बलात्कार विरुद्ध शृङ्खला कविता

२०७८ जेष्ठ २६, बुधबार ०९:२१

१. घोगा

खोसेलाका पत्र पत्र निकाल्यो,
माथीदेखि तलसम्म नियाल्यो,
र घुटुक्क थुक निल्यो ।

दार्यो
कोतर्यो
कोट्यायो
निचोर्यो
रस आएसम्म चुसेर
घुरेल्नामा फ्यात्त मिल्कायो ।

उता खोया मुर्छित् छ
एता नङ्ग्रे चर्पी नजाँँदै भोकाएको छ
र मौका छोप्दै छ कसैको मकैबारीमा
फेरि घोगाहरू नङ्ग्याउन ।

२. जाँघ

फैलाईदिएकी छु मैले जाँघ
पस् कहाँ सम्म पस्न सक्छस्
सिनित्तै पस् ।
याद राख् ,
जति नै भित्र पसे पनि
तेरो पहिलो घर भेट्टाउने छस् तैँले,
यो धरतीमा
खस्नु भन्दा पहिले त्यहीँ बस्ने गर्थिस् तँ ।

एउटा प्रश्न सोध्छु, नढाँटी उत्तर दे !

– कस्तो आनन्द आयो तँलाई
आफ्नो घर आफैंले भत्काएपछि ?

३. उपहार

म तिमीलाई
मेरो यौनी र स्तन काटेर उपहार दिन्छु
मन लाग्दो गर
चाट, टोक, निल्छौ भने बरु सिनित्तै निल
चाहे खल्तीमा राख,
चाहे आफैं भित्र राख,
भोक लागेको बेला खाउ, पिउ, रमाऊ ।

कसरी दिउँ भन,
रगत पुछेर दिउँ कि
रगताम्य ?

४. किचकन्या

तिम्रो आराधना देखि
म प्रसन्न भएँ
भन तिमीलाई के वरदान दिउँ ?

हे आशुतोष !
विधिको विधानले मरे भनेँ म
हजुरको इच्छा,
कसैले बलात्कार गरेर मार्यो भने
मलाई किचकन्या बनाईदिनुहोस् प्रभु !
… म पिउन सकुँ
यौनी रस पिउनेहरुको
लिङ्गको आलो रगत ।

५. जेन्टल म्यान

किमो थेरापी जस्तो,
आगोले भत्भती पोले जस्तो,
घाउमा नुनचुक छर्किए जस्तो,
अथवा
कुनै क्रोनिक डिजिजको
कठिन उपचार पद्धति जस्तो,
पिडायुक्त हुन्थ्यो भने यौन प्यास
जेन्टलम्यानका निम्ति,

निर्मला सम्झना र भगिरथीहरू
बलात्कृत भएर
पाशविक बलमा निमोठिने थिएनन् ।

६. लिङ्गको नाप

स्त्री जाती हुनु भनेको
जननी हुनु होइन रहेछ,
योनी र स्तनधारी हुनु रहेछ ।

चाहे होस् – नमुना योनी
चाहे हुन् – कोपिला स्तन
गल्ली – गल्छेडामा
हिमालका काखहरूमा
तराईका फाँटहरूमा
पहाडका कुना कन्दराहरूमा
योनी र स्तनको नाप नाप्न अभ्यस्त छन्
आदिम लिङ्गहरू ।

सोच्दै छु –
म कहाँबाट सुरु गरौं अब
लिङ्गको नाप नाप्न ?

170 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal