए । उनको निर्णयमा पनि प्रमोद खरेलको जस्तै भविष्यमा अब्बल प्रतियोगीजस्तै हो । निशानले लो नोटमा चुकेको पक्कै हो तर उनको गायकी, भाव सम्प्रेषण, हर्कत् अब्बल देखिन्छ ।

हुनत् हामीले हेर्ने भनेको प्रशारण गरिएको कुरा र दृश्य मात्रै हो । भित्र अरु पनि नीति नियम हुन् सक्छन्। त्यो उनीहरू नै जानून् ।

Facebook Comments Box