‘सवाई काव्यको सैद्धान्तिक परिचय’ को सामान्य परिचय

होम सुवेदी

7

डा. स्व द्रेणकुमार उपाध्यायको २०६७ सालमा मीरादेवी पौडेलको प्रकाशकत्वमा प्रकाशित पुस्तक हो ‘सवाई काव्यको सैद्धान्तिक परिचय’ । यो कृति आकारमा सानो भएर पनि कृतिले समेटेको विषय अत्यन्त महत्वको र विषद किसिमको रहेको छ । नेपाली साहित्यको फाँटमा सवाई साहित्य एक अलग विशेषता बोकेको साहित्यिक फाँट हो जसको आफ्नै परम्परा, इतिहास र साक्षी छ । सवाईका बारेमा कृतिकार स्वयंको प्राक्कथन र प्रकाशिकाको सानो प्रकाशकीय मन्तव्यका साथ यो कृतिमा सवाईको सिद्धान्तलाई केलाउन चिनाउने र यसको नेपाली साहित्यमा के कस्तो इतिहास छ त्यस कुरालाई पर्घेल्न खोजिएको छ । सवाई भनेको नेपाली साहित्यमा छन्द र काव्यको रुपमा रहेको छ भन्ने कुरा जनाउ गर्दै यसको सैद्धान्तिक परिचयको आरम्भ गरिएको छ ।

हिन्दीको ‘सवैया’ नामक मात्रिक छन्दका रूपमा मानिने र नेपालीको सवाई एकै जस्ता देखिए पनि भिन्न हुन् भन्ने कुरा यहाँ लेखकले ठम्याएका छन् र सवाई नेपालीकै मौलिक शब्दका रूपमा रहेको जनाएका छन् । साथै यसका विभिन्न कोणका अर्थहरुको पनि खुलासा र तुलना गरेका छन् ।

सवाई छन्द र यसको नेपालीमा प्रयोग र परम्पराको उल्लेख गर्दै नेपाली लोकगीतका सन्दर्भमा सवाई काव्य जोडिएको कुरा आएको छ । लोकगीत लोकगाथा र सवाईमा समानता र भेदकताका रेखाहरूबारे निर्क्यौल छ । साथै सवाईका विशेषताहरू र अन्य लोक छन्दहरुका विचमा तुलना गरी समानता र भिन्नताको छानविन गर्दै विभाजन र वर्गीकरण आदिबारेमा गम्भीर दिग्दर्शन गरिएको छ ।

नेपाली लोकछन्दका सन्दर्भमा सवाई काव्यमा रहेका लय छन्दसंरचना र अर्थको परिभाषा गर्दै छन्दको उत्पति प्रयोग र परम्पराबारे खास खोज अनुसन्धान गरिएको छ । यस क्रममा छन्दको आरम्भकाल वा वैदिक कालसम्मका कुराहरूसमेत यहाँ आएका छन् । सवाई एक छन्द हो भन्ने कुरालाई पुष्टि गर्न शास्त्रीय छ्न्दका प्रकार र तिनका भेदको समेत यहाँ अनुसन्धाता पौडेलले गहिरो खोजअनुसन्धान गरेको देखिन्छ । यी विषयहरुको उठान र परिचय प्रस्तुत गर्दै छन्दशास्त्रकै सामान्य परिचयसमेत दिएको देखिन्छ ।

यसपछि नेपाली लोकछन्दहरुको परिचय आउँछ । शास्त्रीय छन्द हजारौँ वर्ष पहिले अस्तित्वमा भएर लक्षण उदारहण आदि पनि पाइन्छन् तर नेपाली लोकछन्दका बारेमा परिचय परिभाषा र सिद्धान्ता नपाइएकोले यसको सिद्धान्तको खाँचो अनुभव गरी नेपाली लोकछन्दको विभाजन गर्दै झ्याउरे, सेलो र सवाईबारे विशेष विभाजन गरिएको छ । सेलोका प्रकार र यसको प्रयोगावस्था खास अवसरमा हुने भए पनि झ्याउरे र सवाई भनेको खास पर्व वा जात्रामा नभई जुनसुकै अवसरमा पनि प्रचलनमा हुने कुरा छ । तर झ्याउरेका केही प्रकार भने खास अवसरमा प्रचलित हुने कुरा पनि स्मरणीय छ । यसका साथै नेपाली छन्द सवाई र हिन्दीको सबैया छन्द भनेको एक हैनन् भन्ने कुरा रुपगत भेद देखाएर पुष्टि गरिएको छ ।

यसपछि सवाई छन्दको स्वरुपबारे सिद्धान्तकारले चर्चा गरेका छन् । अनेकौँ परिभाषा र प्रयोगहरुलाई साक्षी राखेर उदाहरण दिँदै सबाई बार तेर र चौध अक्षरका बढी हुने कुरा छ । शास्त्रीय छन्द जति कठोर नियम यसमा नहुने कुरा सोदाहरण दिइएको छ र सवाई काव्यका मुख्य मुख्य विशेषताहरूको उल्लेख छ र आकलन छ ।

यसलाई नेपाली लयप्रधान चतुष्पदी छन्दका रूपमा मानिएको छ ।

प्रत्येक पाउ बारदेखि चौध अक्षरका पाउ हुने कुरामा किटान गरिएको छ ।

कहाँ कहाँ लघु र गुरुको खाँचो पर्छ अनि यति वा विश्राम कहाँ हुन्छ यसबारे किटान गरिएको छ ।

शास्त्रीय छन्दमा जसरी यसमा अजन्त हलन्तलाई कडाइका साथ कायम गरिन्न भन्ने कुरा पनि देखिएको छ ।

वीरभावधारामा रचिने रचनाहरु सवाई छन्दमा पाइएको कुरा पनि देखिन्छ ।

झ्याउरे र सेलोका भेदहरु भएझैं यसका भेदोपभेद नपाइने कुरा पनि देखिन्छ । यी विशेषता देखाएर सवाईको नेपाली काव्यको इतिहासमा प्रयोगको परम्परामाथि विशेष खानतलास गरिएको छ र नेपाली समाजको उदयकालदेखि नै सवाईको अस्तित्व भएको मानिकएको छ । नेपाली कविताको प्राथमिक कालदेखि नै यस छन्दमा रचना गर्ने परिपाटी बसेको र माध्यमिक कालमा अझ फस्टाएको अनि आधुनिक कालमा पनि यसको अवस्था उत्साहप्रद रहेको कुरा पनि सिद्धान्तकारले बडोऊ किटानीका साथ दिएको पाइन्छ ।

नेपाली कविताका विधा उपविधाका सापेक्षतामा सवाईको अध्ययन समेत भएको छ । र सवाई छन्द नेपालीको मौलिक छन्दका रुपमा मान्दै यस छन्दको आयाम स्वरुप र संरचनातर्फ विचार विमर्श भएको छ । खास गरी यस छन्दमा फुट्कर रचना अधिक पाइएको र यी फुट्कर रचनाबाहेक खण्डकाव्यको आयामसम्मका रचना यस छन्दमा उपलब्ध भएको कुरा सविस्तार देखाइएको छ र सिद्धान्तको केही बुँदामा निचोड दिने काम गरी कृतिको मूल पक्षलाई समापन गरिएको छ ।

कृतिका अन्तमा परिशिष्टहरु पनि छन् । तिनमाः

क परिशिष्टमा विसं १९०० देखि २००० सम्म प्रकाशित र उपलब्ध भएसम्मका नेपाली भाषाका सवाई कृतिको विवरण सविस्तार दिइएको छ ।

ख परिशिष्टमा २००१ सालदेखि २०५६ सालसम्मको अवधिमा अनुसन्धाताले पाएका वा उपलब्ध भएका सवाई काव्यको विवरण दिएका छन् ।

ग परिशिष्टमा नेपालीमा रचिएका र उल्लेख भएका तर उपलब्ध नभएका कतिपय कृतिहरुको विवरण देखे सुने जानेका व्यक्तिहरुको हवालाका साथ पेस गरिएको छ । अनि कृतिको तयारी गर्दा आवश्यक भएका वा उपययोग गरिएका समग्र कृतिहरुको विवरणात्मक सन्दर्भ ग्रन्थसूचीहरूको विवरण छ । यसरी यो कृति समाप्त भएको छ ।

सारमा भन्नु पर्दा नेपाली भाषामा प्रयोगमा आएको सवाई छन्दको सिद्धान्त निरूपण गरी यसको इतिहास प्रकार भेद आदिबारे गहिरो अनुसन्धान यस ग्रन्धमा प्रस्तुत गरिएको छ जुन यस क्षेत्रका अध्येताका लागि एक आधार ग्रन्थ हुने कुरामा अशङ्क हुन सकिन्छ ।