कविता – मखुण्डो

अच्युत दाहाल

41

मखुण्डो 

-अच्युत दाहाल 

 

हिजोआज छरपष्ट

देखिएका

नेपाली मखुण्डोहरु मध्येका

एउटा मखुण्डोले

अर्को मखुन्डोलाई भन्यो,

‘’ तपाईँ त के सारो प्रतिगामी भाको । ’’

 

उक्त मखुण्डोले जवाफ दियो ,

‘’ नेपाली लोकतान्त्रिक गणतन्त्रले

आँखा उघारेकै दिन

तिमीलाई देखेको हो

आफ्नो अनि तिम्रो अनुहारको नग्नता

अनि यहीँ नग्नतासँग

उदाङ्गिएका असुरक्षाहरु

त्यही दिनदेखि लगाएको त हो

हामीले अनुहारमा । ’’

 

कयौँ साल यो अनुहारको

सुरक्षामा

लुक्दा लुक्दा

ती अनुहारहरुले

आफ्नो अस्तित्व सुम्पिँदै गएका छन्

अनि

बिस्तारै मखुण्डोमा

परिणत हुँदै गएका हुन्

यी अनुहारहरु ।

 

थाहा छ नि

यी अनुहारहरुलाई

अनुहारहरुको वास्तविकता

तर यी खपेटाहरुमा लुकेका

अनुहारहरुले देश र जनताप्रति

उदाङ्गिने साहस

कहिले देखाएनन्

बस्

हिँडी बस्छन् मखुण्डोहरुले

रुचाउने मखुण्डो लगाएर ।

 

यो मखुण्डै मखुण्डोको

भिडभाड्को देशमा

आफुले आफैलाई नायक देख्ने,

आफुले आफैलाई विजयी घोषणा गर्ने,

आफुले आफैलाई बादशाह सम्झने,

एउटा नाङगो मखुण्डोलाई

सबैले भन्ने गरेका छन्

आहा ! “क्या राम्रो अनुहार । ’’