शिक्षकले गल्ती गर्नुपर्छ !

84

गल्ती भनेको सामान्यतया कुनै स्थापित विषयवस्तु , संस्कार, दृष्टिकोणलाई जस्ताको त्यस्तै अभिव्यक्त गर्न नसक्नु हो भन्ने बुझिन्छ । जब हामीले गर्ने कुनै कार्य अरू कसैको दृष्टिकोणभन्दा फरक हुन्छ , त्यो दृष्टिकोणबाट गल्तीको सिर्जना भएको देखिन्छ । यसो बुझ्दा गल्ती आफैमा गल्ती होइन र हुँदैन । कसैले कुनै मानकको कसीमा राखेर हेर्दा गल्ती देखिएको हो । अथवा मानौँ, गल्ती नै भएपनि यसले मानक विषयवस्तुलाई फेरि पनि प्रमाणित गर्न चुनौती दिएको पनि मान्न सकिन्छ । या उसले आफैले पनि, गल्ती हो भने, सच्चिएर सुधारको बाटो तय गर्छ ।

प्राय:शिक्षकले कक्षाकोठामा पढाइरहेको बेला कुनै पनि गल्ती गर्न चाहँदैनन् । एकदम सचेत भएर विषयवस्तुको व्याख्या गर्ने गर्दछ।
तर गल्ती गर्दै सिकाउने एउटा अति नै उपयुक्त शिक्षण- सिकाई विधि साबित हुन सक्छ। गणित विषयको लागि अझ बढी। गल्ती गर्नु प्रयत्नको पर्यायवाची हो। गल्ती गर्नु सृजनशीलताको प्रमाण हो। गल्ती गर्नु एकाग्रताको प्रतीक हो । गल्ती आविष्कारतिरको यात्रा हो । गल्ती खोज हो ।
कहिलेकाहीँ गल्ती जानी जानी पढाउनुस् , सिकारुलाई ती गल्ती ठम्याउन समय दिनुस् , अनि एक – दुई दिनपछि सच्याउनुस् । यसले सिकाइमा एउटा अविस्मरणीय छाप छोड्छ ।

  • शिक्षकले गल्ती गरेको ठाउँमा विद्यार्थी सचेत भएर ठम्याइरहेको हुन्छ, शिक्षकसँग अन्तरक्रिया गर्ने वातावरण बन्छ, जसले दिगोसिकाइको काम गरिरहेको हुन्छ ।
  • शिक्षकले गरेको गल्तीमा विद्यार्थीले विकल्प वा त्यसको वैकल्पिक दृष्टिकोणको खोजी गरिरहेको हुन्छ । उसले शिक्षकको दृष्टिकोणलाई चुनौतीसहितको खोज- अनुसन्धान गर्न प्रयत्न गर्छ, जसले सिकाइमा पूर्णता थपिरहेको हुन्छ ।
  • गल्तीले विद्यार्थीमा विश्लेषण गर्ने क्षमताको विकास गरिरहेको हुन्छ । शिक्षकले गरेको गल्तीमा उसले प्रश्न गर्छ । आफ्नो तर्क राख्छ ।विश्लेषण गर्छ , जुन सिकाइको उच्चतम विन्दु पनि हो ।
  • गल्तीले दीर्घकालीन स्मृति सिर्जना गर्छ । शिक्षकले गरेको गल्तीले विद्यार्थीमा असर पर्छ । ऊ मनन गरिरहेको हुन्छ । साथीहरूसँग विचार-विमर्श गर्छ । जब शिक्षकले आफ्नो गल्ती सच्याउँछ । एउटा अविस्मरणीय सिकाइले ठाउँ लिन्छ ।
  • शिक्षकले गरेको गल्तीमा कक्षाकोठामा अन्तरक्रियाको वातावरण निर्माण गर्दछ। गल्तीको पक्ष- विपक्षमा तर्क वितर्क हुन्छ । छलफल हुन्छ । कक्षाकोठा जीवन्त हुन्छ । सिकाई प्रभावकारी हुन्छ ।
  • शिक्षकले गल्ती गरेर सच्याउँदा विद्यार्थीले अरूको गल्ती स्वीकार गर्ने क्षमता तथा गल्ती जो बाट पनि हुनसक्छ भन्ने अहम शिक्षा प्राप्त गर्दछ। कहिलेकाहीँ जानी जानी पनि गल्ती गर्दै सिकाउने विधि अपनाउन सकिन्छ ।
  • शिक्षकले गल्ती गरेर विद्यार्थीमा आलोचनात्मक चेतको विकास गर्न मद्दत गर्न सक्छ । शिक्षकसँग पनि विद्यार्थीले आलोचनात्मक प्रश्न गर्न सक्ने वातावरण निर्माण गर्छ । शिक्षकले भनेको कुरामा आँखा चिम्लेर हो मात्रै भन्न बनाउने होइन विद्यार्थीलाई।