त्यतिबेलाको अमेरिकी समाज र संस्कृतिको यथार्थपरक विवरणको एउटा दस्तावेज

अमेरिकी आख्यानकार जोन स्टेनबेकद्वारा लिखित ‘अफ् माइस एण्ड मेन’ को नेपाली अनुवाद ‘ मुसा मानुष ‘ नेपाली अख्यानमा शास्त्रीय जडसुत्र एवं आत्मपरक, वर्णनात्मक संरचनालाई एउटा नयाँ आयाममा डोर्याउने निश्चित छ । विश्वविख्यात यो उपन्यासबाट एउटा ठुलो नेपाली जमात जसको अंग्रेजीमा पहुँच छैन, बन्चित थिए । ‘ मुसा मानुष’ ले पक्कै पनि एउटा राहतको काम गरेको हुनुपर्छ । यसको नेपाली अनुवाद गनेस पौडेलले गरेका हुन् र बुकहिलले प्रकाशित गरेका हुन् ।

अनुकृतिहरू प्रायजसो मूल सिर्जनालाई न्याय गर्न नसकेको गुनासाहरूकोबीच ‘ मुसा मानुष ‘ ले अनुवादलाई पनि एउटा नयाँ उचाइ दिने पक्का छ । मूल कृति नपढेकाहरूका लागि त झन् एउटा नयाँ आख्यान पढेकै अनुभूति दिन्छ । यो उपन्यासको गतिलो पक्ष भनेको पात्रहरूको वार्तालापकै माध्यमबाट चरित्र चित्रण एवं सम्पूर्ण विषयवस्तुलाई वस्तुगत तरिकाबाट पस्किनु हो , जुन कुरा अनुवादको पकडमा पनि देखिन्छ । छोटा – छोटा संवादहरू यसरी बुनिएका छन् कि प्रत्येक संवादले विषयवस्तुलाई प्रस्ट पार्दै बगेको छ । यो अनुकृतिको अर्को विशेषता भनेको नेपालको पश्चिमाञ्चल क्षेत्रको बोलीचालीको लवजको प्रयोग हो । अनुवादकले विषयवस्तुलाई विभिन्न छोटा- छोटा शिर्षकमा टुक्रयाएर पढ्न सहज र सार्थक बनाइदिएको छ ।

उपन्यासले १९३० को विश्व आर्थिकमन्दी विशेषत : अमेरिकामा शेयर मूल्यको गिरावटपछिको सामाजिक संरचना, नैराश्यता, सपना र सपनाको विघटनलाई सुक्ष्म तरिकाले चित्रण गरेको छ । त्यतिबेलाको अमेरिकी समाज र संस्कृतिको यथार्थपरक र वस्तुनिष्ठ विवरणको एउटा दस्तावेज पनि हो यो उपन्यास । विषयवस्तुले अमेरिकी समाजको विभिन्न वर्ग र कालाहरूमाथिको अन्याय र ज्यादतीलाई पनि पोट्रेट गरेको छ । हुनत आर्थिकमन्दीले सम्पूर्ण वर्गलाई थिलथिलो पारेको थियो ।

विषयवस्तु दुई मुख्य पात्र लेनी स्मल र जर्ज मिल्टनको अविचलित मित्रता, तिनको साझा सपना र संघर्षका कथा र सपनाको विखण्डीकरणको वरिपरि घुमेको भएपनि घटना – परिघटना, संवादमा संलग्न सम्पूर्ण पात्रहरूले विषयवस्तुलाई जिवन्त र चलायमान बनाएको छ । प्रत्येक पात्रले एउटा संस्कार, मनोवृति र संरचनाको वकालत गरेको छ । जर्ज र लेनीको निस्वार्थपूर्ण मित्रता अहिलेको पुँजीवादी स्वार्थी समाजलाई एउटा सिख पनि हो । मन्द बुद्धी भएका लेनीले विभिन्न समस्या निम्त्याएपनि जर्जले प्रकट गरेको निशर्त प्रेम र अभिभावकत्वले पाठकलाई हृदयविभोर बनाउनेमा कुनै शंका छन् । कृषि फारम र त्यहाँ भेट हुने पात्रहरूको संवाद र घटनाले उपन्यासलाई चलायमान बनाएको छ । एउटा हात लूलो भएको क्यान्डी होस् , बक्सिङ्गको धाक देखाउँदै हिड्ने साहूपुत्र कर्ली होस् , कर्लीकी स्वास्नी जो अमेरिकी समाजमा महिला स्वतन्त्रता र खुल्ला जीवन बाँच्न पाउने वकालत गरेकी छिन् , होस् । क्रुक्स , जो काला भएकै कारणले छुट्टै, कोहीसँग नभेट्ने गरि, नबोल्ने गरि राखिएको होस् या कालर्सनले बुढो रोगी कुकुरलाई मरेको घटना होस् । वा स्लीमको भद्र व्यक्तित्वको चित्रण होस् । प्रत्येक पात्र एउटा पूर्ण चारित्रिकरूपमा प्रस्तुत गरिएको छ ।
कर्लीको श्रीमतीको लेनीबाट भुलवश हत्या हुँदा र त्यसपछिको घटना, संवाद र अन्त्यमा लेनी- क्लारा, लेनी-खरायो, लेनी- जर्ज संवाद हृदयविभोरकरुपमा प्रस्तुतीकरण गरिएको छ । यहि अन्तिम अध्यायको संवादसहित जब जर्जले लेनीलाई गोली हान्छ यो वरिपरीको संवाद र भावचित्र जो कोहीलाई रुवाउँछ ।

संवादलाई विशेष हतियारको रुपमा प्रयोग गरिएकोले कहिँकतै अलमलिनु पर्दैन । संवाद बग्दै जाँदा विषयवस्तु प्रस्ट हुँदै जान्छ । उपन्यासको समाप्तिसँगै दिमाग र मन मष्तिस्कले सहजीकरणको लागि समय माग्छ, रन्थनिञ्छ र शान्त- अशान्त हुँदै हृदयको एउटा कुनामा स्थायी बसोवास गर्छ ।