प्रधानमन्त्री ओलीद्वारा सात मन्त्रालयमा मन्त्री थप्ने तयारी

160

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग मौजाद रहेका सात वटा मन्त्रालयमा मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । काम चलाउ सरकारका प्रधानमन्त्री ओलीले शुक्रबार जसपाका १० जना सहित मन्त्रीपरिषदमा व्यापक हेरफेर गरेका थिए

प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ गरी चार जनाबाहेक पुराना सबै मन्त्री हटाउँदै मन्त्रीपरिषद गठन गरेका थिए ।

यसैबीच आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको एमालेका नेताहरुले बताएका छन् । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उहाँहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

नाम नबताउने शर्तमा एक एमाले नेताले भन्नुभयो, “भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।” भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनी रानाको नाम अग्रपङ्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रकोरुपमा परिचित बस्नेत मन्त्री भएका सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिए ।

सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमालेबृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिनु भएमा उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गरेको बुझिएको छ । यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका खगराज अधिकारी पनि गृहमन्त्रालयको इच्छा व्यक्त गरेको एमाले स्रोतले बताएको छ ।

Facebook Comments Box