कविता : फूलहरूको म्युजियम

कवि : शरद ऋतु

15

-शरद ऋतु 

हिँड्दा-हिँड्दै आइपुगेँ
फूलहरूको उपत्यकामा,
उमङ्गको झरीमा निथ्रुक्क भिजेका एक बगान फूलहरू
म नजिक आए
र एक वसन्त अँजुलीमा भरिदिए,
आकाशभन्दा पनि हलुका हातहरूले डोर्‍याउँदै लगे
फूलहरूको राज्यसभामा,
मायावी रङहरूको कोलाज
वासनाको वायुपङ्खी उडान
सौन्दर्यको एक पृथ्वी बगैँचा
लाग्यो एक निमेषमै एक शताब्दी फूलहरूको पर्व मनाएँ
आतिथ्य सत्कार सकिएपछि
केही जोडी फूलहरू आए
र मलाई फूलहरूको म्युजियम देखाउन लगे,
ओह! कस्तो विरोधाभास
फूलहरूको म्युजियम कस्तो वीभत्स!
फूलहरूको म्युजियममा
रुखो हावाले हल्लाइरहेको थियो
पक्षघात भएका इन्द्रेणीहरू
मरुभूमिको गर्भभित्र निसासिँदै थिए
अर्धचेत खोलाहरू/नदीहरू
हिउँ कालै फुलेको थियो
र जन्माइरहेको थियो
आत्मा च्यात्तिने चिसो
म अवाक् भएँ
र फूलहरूकी रानीको पछि-पछि लागेँ
उनले मलाई चुपचाप फूलहरूको उपत्यकाको सिमानासम्म पुर्‍याइन्
र मेरो हात बतासमा छोडिदिँदै भनिन् –
आदिमा फूलहरू पनि तिमीजस्तै मान्छे थिए!!

Facebook Comments Box