कविता : निलो डायरी

विक्रम पवन परियार

35
निलाे डायरी
– विक्रम पवन परियार
रामबहादुर बिस्ट
विहानै आए कपडा लिन ।

 

घरमा आमा सिकिस्त छिन्
बिस्टीनी बजैलाई चटाराे छ ब्लाउज लगाउन
बा’लाई आमाकाे पनि माया छ
बिस्टहरूकाे पनि माया छ
बा भन्न सक्दैनन् घरमा श्रीमती बिरामी छे ।

 

बिस्टहरू,
भन्दैनन् कपडा पछि सिलाइदे
भन्दैनन् श्रीमतीकाे उपचार गर्नु
ब्लाउजकाे याैटा बाउला मात्रै जोड्न बाँकी थियाे
नभन्दै घाम डुब्नु आमा खस्नु एकसाथ भयाे ।

 

बा’लाई सुनाऊ ब्लाउज सिलाई नसकिएला
नसुनाऊ आमा बित्नुभाे ।

 

सियाेले कपडामात्रै खाेप्दाे रहेनछ
सियाेले मुटु पनि घाेच्दाे रहेछ ।

 

सियाे भाँच्चिनु र भाग्य मेटिनु
दियाे निभ्नु र आमाले आँखा चिम्लिनु
एकैसाथ भएकाे दिन म टुहुराे भएकाे हुँ ।