श्रद्धाञ्जली, डा. वानीरा गिरि !

सेन्ट्रल खबर डेस्क

40

 

नेपाली कविता र उपन्यासको क्षेत्रका वानीरा गिरिका नामले प्रसिद्ध, विश्व नारीरत्न, डा. वानीरा गिरिको जन्म २००३ साल, वैशाख, अक्षयतृतीयाका दिन भारतको बङ्गाल प्रान्तको खर्साङ्मा भएको थियो । भारत र नेपालमा गरी स्नातकोत्तर तथा विद्यावारिधिसम्मको अध्ययन गर्नु भएकी डा. गिरि “मुटु” कविता लेखेर साहित्यमा प्रवेश गर्नुभएको हो । डा. गिरिले २०२० सालमा दियो पत्रिकामा “मेरो साथी भन्छ” शीर्षकको रचना छपाएपछि उहाँका रचना राष्ट्रिय स्तरमा आउन थालेका हुन् । स्कुले जीवनदेखि नै एक कुशल वक्ताको रुपमा विभिन्न पुरस्कार जितेकी गिरिले त्यसपछि अध्ययन, लेखन र प्राध्यापनलाई सँगै लिएर अगाडिबढ्नुभयो ।डा. गिरि आज नेपाली साहित्यको कविता, उपन्यास, निबन्ध र नियात्रा विधामा एक अविश्मरणीय नाम हो । कविताप्रति विशेष मोह राख्ने, र कवितालाई आफ्नो पहिलो प्रेम मान्ने डा. गिरिले आधुनिक नेपाली कविताका शिखरपुरुष गोपालप्रसाद रिमालका कविताको स्वच्छन्दतावादी स्वभावमाथि विद्यावारिधि गर्नुभएको हो । लामो समयसम्म त्रिभूवन विश्लविद्यालयअन्तरर्गत रहेको पद्मकन्या क्याम्पसमा प्रध्यापन गरेर सहप्राध्यापकको पदबाट सेवानिवृत्त हुनुभएकी डाक्टर गिरिका रचना नेपाली पाठकहरूबीच सधैँ लोकप्रिय रहँदै आएका छन् ।

डाक्टर गिरिकाएउटा एउटा जिउँदो जङ्गबहादुर,जीवन ः थाय्मरु, मेरो आविष्कार र काठमाडौँ काठमाडौँ गरी चार कविताग्रन्थ,कारागार, निर्वन्ध र शब्दातीत शान्तनुजस्ता तीन उपन्यास, पर्वतको अर्को नाउँ पार्वती र जङ्गल जङ्गलजस्ता दुई निबन्ध सङ्ग्रह तथा रोकिनेले आकार दिन सक्दैन शीर्षकको नियात्रा सङ्ग्रह गरी दस कृति तथा अनेक फुटकर रचनाहरू प्रकाशित छन् । डा. गिरिको कारागारको अङ्ग्रेजी अनुवाद द प्रिजन, तथा कविताका तीन ग्रन्थ फ्रम द अदर एण्ड, माई डिस्कभरी तथा फ्रम द लेक, लभअङ्गेजीमा प्रकाशित छन् ।

कविता महोत्सव पुरस्कार (सन् १९६४), रत्नश्री स्वर्ण पदक (सन् १९६६), गोरखा दइिणबाहु चौथा (१९८५) लोकप्रियादेवी पुरस्कार (२०४८), महेन्द्र विद्या भूषण “क” (२००१), पाउनका साथै, उपन्यास शब्दातीत शान्तनुका लागि २००१ मा साझा पुरस्कार पाएर सो पुरस्कार जित्ने पहिलो नारी लेखक हुने सौभाग्य पनि डा. गिरिलाई प्राप्त भएको छ । यी पुरस्कारभन्दा पनि उल्लेख्य छ, विश्व नारी साहित्य सम्मेलन २०१४ को आवसरमा त्रिमूर्ति निकेतनले उहाँलाई दिएको विश्व नारी रत्नको पदवी, तथा सोसँगै उहाँको सम्मानमा दिइएको विशेष रथारोहणको सम्मान । यी दुवै सम्मान पाउने पहिले नेपाली नारी लेखक पनि डा. गिरि नै हुनुहुन्छ ।

आज उहाँको महाप्रस्थानमा हामी सबै स्तब्ध छौँ । हार्दिक श्रद्धाञ्जली, नारीरत्न, डा. वानिरा ।

उहाँको स्मृतिमा उहाँकै एउटा कविता प्रस्तुत छ ।

म एउटा च्यातिएको पोस्टर

ए मान्छे !
च्यातिएका वाक्यका टुक्राहरूका
पटक–पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।
अगेनाको छेउबाट
मीनपचासको ढिकीमा
एउटा बूढो
नातिनातिनालाई लोककथा भन्छु १
पारोहाङ र लेम्पुहाङ ओर्लन्छ
बूढाका आँखाहरूमा मानौँ ऊ स्वयम्
एउटा शिव एउटा युगको
र सतीदेवीलाई उसले हराइसकेको छ
दक्षको यज्ञमा ।
ऊ कथा भन्छ—
लालहीराको
र आफैँ भगाउँछ लाललाई
शताब्दीअघिको सेतो घोडामा,
जसका टापहरूले समयका कानहरूलाई
अझ पनि हुकुम दिइरहेका हुन्छन्
उफ् ! कति विवश
ती मान्छे, हामी मान्छे
यो कथा भन्ने बूढो मान्छे ।
खोइ यसले काट्न सकेको
समयको तन्काइ र समयको हुकुमलाई?
खोइ यसले भाँच्न सकेको
समयका हेलचेक्र्याइँ र समयको धोकालाई
मोजेजले कसरी सममुद्रलाई काट्न सक्यो,
मोजेजले कसरी समुıलाई भाँच्न सक्यो ?
हो, यहाँ बहस गर्छ—
आस्था र अनास्थाको
विश्वास र अविश्वासको
मेरा सत्य र मेरा आस्थाहरू
लिलाम भइसकेका छन्
हरिश्चन्द्र घाटमा,
मेरो विश्वास पनि अब त
लुखुरलुखुर हिँड्छ
भतुवा कुकुरजस्तो
गल्लीका रछानमा ।
सराप लाग्छ मलाई
यो गर्भाशय र यी फूलहरूको
जो काम लाग्न नपाएर फालिएका छन्
फुटेको कसौँडीझैँ
जो काम लाग्न नपाएर सुकेका छन्
रसबिनाको दाखझैँ
शताब्दीपछि
म उभिइदिन्छु समयको ढिस्कोमाथि
एउटा लोककथा बनेर,
चोटका डोबहरूलाई छाम्दाछाम्दै
मेरो समय
झ्याङप्वाल परिसकेको हुन्छ ।
मरुभूमिको छातीमा
मेटिनकै निम्ति
हाम्रा पैतालाहरू छापिएका छन्
च्च…च्च…
हिमालको चिसो बतास यो त रक्सीको मताइ
बिहानीमा यसले एउटा पीर थपेर जान्छ
विश्वास सपना ढुक्कता र अधिकारको
गर्भपात गरिदिएर
हलुङ्गो बनिदिन्छ ।
हामी लासहरूमाथि निर्धक्क हिँडिरहेछौँ

पृथ्वी पनि लासहरूको एउटा चिहान हो
हामी चिहानमा घर बनाउँछौँ
हामी चिहानमा भोज खान्छौँ
हामी चिहानमा बाँचिदिन्छौँ
हामी हाँक दिन्छौँ
आफ्नै लासलाई चिहानभित्रबाट
जनक राजाको दरबारको शिवधनुसितै
अब स्वयंवर छिनिसकेका छन्,
हिजोआज लवकुशहरू
टुकुचाको धमिलो पानीमा बग्न थालेका छन्
मान्छेको आस्थालाई अड्ने एउटा ठाउँचाहिन्छ
बिसाउनलाई एउटा चौतारो चाहिन्छ
बाँच्नलाई पनि एउटा मोह चाहिन्छ — मृत्युको
एक सय वर्ष बढी जिन्दगी
उफ्!
कल्पना मात्र पनि पागल बनाउने एउटा बिरामी हुन्छ ।
जिन्दगी
यो व्याख्या होइन महाकाव्यको
भूमिका होइन आत्मकथाको
संस्करण होइन आफ्ना कृतिहरूको
म चुलाको प्वालबाट
एउटा जिन्दगी फुकिदिन्छु
र तपेसको चामल छड्काइदिन्छु
म ऐनाको सतहमा
एउटा जिन्दगीको सास फेरिदिन्छु।
र आफ्नै अनुहारलाई धमिलो देखिदिन्छु ।
म एउटा च्यातिएको पोस्टर
समयको भित्तामा
ए मान्छे !
च्यातिएका वाक्यका टुक्राहरूका पटकपटकमा
बेग्लाबेग्लै अर्थ नलगाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।

 

Facebook Comments Box